close

सस्तो इन्टरनेटको खोजीमा जन्मिएको भायनेट

गोपाल साउद गोपाल साउद

पुस २, २०७६ १३:४५

सस्तो इन्टरनेटको खोजीमा जन्मिएको भायनेट

गजेन्द्र बोहरा दूरसञ्चार कम्पनी लिमिटेडमा काम गर्थे । पछि उनले महाप्रबन्धकको रुपमा कम्पनीको नेतृत्व गर्ने मौका समेत पाए । माईक्रोलिङ्क तयार पार्ने, भिस्याट प्रविधि विस्तार गर्ने, लिजलाईनको सुरुवात गर्ने लगायतका टेलिकमका परियोजनामा उनले महत्वपुर्ण योगदान दिएका छन् ।

गजेन्द्रकै छोरा हुन् विनय । सानैदेखि दूरसञ्चार प्रविधिलाई नजिकबाट नियाल्ने अवसर पाएका उनले एउटा टेलिफोन लाइन जोड्नका लागि पनि वर्षौँसम्म पर्खिनुपर्ने बाध्यता देखेका थिए ।

दूरसञ्चार पूर्वाधार किन पर्याप्त रुपमा विस्तार हुन सकिरहेको छैन ? किन आजको भोली प्रयोगकर्ताले टेलिफोन जोड्न पाइरहेका छैनन् ? भन्ने जस्ता प्रश्नहरु विनयको मनमा खेलिरहन्थे । साथसाथै उनले यही विषय पढिरहेका पनि थिए । 

तिनै विनयले स्थापना गरेको भायनेट कम्प्युनिकेशन अहिले देशकै दोश्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ । देशभर करीब ७५ हजार घरमा अहिले भायनेटकै इन्टरनेट चलिरहेको छ । कम्पनी स्थापना गर्दा विनयले अहिले दिन सकेको जस्तो देशभर इन्टरनेट विस्तार गर्नसक्ने कुराको कल्पना पनि गरेका थिएनन् ।

‘मैले आइएसपी सुरु गरेको १९९९ मा हो । त्यसबेला एउटा कोठाबाट सेवा सुरु गरेका थियौं’ उनी सम्झिन्छन्, ‘डायलअप प्रविधिको त्यो जमानामा इन्टरनेटमा धेरैको पहुँच थिएन । इन्टरनेट त परको कुरा, कम्प्युटर समेत चलाउन सिकाउनुपर्ने अवस्था थियो ।’

तर, इमेलले गर्दा मानिसहरुलाई इन्टरनेटप्रति आकर्षित गर्दै लगिरहेको थियो । ग्राफिक्स, भिडियोजस्ता उच्च ब्याण्डविथ खपत गर्ने परिपाटीको विकास समेत त्यतिसाह्रो भइसकेको थिएन । त्यसैले त त्यतिखेरको इन्टरनेटलाई ब्रोडब्याण्ड नभनेर न्यारो ब्याण्डकै रुपमा चिनिन्थ्यो ।

डायलअप इन्टरनेट बजारमा अन्य इन्टरनेट सेवा प्रदायकको आधिपत्य जस्तै थियो । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी सुरु गर्ने तरखरमा रहेका विनय त्यसताका भर्खर २४ वर्षका थिए । बजारमा आउन उनी केही नयाँ रणनीति खोजिरहेका थिए । त्यसका लागि वायरलेस इन्टरनेट उपयुक्त विकल्प हुन सक्ने अन्दाज उनले लगाइरहेका थिए ।

अमेरिकाको ग्रामीण क्षेत्रमा त्यस किसिमको इन्टरनेट लोकप्रिय भइरहेको थियो । त्यही अवधारणाको प्रयोगमार्फत नेपालको सहरी क्षेत्रमा तुलनात्मक रुपमा सस्तोमा इन्टरनेट दिन सकिने योजना उनले बुने । 

यसरी विनयले आईएसएम ब्याण्डमा रहेको २.४ तथा ५.८ गिगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरी नेपालमा इन्टरनेट सेवा दिन सुरु गरे । अहिले यो निःशूल्क ब्याण्डको रुपमा भएपनि तत्कालीन समयमा आईएसएम ब्याण्डको फ्रिक्वेन्सीका लागि लाइसेन्स लिनुपर्थ्यो । त्यसैले लाइसेन्ससहित शूल्क तिरेर नेपालमा पहिलो पटक वायरलेस इन्टरनेट सेवा सुरु गर्ने काम बोहराले नै गरे । 

