close

आफ्नै केटी साथीको नाममा फेक आईडी खोली रकम ठगी गर्ने युवती पक्राउ

टेकपाना टेकपाना

माघ २४, २०७९ १८:३१

आफ्नै केटी साथीको नाममा फेक आईडी खोली रकम ठगी गर्ने युवती पक्राउ

काठमाडौं । आफ्नै केटी साथीको नाममा नक्कली फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल अकाउन्ट बनाई रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।

सुनसरी रामधुनी गाउँपालिका घर भई हाल काठमाडौँ नयाँ बस्ती बस्ने २० वर्षीया 'युनिशा' भनिने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरिएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आरोपी श्रेष्ठले अष्ट्रेलियामा रहेको आफ्नै केटी साथीको नाममा फेक अकाउन्ट खोली केटा साथीहरूलाई विभिन्न बहाना बनाउँदै आर्थिक ठगी गर्दै आएकी थिइन् । 

त्यस्तै उनले ती अकाउन्टहरूबाट साथीको फोटो तथा स्टाटसहरू पनि अपलोड गर्ने गर्थिन् ।

''केटा साथीहरुलाई मेसेन्जरमार्फत विभिन्न बर बहाना बनाई समस्या देखाई निजहरुलाई केही समयका लागी आफ्नो बैक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा समेत संलग्न रहेको भन्ने व्यहोराको जाहेरी दरखास्त यस कार्यालयमा पर्न आएको हुँदा उक्त जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान कार्य गर्दै उनी पक्राउ परेकी हुन्,'' कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

विद्युीय कारोबार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारबाहीको लागी आरोपी श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०७९ १८:४३