close

प्रेस काउन्सिलको निर्देशनलाई बेवास्ता गर्दै मदिराको प्रचारमा मिडिया

टेकपाना टेकपाना

माघ २७, २०७९ २१:५२

प्रेस काउन्सिलको निर्देशनलाई बेवास्ता गर्दै मदिराको प्रचारमा मिडिया

काठमाडौं । प्रेस काउन्सिल नेपालले दिएको पटक-पटकको निर्देशनलाई बेवास्ता गर्दै सञ्चारमाध्यमले मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थकाे प्रचार गरिरहेको पाइएको छ । पछिल्लो पटक बिहीबार एक सूचना जारी गर्दै प्रेस काउन्सिलले मदिरा, चुरोट तथा सुर्तीजन्य लगायत स्वस्थमा प्रतिकूल प्रभाव पार्ने सामग्रीको प्रचार नगर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरेको थियो ।

अर्कोतर्फ विज्ञापन बोर्डले पनि जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने सामग्रीको प्रचार नगर्न बारम्बार सचेत गराइरहेको छ । तर, मूलधारका अधिकांश मिडियाले नै यस्ता निषेधित पदार्थको आक्रामक विज्ञापन गरिरहेका छन् ।

सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा यस्ता पदार्थको विज्ञापन सामग्री प्रचारप्रसार भइरहेको सम्बन्धमा काउन्सिलले ध्यानाकर्षण गराएको थियो । कान्तिपुर, सेतोपाटी, अनलाइन खबर, रातोपाटी लगायतका मिडियामा यस्तो विज्ञापन राख्ने होडबाजी नै चलेको छ ।

प्रेस काउन्सिलले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा ९१० मा रहेको ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था अन्तर्गत त्यस्ता सामग्री नराख्न आह्वान गरेको छ । तर, यी मिडियाले भने काउन्सिलको निर्देशन नटेरी मुख्य पृष्ठमै मदिराको विज्ञापन राखेका छन् । कतिपय अनलाइन पाेर्टल मदिराकै विज्ञापनले भरिएका छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले मदिराकाे विज्ञापन राख्ने मिडियाहरू र नियामकको चर्को आलोचना गरिरहेका छन् ।

यसबारे टेकपानासँग कुरा गर्दै प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बोहराले भने, ''हामीले यसअघि पनि त्यस्ता विज्ञापन सामग्री हटाउन अनुरोध गरेका थियौँ । अहिले पनि जनमानसको गुनासो बढ्दै गएपछि विज्ञप्ति जारी गर्दै त्यस्ता विज्ञापन आचारसंहिता विपरीत भएकाले नराख्न भनेका छौं ।''

काउन्सिलको उक्त निर्देशनलाई स्थान दिएर समाचार प्रकाशित गर्ने मिडियाकै वेबसाइट र पत्रिकामा मदिराजन्य सामग्रीको विज्ञापन बढी हुनु लाजमर्दो विषय भएको उनको भनाइ थियाे । यसबारे प्रेस काउन्सिललाई कारबाही गर्ने अधिकार नभएको उनले उल्लेख गरे ।

''हामीले सञ्चारमाध्यमलाई नियमन गर्छौं । तर, विज्ञापनका सन्दर्भमा कारबाही गर्ने जिम्मेवारी हाम्राे हाेइन,'' उनले भने, ''उक्त विज्ञापन जनस्वास्थ्य ऐन विपरीत भएकाले कारबाही गर्ने अधिकार स्वास्थ्य मन्त्रालय र विज्ञापन बोर्डलाई छ ।'' 

विज्ञापन बाेर्ड भने यसकाे नियमन स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने भन्दै पन्छिन खाेजेकाे छ ।

बोर्डका प्रवक्ता निशानराज गौतमले भने, ''विषय उठिसकेपछि विज्ञापन बोर्ड पनि यसबारे कामकारबाही अगाडि बढाउँछ । तर, यो विषय जनस्वास्थ्यसँग बढी जोडिएकाले स्वास्थ्य मन्त्रालयले नै हेर्छ ।''

तर मदिराजन्य पदार्थको विज्ञापन प्रकाशित, प्रसारित हुने क्रम बढेपनि स्वास्थ्य मन्त्रालयले भने हालसम्म कुनै कदम चालेको छैन ।

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ २१:५२