close

पोखरामा इन्टरनेट सेवाप्रदायकको डेटा सेन्टरमै विद्युत लाइन काटियो, जेनेरेटरबाट सेवा दिन बाध्य

टेकपाना टेकपाना

पुस २१, २०७९ १६:३

पोखरामा इन्टरनेट सेवाप्रदायकको डेटा सेन्टरमै विद्युत लाइन काटियो, जेनेरेटरबाट सेवा दिन बाध्य

पोखरा । नेपाल विद्युत प्राधिकरणले कास्कीका विभिन्न इन्टरनेट सेवाप्रदायकको डेटा सेन्टर र अपरेसन प्वाइन्टमा विद्युत लाइन काटिदिएको छ ।

पोलभाडा नतिरेको भन्दै प्राधिकरणले पोखरा इन्टरनेट, भायानेट लगायतका सेवा प्रदायकको मुख्य कार्यालयसहित इन्टरनेट प्रवाहका लागि अतिआवश्यक ठाउँमा विद्युत काटेको हो । विद्युत लाइन नहुँदा कम्पनीहरूले जेनेरेटरमार्फत इन्टरनेट सेवा दिन थालेका छन् ।

''प्राधिकरणले गैह्रपाटनस्थित हाम्राे कम्पनीकाे मुख्य कार्यालय परिसरमा विद्युत लाइन काटेको छ,'' पाेखरा इन्टरनेटका म्यानेजर बिजेश पालिखेले भने, ''यसपछि हामीले हिजो (बुधबार) रातिदेखि नै जेनेरेटर चलाएर भएपनि इन्टरनेट दिइरहेका छौं । अहिलेलाई काम नरोकिएपनि कुनै पनि सेकेन्डमा इन्टरनेट डाउन हुनसक्छ ।''

विद्युतको महसुल तिरेपनि पोल भाडाको निहुँमा सेवाप्रदायकहरूको विद्युत लाइन काटिएको उनको भनाइ छ ।

कास्की र यस आसपासका क्षेत्रमा वर्ल्डलिङ्क, भायानेट, क्लासिकटेक, स्काई नेटलगायतका मुख्य इन्टरनेट सेवा प्रदायक रहेका छन् । 

इन्टरनेट सेवा प्रदायकले सरकारकाे समन्व्यमा गठन भएकाे उच्चस्तरीय समितिले दिएकाे प्रतिवेदन अनुसार पाेलभाडा तिर्ने अडान लिइरहेका छन् । अर्काेतर्फ विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरेका सेवाप्रदायकलाई एकतर्फी रुपमा भाडा शुल्क निर्धारण गरेको छ, जसमा साबिकभन्दा छ सयदेखि सात सय प्रतिशत बढी शुल्क तोकिएको छ ।

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ १६:१३