close

शिक्षकलाई उपयोगी ५ निःशुल्क एआई प्लेटफर्म

टेकपाना टेकपाना

फागुन ११, २०७९ ९:३०

शिक्षकलाई उपयोगी ५ निःशुल्क एआई प्लेटफर्म

काठमाडौं। शिक्षण तथा सिकाइमा प्रविधिको प्रयोग बढिरहँदा धेरै कुरा सहज र सरल हुँदै गएको छ । विद्यार्थीलाई गृहकार्य गर्नदेखि शिक्षकलाई पढाउन र कक्षाकोठा व्यवस्थापन गर्न प्रविधिको प्रयोग भइरहेको छ ।

यसैकारण पछिल्लो समय शिक्षकलाई सहयोगी हुने एआई प्लेटफर्म आउने क्रम जारी छ । यसको प्रयोगबाट शिक्षण कार्य अझ स्मार्ट बन्दै गइरहेको छ ।

यसैबीच 'डिजिटल लर्निङ डे २०२३' को अवसरमा आज हामी शिक्षकलाई उपयोगी हुने पाँच एआई प्लेटफर्म (वेबसाइट) बारे जानकारी दिँदै छौँ:

क्वेष्टजेन (Questgen) 

 

यस वेबसाइट प्रयोग गरी कुनै पनि अनुच्छेदबाट प्रश्नहरू तयार पार्न सकिन्छ । यसले गर्दा शिक्षकलाई प्रश्नहरू बनाउने काममा मद्दत पुग्छ । वेबसाइटबाट ‘बहुवैकल्पिक प्रश्न, ठीक/बेठीक, खाली ठाउँ भर’ जस्ता प्रश्न तयार पार्न सकिन्छ ।

विद्यालय तथा शिक्षकहरुका लागि निकै उपयोगी हुने यो वेबसाइटको सशुल्क भर्सन पनि रहेको छ । तर नि: शुल्क भर्सनबाट नै धेरै काम गर्न सकिन्छ । 

अटो ड्र (AutoDraw)

गुगल क्रियटिभ ल्याब (Google Creative Lab)का डेभलपरहरूले तयार पारेको यस वेबसाइटबाट चित्रहरू सजिलैसँग बनाउन सकिन्छ । कक्षाकोठालाई रचनात्मक र सिर्जनात्मक बनाउन शिक्षकले यो वेबसाइट प्रयोग गर्न सक्छन् ।

वेबसाइटमा भएको क्यानभासमा कुनै रेखा कोर्दा त्यससँग मिल्नसक्ने चित्रहरु देखा पर्छन् । यदि आफूले बनाउन चाहेको जस्तो चित्र आए त्यसलाई प्रयोग गर्न सकिन्छ । सो चित्रमा रङ भर्ने विकल्प त्यहीँ रहेका छन् । त्यस्तै यससँग मिल्दो अर्को वेबसाइट क्विक ड्र (QuickDraw) रहेको छ । 

परप्लेक्सिटी (Perplexity.AI)

 

कहिलेकाहीँ हामीलाई  सूचना थाहा भएपनि त्यसको स्रोत के हो भन्ने कुरा थाहा हुन्न । यस्तो बेला यो वेबसाइट काममा आउँछ ।

यस वेबसाइटले हामीलाई कुनै पनि सूचनाको विश्वसनीय स्रोत उपलब्ध गराउँछ । त्यसो हुँदा स्रोतसहित कुनै पनि प्रश्नको उत्तर शिक्षकले विद्यार्थीलाई दिन सक्छन् । 

क्युरिपड (Curipod)

 

यस वेबसाइटले शिक्षकलाई युनिन प्लान बनाउन मद्दत गर्छ । त्यस्तै अन्तर्क्रियात्मक स्लाइड बनाउन पनि यो वेबसाइट उपयोगी हुन्छ । यसका लागि वेबसाइटमा एआई प्रयोग गरिएको छ । विद्यार्थीसँग प्रश्नोत्तर, छलफल जस्ता कार्यका लागि यहाँ विभिन्न  विकल्प रहेका छन् ।

पियरडेक, नियरपोड, स्लाइडस् एआईले समेत यस वेबसाइटले जस्तै काम गर्ने गर्छन् ।

यिप् पीटी (Yippity)

 

लामो अनुच्छेदबाट यस वेबसाइटले धेरै प्रश्न बनाएर सारसंक्षेप बनाउने काम गर्छ । यसले शिक्षकलाई लामो पाठलाई स-साना भागमा अध्यापन गराउन  सजिलो बनाउँछ । यसका लागि अनुच्छेदको लिङ्क राख्न वा अनुच्छेद नै कपी गरेर वेबसाइटमा पेस्ट गर्न सकिन्छ ।

यी बाहेक शिक्षकलाई उपयोगी हुने विभिन्न एआईयुक्त वेबसाइट छन्, जस्तै; लेसनप्लान्स, कपिलिक्स, ग्रेडस्कोप आदि ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०७९ १०:१८