काठमाडौं । समयसँगै मानिसकाे आवश्यकता पनि परिवर्तन हुँदै जान्छ । प्रविधिले जिन्दगी जति सहज बनाइरहेकाे छ, मानिसहरू अझ त्यसमा सहजता खाेजिरहेका छन् ।
मोबाइल प्रयोगको लागि बनेको इयरफोनले जति हाम्रो जीवनलाई सहज बनाएको थियो, वायरलेस इयरफोनले झनै धेरै सहज बनाएको छ । बजारमा विभिन्न प्रकारका वायरलेस इयरफोनहरू पाइन्छ ।
तर यस्तो इयरफोन जुन महिलाको लागि नै भनेर बनेको होस्, पाउन अलि कठिन नै छ । यही कुरालाई मध्यनजर गर्दै चिनियाँ कम्पनी टडरमले महिलाको लागि म्याग्नेटिक नेकव्यान्ड वायरलेस इयरफोन नेपाली बजारमा पनि ल्याएको छ ।
टडरमको मिस बिन (बीएन १८) विशेष गरेर महिलाहरूका लागि भनेर निर्माण गरिएको हो, जसको इयर टिप्स साँच्चै बिन अर्थात एउटा गेडा जत्रो आकारको छ ।
यसले गर्दा धेरै समयसम्म प्रयोग गर्दा पनि इयरफोनले कान दुखाउने जस्ता समस्या दिँदैन । इयर टिप्स सानो भएकै कारण तपाईं आराम गर्दै सोफा अथवा खाटमा ढल्केर सुन्न पनि सक्नुहुन्छ र तपाईंलाई इयरफोन कानमा भएको महसुस पनि हुँदैन ।
महिलालाई विशेष ध्यानमा राखेर बनाएको यो इयरफोन रातो र गुलाबी गरी दुई रङमा उपलब्ध छ ।
इयरफोनको दाहिने पट्टि तीन वटा बटन छ, जसमा तपाईंले आवाज ठूलो सानो बनाउन र फोन उठाउन अनि काट्न सक्नुहुन्छ ।
१६० एमएएच ब्याट्री भएको यो इयरफोन एकपटक फुल चार्ज गर्नुभयो भने मज्जाले सुन्दा पनि १२ घण्टासम्म पुग्छ । यसको अर्को विशेषता भनेको लामो समयसम्म इयरफोन कुनै डिभाइसमा कनेक्ट छैन भने यो आफैं बन्द हुन्छ र तपाईंले सो डिभाइसको ब्लुटुथ अन गरेपछि आफै कनेक्ट हुन्छ ।
ब्लुटुथ ५.० को प्रविधि प्रयोग भएको यो इयरफोनले आईओएस, एन्ड्रोइड र विण्डाेज सपोर्ट गर्छ भने यसमा वाटर रेसिस्टेन्स पनि छ ।
आवाजको कुरा गर्दा यदि तपाईं सुमधुर गीतहरू सुन्न रुचाउनुहुन्छ भने यो इयरफोन तपाईंका लागि एकदम उपयोगी हुनसक्छ । तर यदि तपाईं ब्यास अलि धेरै भएको रक गीतहरू सुन्न रुचाउनुहुन्छ भने यो इयरफोनले तपाईंको अपेक्षालाई अलि पुरा नगर्न पनि सक्छ ।
फोन कलमा भने दुवैतिर ‘नोइज’ रहित आवाज सुन्न सकिन्छ । यसले तपाईंको कल रेकर्डिङहरूमा पनि सपोर्ट गर्छ ।
कनेक्सनको विषयमा भने कम्पनीले १० मिटरसम्म डिभाइस र इयरफाेनकाे कनेक्सन हुने दाबी गरेकाे छ ।
बजारमा यसको मूल्य २,४९९ रुपैयाँ तोकिएको छ भने नेपाली अनलाइन बजारमा तपाईंले यो इयरफोन दराज, सस्तोडिल, ओकेदाम, ग्यापु, किन्ने हो, मुकुण्डो. स्मार्ट डोको, सरसमार्ट, इन्फी स्टोर र दरबार मार्टबाट खरिद गर्न सक्नुहुन्छ ।