close

स्वस्तिमा खड्काको हट फुटेज भन्दै अनलाइन खबरको आधिकारिक पेजबाटै मालवेयर बुस्ट !

टेकपाना टेकपाना

फागुन १८, २०७९ १०:३२

स्वस्तिमा खड्काको हट फुटेज भन्दै अनलाइन खबरको आधिकारिक पेजबाटै मालवेयर बुस्ट !

काठमाडौं । चर्चित नेपाली अनलाइन न्युज पोर्टल अनलाइन खबरको भेरिफाइड फेसबुक पेजबाटै मालवेयको लिङ्क राखेर बुस्ट गराइएको पाइएको छ। बिहीबार अनलाइन खबरको आधिकारिक फेसबुक पेजमा ‘...नायिका स्वस्तिमा खड्काको हट फुटेज..’ भन्दै मालवेयर लोड गरिएको गुगल ड्राइभको लिङ्क सहितको पोस्टको विज्ञापन गरिएको हो । 

अनलाइन खबर स्रोतले गत निर्वाचनको समयमा विभिन्न व्यक्तिहरूलाई उपलब्ध गराइएको  फेसबुक पेजको एडिटर एक्सेस दुरुपयोग हुन सक्ने आशङ्का गरेको छ । “कसरी यस्तो हुन गयो हामी आफैँ आश्चर्यमा छौँ,” अनलाइन खबर स्रोतले भन्यो, “अहिले हाम्रो प्राविधिक टिमले पेजमा रहेको अनावश्यक एक्सेसहरू हटाउने काम गरिरहेको छ ।” 

तर साइबर सुरक्षा विश्लेषक तथा भैरव टेक्नोलोजीका सह-संस्थापक एवम् सीईओ विजय लिम्बूले भने अनलाइन खबरको फेसबुक पेज अथवा पेजमा एक्सेस भएका व्यक्तिहरूको डिभाइस ह्याक गरी उक्त पोस्ट राखिएको हुनसक्ने विश्लेषण गरेका छन् । बुस्ट गरिएको उक्त पोस्टमा स्टिलर मालवेयर राखिएको उनको भनाई छ ।

“विशेषगरी त्यो लिङ्कमा रहेको फाइलमा स्टिलर मालवेयर राखेको देखियो,” उनले टेकपानासँग भने, “फाइलमा क्लिक गर्ने प्रयोगकर्ताको मोबाइल तथा कम्प्युटरमा तत्कालै डाउनलोड भएर त्यसले सम्बन्धित ब्राउजरमा रहेको पासवर्ड, हिस्ट्री लगायतको सूचना तथा जानकारीमा पहुँच पाउने गरेको छ ।”

यो मालवेयरको नयाँ भेरियन्ट भएको जानकारी दिँदै उनले त्यसलाई एन्टिभाइरसले समेत फेला पार्न नसक्ने बताए ।

 

यस्ता मालवेयर तथा भाइरस युक्त लिङ्कबाट कसरी जोगिने ?

सामान्यतया सही सूचना तथा साइबर सुरक्षाको दृष्टिकोणबाट सामाजिक सञ्जालमा भेरिफाइड तथा आधिकारिक पेजहरूबाट पोस्ट भएका जानकारी तथा लिङ्क मात्र खोल्न भनिएको हुन्छ ।

नेपाल टेलिकम, एनसेल, राष्ट्रिय वाणिज्य बैंक लगायतको नाम र लोगो दुरुपयोग गरी फेक पेज बनाएर यस्ता दर्भावनापूर्ण सामग्री राखिएका पोस्ट बुस्ट गर्ने प्रवृत्ति दोहोरिने गरेको थियो । तर यो पछिल्लो दृष्टान्तले आधिकारिक तथा भेरिफाइड सामाजिक सञ्जाल अकाउन्ट समेत सुरक्षित नरहेको पुष्टि गरेको छ । अब यस्तोमा जोगिने कसरी ?

सामाजिक सञ्जाल अकाउन्टमा रहेको ब्लु टिक मात्र नभएर थप अतिरिक्त सावधानी समेत अपनाउनु पर्ने हुन्छ । कुनै पनि लिङ्क क्लिक गर्नु अघि केही बेर रोकिएर मात्रै अगाडि बढ्नुपर्ने साइबर सुरक्षा विज्ञहरूले सल्लाह दिने गरेका छन् ।

तपाईँले माथिको अनलाइन खबरकै प्रकरणलाई नै हेर्नु भयो भने 'सुत्ने कोठामा क्यामेरा जडान गर्दा अभिनेत्री स्वस्तिमा खड्काको हट फुटेज बाहिरिएको' र 'भिडिओ हेर्न' भन्दै लिङ्क राखिएको छ ।

पहिलो कुरा त अनलाइन खबर जस्तो प्रतिष्ठित मुलधारको सञ्चार माध्यमले यस्ता शनशनीपूर्ण र अश्लीलता फैलाउने तथा चरित्र हत्या गर्ने सामग्री राख्दैन भन्ने तर्क निस्किन्छ । अर्को कुरा लेखिएको पोस्टमा कयौँ भाषागत त्रुटि देख्न सकिन्छ ।

जस्तो कि लेखिएको विषयवस्तुलाई बिर्सिदिने हो भने पनि  'हट फुटेज बाहिरिएकी छिन्' नभएर शुद्धाशुद्धिको हिसाबले मात्रै हेर्दा 'हट फुटेज बाहिरिएको छ' हुनु पर्थ्यो होला, 'भिडियो हेर्नुहोस् कमेन्टमा' लेख्नुको साटो सोझै 'भिडियो हेर्नुहोस्' अथवा 'भिडिओको लागि लिङ्कमा हेर्नुहोस्' लेखिएको हुन्थ्यो होला । 

जब कि पेशागत ढङ्गबाट सञ्चालित सञ्चार माध्यमहरूमा यतिसम्म व्याकरणीय त्रुटि हुँदैनन् भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । यो पोस्टमा क्लिक गर्दा विचार पुर्‍याउने सबैभन्दा महत्त्वपूर्ण चेतावनी भनेको लिङ्क नै हो ।

अनलाइन खबरले सामाजिक सञ्जालहरूमा पोस्ट गर्ने समाचारहरूमा तलपट्टि अनलाइनखबर  डटकम.... (onlinekhabar.com/....) लेखिएको हुन्छ । तर यो पोस्टमा गुगल ड्राइभको लिङ्क राखिएको छ भने अन्तिममा डाउनलोड बटन समेत राखिएको छ । यति मात्रै कुरामा विचार गर्ने हो भने तपाईँ यस किसिमका थुप्रै फिशिङ तथा मालवेर आक्रमणबाट जोगिन सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०७९ १६:५७