close

विद्युतीय कार तथा ब्याट्री उत्पादनमा एक खर्ब बढी लगानी गर्दै ओला

टेकपाना टेकपाना

फागुन ७, २०७९ १५:४२

विद्युतीय कार तथा ब्याट्री उत्पादनमा एक खर्ब बढी लगानी गर्दै ओला

काठमाडौं । विद्युतीय सवारी निर्माता कम्पनी ओलाले भारतको तामिल नाडुमा विद्युतीय कार तथा ब्याट्री उत्पादनका लागि १ खर्ब भन्दा बढी लगानी गर्ने भएको छ । तामिल नाडु सरकारले ओलाको लगानी बारे जानकारी दिएको हो । यसका लागि तामिल नाडु सरकार र कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार कम्पनीले कुल ९२ करोड अमेरिकी डलर अर्थात करिब १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्नेछ । यो लगानी चार पाङ्ग्रे विद्युतीय सवारी उत्पादनका साथै २० गिगावाट क्षमताको ब्याट्री उत्पादनका लागि प्रयोग हुनेछ ।

यसका लागि कम्पनीले आफ्नै भातृ कम्पनी ओला इलेक्ट्रिक टेक्नोलोजी तथा ओला सेल टेक्नोलोजीबाट लगानी भित्र्याउने भएको हो ।

ओलाले यसअघि नै तामिल नाडुमा विद्युतीय सवारी उत्पादनका लागि प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । जसमार्फत १ लाख भन्दा बढी कार उत्पादन गरिसकेको छ, भने वार्षिक रुपमा १ लाख ४० हजार विद्युतीय कार उत्पादन गर्ने योजना बनाइरहेको छ । 

नयाँ लगानी सँगै कम्पनीले ३ हजार १११ जना भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्ने समेत जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०७९ १५:४२