close

दूरसञ्चार पूर्वाधारमा हानी, नोक्सानी पुर्‍याउने कार्य दण्डनीय: प्राधिकरण

टेकपाना टेकपाना

माघ १९, २०७९ ८:१०

दूरसञ्चार पूर्वाधारमा हानी, नोक्सानी पुर्‍याउने कार्य दण्डनीय: प्राधिकरण

काठमाडौँ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय देशका विभिन्न ठाउँमा दूरसञ्चार पूर्वाधारहरूमा हानी नोक्सानी पुर्‍याएकाे घटना दण्डनीय भएकाे जनाएकाे छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले विभिन्न निकायहरूबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार सेवामा बाधा पर्ने किसिमका कार्यहरू तथा यसका पूर्वधारमा हानी नोक्सानी पुर्‍याउने कार्य भइरहेको भन्दै यस्ता कार्य दूरसञ्चार ऐन विपरीत रहेको स्पष्ट पारेको छ ।

''नेपालको संविधान, २०७२ को अनुसूची ५ मा दूरसञ्चार सेवा संघको अधिकार क्षेत्रमा पर्ने उल्लेख भएको छ र हालसालै विभिन्न निकायहरूबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार  सेवामा  बाधा  पर्ने  किसिमका  कार्यहरू  गर्ने  तथा  यसका  पूर्वाधारमा  हानी/नोक्सानी  पुर्‍याउने  गरी  भए  गरेको  कार्यप्रति  प्राधिकरणको गम्भीर ध्यानाकर्षण हुन गएको छ,'' सूचनामा भनिएको छ ।

यस्ता कार्य दूरसञ्चार ऐन,  २०५३  को  दफा  ४७  बमोजिम  दण्डनीय  भएको प्राधिकरणको भनाइ छ । ''तसर्थ,  यस  किसिमका  गैह्रकानुनी  कार्य  नगर्न/नगराउन  सम्बन्धित  सबै  पक्षसँग  प्राधिकरण  अनुरोध  गर्दछ,'' सूचनामा भनिएको छ ।

साथै दूरसञ्चार पूर्वाधारमा हानी, नोक्सानी कार्य भएको पाइएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणालाई जानकारी गराउन अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०७९ ८:११