काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ आइतबार सम्पन्न भएको छ ।
राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।
६ दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधिप्रेमीले अवलोकन गरेका थिए ।
यस संस्करणको क्यान इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । यो पटकको प्रदर्शनीमा १५० बन्दा बढी स्टल रहेका थिए ।
मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे ।
त्यस्तै क्यान इन्फोटेकमा कोडिङ कम्पिटिसन, क्विज कन्टेस्ट, गेमिङ कम्पिटिसन, रोबो सकर कम्पिटिसन लगायत पनि सञ्चालन भएको थियो ।
यसैबीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२३ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । यसका लागि तयारी तीव्र भइरहेको उनको भनाइ थियो ।