काठमाडौं । सबै प्रकारका सरकारी सेवा एउटै एपबाट दिने उद्देश्यका साथ ल्याइएको नागरिक एपमा मोबाइल नम्बरकै आधारमा व्यक्तिको पहिचान स्थापित गरिन्छ । तर निश्चित समयसम्म निष्क्रिय रहेका मोबाइल नम्बर रिसाइकल (पुनः अर्को व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया) गर्ने प्रचलन छ ।
यसको मतलब तपाईँको मोबाइल नम्बर एक वर्षसम्म निष्क्रिय रहेको अवस्थामा पुनः अर्को व्यक्तिले त्यही नम्बर आफ्नो नाममा लिन सक्छ । यस्तोमा तपाईँको मोबाइलन नम्बर सधैँभर तपाईंकै नाममा रहन्छ भन्ने ग्यारेन्टी छैन । खासगरी अध्ययन तथा रोजगारीका क्रममा लामो समय विदेशमा बस्ने नेपालीहरूले प्रयोग गर्दै आएको आफ्नो मोबाइल नम्बर गुमाउने सम्भावना बढी हुन्छ ।
मोबाइल नम्बर अर्कैको नाममा हुनसक्ने अथवा आफ्नै नाममा नयाँ मोबाइल नम्बर लिँदा त्यसलाई नागरिक एपमा जोड्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न स्वाभाविक हुन्छ । वास्तवमा अहिलेसम्मको प्रावधान अनुसार नागरिक एपमा लिङ्क गरिएको मोबाइल नम्बर हटाएर त्यसको ठाउँमा नयाँ नम्बर दर्ता गर्ने सुविधा छैन ।
हालका लागि व्यक्तिको पहिचान स्थापित गर्ने सबैभन्दा महत्वपूर्ण आधार नै मोबाइल नम्बर भएकाले त्यसलाई परिवर्तन गर्ने विकल्प नदिइएको नागरिक एपले जनाएको छ । यद्यपि एउटै व्यक्तिले आफ्नो नाममा रहेको अर्को मोबाइल नम्बरबाट पनि नागरिक एप खोल्न सक्छ ।
यसको अर्थ यदि तपाईंसँग एउटा नेपाल टेलिकम र अर्को एनसेलको मोबाइल नम्बर छ भने ती दुवै नम्बरबाट आफ्नो छुट्टाछुट्टै नागरिक एपको अकाउन्ट खोल्न सक्नु हुन्छ । तर नागरिक एपमा लिङ्क गरिएको पुरानो नम्बर हटाउनु पर्यो र नयाँ मोबाइल नम्बर राख्नुपर्यो भने के गर्ने ?
यस्तो बेलामा तपाईंले नागरिक एपमा फोन सम्पर्क गरी आफ्नो पुरानो नागरिक एप अकाउन्ट डिसेबल गर्न अनुरोध गर्न सक्नु हुन्छ । त्यसपछि आफ्नो नाममा रहेको नयाँ मोबाइल नम्बर प्रयोग गरी नागरिक एपमा नयाँ अकाउन्ट खोल्न सक्नुहुन्छ ।
यद्यपि नागरिक एपमा भेरिफाई गरिएको ईमेलबाट समेत पहुँच बनाउन सकिने सुविधा समेत थप गर्ने तयारी भइरहेको बताइएको छ । राष्ट्रिय परिचयपत्र नागरिक एपमा लिङ्क भएपश्चात भने मोबाइल नम्बर परिवर्तन गर्ने सुविधा सहज हुने अपेक्षा गर्न सकिन्छ ।