काठमाडौं । केही मोबाइलबाट इमर्जेन्सी फोन नम्बरमा सम्पर्क नहुने समस्या देखिएको छ । विगत केही महिनादेखि १००, १०२ र १०३ जस्ता आपतकालीन नम्बरमा कल नजाने समस्या आउन थालेको हो ।
यी इमर्जेन्सी नम्बर १०० प्रहरी कन्ट्रोल, १०१ दमकल, १०२ एम्बुलेन्स र १०३ ट्राफिक प्रहरी कन्ट्रोलका हुन् । यस्ता इमर्जेन्सी नम्बरमा कुनै मोबाइलबाट लाग्ने, कुनैबाट लाग्दै नलाग्ने र कुनै कुनैबाट +९७७-१०० डायल गरेपछि मात्रै सम्पर्क हुने अवस्था छ ।
प्रहरी कन्ट्रोलको नम्बरमा कल गर्दा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जाने गर्छ । ७७ ओटै जिल्लामा यसका लागि प्रहरी कन्ट्रोल रुम स्थापना गरिएका छन् ।
यस्ता कन्ट्रोल रुमहरूमा सबैभन्दा व्यस्त हुने कन्ट्रोल रुम हो, महानगरीय प्रहरी कार्यालय रानी पोखरी । प्रहरी निरीक्षक राजु केसी रानीपोखरी स्थित कन्ट्रोल रुममा इन्चार्जको रुपमा कार्यरत छन् ।
कन्ट्रोल रुममा केही मोबाइलबाट सम्पर्क नहुने गरेको गुनासो आइरहेको उनले बताए । ‘गुनासो आउन थालेपछि हामी आफैँले केही स्टाफको मोबाइलबाट डायल गर्दा पनि त्यस्तै समस्या देखियो,’ उनले भने ।
‘यस्तोमा कल गर्दा इंगेज भए जस्तो आवाज आइरहेको हुन्छ । तर त्यसलाई धेरैले कन्ट्रोल रुम व्यस्त रहेको ठानिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘वास्तवमा हाम्रो कन्ट्रोल रुमको नम्बर व्यस्त भएर फोन नलाग्ने अवस्था बिरलै हुन्छ । नेपाल बन्द, ठूला प्राकृतिक विपद वा दशैँ तिहार जस्तो समयमा मात्रै हाम्रो कन्ट्रोल रुम बढी व्यस्त हुने गर्छ ।’
सर्वसाधारणले प्रहरीमा सम्पर्क गर्दा डायल गर्ने नम्बर एउटै (१००) हुने भए पनि रानी पोखरीमा भने टेलिकमका १२ ओटा, एनसेलका पाँच ओटा र स्मार्ट टेलिकमको एउटा लाइन छ । यस्तोमा एउटा लाइन व्यस्त हुँदा स्वतः अर्को लाइनमा कल जान्छ ।
त्यसैले व्यस्त रहेर कल नलाग्ने सम्भावना एकदमै कम हुने प्रहरी निरीक्षक केसीले बताए । ‘सबै लाइन व्यस्त रहेको अवस्थामा मात्रै फोन नलाग्न सक्छ,’ उनले भने, ‘तर यस्तो अवस्था सँधै हुँदैन ।’
सर्वसाधारणले आकस्मिक वा आपत परेको अवस्थामा नै इमर्जेन्सी नम्बरमा सम्पर्कको प्रयास गर्छन् । त्यस्तो आकस्मिकता आगलागी, विपद, दुर्घटना, चोरी-डकैती, लुटपाट अपहरण, हत्या, हिंसा, अपराधीले घेरेर राखेको वा अपराधीबाट बच्न लुक्नुपरेको मध्ये जुनसुकै अवस्था हुन सक्छ ।
यस्तोमा हरेक कुनै सर्वसाधारणले सुरुमा डायल गर्ने भनेकै प्रहरीको १०० हो । त्यसैले प्रहरीको कन्ट्रोल रुम १०० मा कुनै पनि कोड नराखेर सहजै सम्पर्क गर्न सकिने हुनुपर्ने महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशिलसिंह राठोर बताउँछन् ।
त्यसो त कसैलाई कन्ट्रोल रुमको नम्बरबाट आफ्नो मोबाइल नम्बर कुनै कारण ब्लक भएका कारण कल नगएको हो कि भन्ने पनि लाग्न सक्छ । तर कन्ट्रोल रुममा कुनै पनि नम्बर ब्लक गर्न सकिने सिस्टम नै नरहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता राठोरले बताए ।
‘कन्ट्रोल रुमको नम्बरमा जस्तोसुकै नम्बरबाट कल गर्दा पनि लाग्ने हुनुपर्छ,’ उनले भने, ‘त्यसैले कुनै पनि नम्बर ब्लक गर्ने किसिमको सिस्टम हामीले राखेका हुँदैनौँ ।’ कन्ट्रोल रुम मात्र होइन, दमकलको १०१, ट्राफिक प्रहरी कन्ट्रोल रुमको १०३ मा समेत यस्तै सिस्टम रहेको हुन्छ ।
आपतकालीन नम्बरहरूमै फोन नलाग्ने समस्याका पछाडि दूरसञ्चार सेवाप्रदायक वा स्मार्टफोन सेट कुन पक्षको कमजोरी हो भन्ने विषय प्रस्ट भइसकेको छैन । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले यस किसिमको समस्याको बारेमा अहिलेसम्म कतैबाट पनि गुनासो प्राप्त नभएको बताए ।
टेकपानाले जानकारी मागेपछि टेलिकमले यस विषयमा आन्तरिक रुपमा छानविन समेत गरेको छ । ‘जानकारीमा आएपछि हामीले के कारणले यस किसिमको समस्या आएको हो भन्ने कुरा चेकजाँच गरेर समेत हेरेका छौँ,’ उनले भने, ‘इमर्जेन्सी नम्बरमा कल नजानुको पछाडि हाम्रो सिस्टममा त्यस्तो कुनै समस्या देखिको छैन ।’
प्रहरी कन्ट्रोल लगायतका इमर्जेन्सी नम्बरमा कल नलाग्दा उक्त सिम अर्को मोबाइलमा राखेको खन्डमा भने फोन लाग्ने गरेको छ । साओमी, सामसङ, ओप्पो, भिभो लगायतका लोकप्रिय ब्रान्डकै सेटहरूमा यस्तो समस्या रहेको बताइएको छ ।
यस आधारमा नयाँ मोबाइल सेटको खराबीले कल नगएको हुनसक्ने प्रवक्ता जोशीले बताए । ‘यो टेलिकम सिस्टमको नभएर मोबाइल सेटकै समस्या हो,’ उनले भने, ‘खराबी जतातिरको भए पनि हामी ग्राहकलाई असुविधा नहुनेगरी यसको समाधान खोज्दैछौँ ।’
उता नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यो विषय आफूहरूको जानकारीमा आइसकेको बताए । ‘हामी यस विषयमा अध्ययन गर्दैछौँ,’ उनले भने, ‘के कारणले यस्तो समस्या आइरहेको छ, त्यसलाई पहिचान गरी आवश्यक निर्णय लिन्छौँ ।’
प्राविधिक समस्याका कारण १०० मा सम्पर्क हुन नसकेको खन्डमा एसएमएस गर्न प्रवक्ता राठोरको सुझाव छ । ‘कल, एसएमएस बाहेक नेपाल पुलिस एपबाट पनि प्रहरी कन्ट्रोलमा आफ्नो समस्या राख्न सकिने व्यवस्था मिलाइएको छ,’ उनले भने ।