close

८३ लाख रुपैयाँमा बिक्री भयो पहिलो पुस्ताको आईफोन !

टेकपाना टेकपाना

फागुन १०, २०७९ १७:११

८३ लाख रुपैयाँमा बिक्री भयो पहिलो पुस्ताको आईफोन !

काठमाडौं । सन् २००७ मा सार्वजनिक भएको एप्पलको पहिलो पुस्ताको आईफोन ६३ हजार अमेरिकी डलर (करिब ८३ लाख २६ हजार रुपैयाँ ) मा बिक्री भएको छ । एलसीजी अक्सनले साे आईफोन लिलामीका लागि राखेकाे थियाे । तत्कालीन मूल्य ५९९ अमेरिकी डलर (करिब ७९ हजार रुपैयाँ) रहेको उक्त आईफोन अनबक्सिङ पनि नगरिएको (बक्सभित्रै रहेको) अवस्थामा लिलामीका लागि राखिएको थियो ।

३.५ इन्च स्क्रिन भएको फोनमा २ मेगापिक्सेलको क्यामेरा ४ र ८ जीबी स्टोरेज अप्सन, इन्टरनेट सुविधा र आइट्युन्सको फिचर रहेको थियो । फोनमा एपस्टोर भने छैन । त्यस्तै सो फोनले टुजी नेटवर्क सपोर्ट गर्ने बताइएको छ । उक्त फोनलाई अघिल्लो महिना सुरुवाती मुल्य २५०० डलर तोकी लिलामीका लागि खुलाइएको थियाे ।

एलसीजीको वेबसाइटमा उक्त फोन खरिद गर्न २७ जना बिडमा सहभागी भएका थिए । र, अन्तमा उक्त फोन एक अमेरिकी नागरिकले खरिद गरेको एलसीजीका संस्थापक मार्क मोन्टेरोले जानकारी दिएकाे सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेकाे छ ।

कस्मेटिक ट्याटु आर्टिस्ट करेन ग्रिनले ८ जीबी भर्सनले उक्त फोन गिफ्ट पाएकी थिइन् । गिफ्ट पाएपछि सिल नताेडी उनले सो फोन सुरक्षित राखेकी थिइन् । धेरै कार्यक्रममा सो फोन बिक्री गर्न खोजेपनि उनले आफूले खोजेको मूल्य पाउन सकिरहेकी थिइनन् । त्यसैले उनले सो फोन लिलामीका लागि फेब्रुअरी २ मा एलसीजी अक्सन्समा राखिन् ।

सो फोनको सुरुवाती मूल्य २५०० डलर तोकिएको थोयो भने उच्चतम मूल्य ५० हजार पुग्ने अनुमान गरिएको  थियो । अन्ततः फेब्रुअरी १९ मा ६३ हजार ३५६.४० डलरमा पुगी लिलामी रोकिएको हो ।

एलसीजी अक्सनकाे पेजमा एक मूल्याङ्कनकर्ताले फोनको मूल्य पाँच हजार डलर कायम गरेका थिए ।

अर्को नखोलिएको पहिलो पुस्ताको आईफोन गत अक्टोबरमा ३९ हजार डलरमा बिक्री भएको थियो । आईफोन संसारभरका अरबौं मानिसहरूको रोजाइमा परेको छ । विशेषतः यसले सञ्चार गर्ने, भुक्तानी गर्ने, फोटो खिच्ने र बिहान उठ्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याइदिएको थियो ।

आईफोनको उदयले दर्जनौं उद्योगहरू (एमपीथ्री, फ्लिप फोन, क्यामकोडर) धरापमा परेका थिए । फोनमा वेब ब्राउजरको वास्तविक अनुभव परिचित गराउने फोनका रूपमा आईफोनलाई चिन्ने गरिन्छ । इन्टरनेटको क्षेत्रमा ल्याएको परिवर्तनले नै पहिलो संस्करणको आईफोनलाई इतिहास बनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०७९ १८:२