त्यसताका इन्टरनेटको अन्तर्राष्ट्रिय सञ्जालसँग नेपाल अप्टिकल फाइबरमार्फत जोडिइसकेको थिएन । स्याटेलाइट तथा भिस्याट प्रविधिमार्फत नेपालले इन्टरनेटमा पहुँच बनाइरहेको थियो । जसले गर्दा इन्टरनेट निकै महंगो थियो । एक एमबीपीएसकै दुई हजार अमेरिकी डलर रुपैयाँसम्म पर्ने गर्थ्यो । तर, पछिल्लो समय क्रमशः इन्टरनेटको मूल्य घट्दै गयो । 

सुरुमा भायनेटले एनजीओ, आईएनजीओ, कार्यालयहरु, बैंकहरुमा वायरलेस इन्टरनेट सेवा दिन सुरु गर्‍यो । घरायसी रुपमा भने डायलअप इन्टरनेटकै बोलवाला थियो । विनयले डायलअपको विकल्पमा डेडिकेटेड इन्टरनेट पुर्‍याउन थाले । हुन त नेपाल टेलिकमको लिज लाइन डेडिकेटेड इन्टरनेट बजारमा छँदै थियो । ३२ केबी, ६४ केबी, १२० केबी  पनि त्यसताका निकै तीव्र गतिको इन्टरनेट मानिन्थ्यो । तर, डायलअप प्रविधिमा त्यसको मूल्य लाखौँ रुपैयाँ पर्ने गर्थ्यो । 

यसको विकल्पमा तुलनात्मक रुपमा सस्तोमा इन्टरनेट दिन भायनेटले डाँडा डाँडामा टावर राखेर सहरतर्फ सिग्नल पठाउँथ्यो । घरमा भएको एन्टेनाबाट इन्टरनेटमा पहुँच बनाइन्थ्यो । त्यतिखेर सांग्रिला टेलिभिजन खुब प्रचलनमा थियो ।

स्थानीय रुपमा ‘झाङ्ग्रिला’ को नामले चिनिने त्यो एन्टेना काम नलाग्ने गरी विस्थापित हुँदै गयो । भायनेटले कबाडबाट ‘झाङ्ग्रिला’ टेलिभिजनका एन्टेना उठाएर कार्यालयहरुमा वायरलेस इन्टरनेट पुर्‍याउ थाल्यो । यसरी नै जुगाडको रुपमा सस्तोमा इन्टरनेट पुर्‍याउने जुक्ती खोजिरहन्थे विनय । 

इन्डोरको मोडेमलाई आउटडोर बक्सको रुपमा प्रयोग गर्थे । यसरी उनले लिजलाइन इन्टरनेटको बजारलाई चुनौति खडा गर्दै गए । हुँदा हुँदै भायनेट प्रसिद्ध इन्टरनेट सेवा प्रदायकको रुपमा स्थापित हुँदै गयो । 

सुरुताका लाइसेन्स लिनुपर्ने र शूल्क तिर्नुपर्ने आईएसएम ब्याण्डको फ्रिक्वेन्सी निःशूल्क भयो । लाइसेन्स पनि जरुरी नहुने बन्यो । गाउँ गाउँमा इन्टरनेट पुर्‍याउन यो ब्याण्डको फ्रिक्वेन्सी निःशूल्क गर्नुपर्ने भन्दै विकास अभियान्ता महाबीर पुन लगायतले निकै मेहेनत गरे । अन्ततः राज्य आईएसएम ब्याण्ड निःशूल्क बनाउन तयार भएको थियो । 

अन्ततः पुनले थालेको अभियान सार्थक बन्दै गयो । परिणाम त्यस्तै निस्कियो, इन्टरनेट सस्तिदैं गयो । सेवाको विस्तारले समेत गति लियो । कुनै समय इमेलका लागि मात्रै प्रयोग हुने इन्टरनेट अहिले हरेक जसो सेवाका लागि आधारभूत पूर्वाधारको रुपमा स्थापित भइसकेको छ । टेलिभिजन, भिडियो, टेलिफोन, भुक्तानी, किनमेल, अध्ययन, लगायतका अनेकौं सेवा तथा आर्थिक गतिविधि अहिले इन्टरनेटमै समाहित बनिसकेका छन् । 

हरेक चिजको मूल्य बढ्दै गइरहँदा इन्टरनेटको मूल्य भने घट्दो क्रममा छ । सेवाप्रदायकबीचको तीव्र प्रतिस्पर्धाले इन्टरनेटका प्रयोगकर्ता बढाउन र मूल्य घटाउन प्रमुख भुमिका खेलेको छ । तै पनि अझै सस्तोमा इन्टरनेट दिन सकिने प्रयासबाट विनय बोहरा थाकिसकेका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३