close

वेयरेबल डिभाइसमा एकै किसिमको चार्जर अनिवार्य गर्न कति सम्भव ?

टेकपाना टेकपाना

पुस २२, २०७९ १५:४०

वेयरेबल डिभाइसमा एकै किसिमको चार्जर अनिवार्य गर्न कति सम्भव ?

काठमाडौं । सन् २०२४ को अन्त्यबाट युरोपेली संघ (ईयू) अन्तर्गतका देशमा बिक्री हुने सम्पूर्ण फोन तथा डिभाइसमा यूएसबी-सी अर्थात् टाइपसी-पोर्ट अनिवार्य गर्ने नीति ल्याइएकाे छ । सबै डिभाइसमा एउटै चार्जर सपोर्ट हुँदा त्यसका अनेकन् फाइदा हुन्छन् । विशेषगरी कहीँ यात्रा गर्दा एउटै चार्जर साथमा लिएर जाँदा पुग्छ ।

अहिले बजारमा भएका अधिकांश एन्ड्रोइड डिभाइसले टाइप-सी पोर्ट सपोर्ट गर्छन् । त्यसैले एन्ड्रोइडबाट सञ्चालित स्मार्टफोन निर्माता कम्पनीलाई त्यति गाह्रो छैन । तर, लाइटिनिङ पोर्ट प्रयोग गर्दै आएको एप्पलाई भने युरोपेली संघको नीतिले धेरै प्रभाव पारेको छ ।

युरोपेली संघको उक्त नीतिले विद्युतीय फोहोर कम गर्ने विश्वास लिइएको छ । उक्त नीति लागू भएपछि युरोपेली संघभित्रका उपभोक्ताले एक वर्षमा २५० मिलियन यूरो बचाउने अपेक्षा गरिएको छ ।​ विशेषगरी हरेक डिभाइसका लागि नयाँ चार्जर खरिद गर्नु नपर्ने भएपछि उपभोक्ताले रकम बचाउन सक्ने बताइएको छ । त्यस्तै वार्षिक ११ हजार टन विद्युतीय फोहोर कम हुने विभिन्न अध्ययनले देखाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतले पनि टाइप-सी पोर्ट अनिवार्य गर्ने नीति अगाडि बढाएको छ, जसलाई सन् २०२४ देखि कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।

यसरी विभिन्न देशका नीतिले स्मार्टफोन र ट्याब्लेट निर्माता कम्पनी टाइप-सी पोर्ट राख्न बाध्य छन् । तर, वेयरेबल अर्थात् शरीरमा लगाउन मिल्ने डिभाइसहरू जस्तै; स्मार्टवाच, एयरबड्स, फिटनेस ट्रयाकरमा कम्पनी अनुसार फरक-फरक चार्जर प्रयोग भइरहेको छ ।

एप्पलले आफ्नो वेयरेबल डिभाइसमा एक किसिमको चार्जर प्रयोग गर्छ भने सामसङले अर्कै । त्यस्तै अन्य कम्पनीले वेयरेबल डिभाइसमा टु, थ्री वा फोर पिन चार्जर प्रयोग गर्ने गर्छन् । साओमी, ह्वावेका ब्यान्डमा छुट्टै डिजाइन प्रयोग भएकाे देख्न सकिन्छ ।

वेयरेबल डिभाइसमा एउटा निश्चित प्रणालीको चार्जर प्रयोग भइरहेको छैन । यस्तै डिजाइन, वाटर रेसिस्टेन्स, वेयरेबलको आकार कस्तो हुने भन्ने कुरामा पनि एकरूपता ल्याइएको छैन । यस्ता वेयरेबल डिभाइसमा एकरूपता ल्याउन ब्यूरो अफ इन्डियन स्टान्डर्ड (बीआईएस)ले केही वर्षभित्र एउटै चार्जर प्रयोग गर्नुपर्ने नीति ल्याउने संकेत गरेको छ ।

वेयरेबल चार्जिङलाई एउटै लाइनमा ल्याउनु फोन जस्तो सरल भने हुनेछैन । तर, एकपटक उक्त नीति प्रयोगमा आएमा यसले भविष्यमा थुप्रै अवसर ल्याउने अनुमान गरिएको छ ।

 

 

पछिल्लो अध्यावधिक: पुस २२, २०७९ १५:४०