काठमाडौं । प्रविधिले हाम्रो दैनिक जीवनयापन निकै सहज बनाइदिएको छ । पछिल्लो समय घरमा स-सानादेखि ठूला कामका लागि विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छ । जस्तै लुगा धुन वासिङ मसिन, कोठा सफा गर्न भ्याकुम क्लिनर, खाना पकाउन इन्डक्सन चुलो वा माइक्रोवेभ र खाना सुरक्षित रूपमा भण्डारण गर्न फ्रिज (रेफ्रिजेरेटर) । आज हामी फ्रिजमा खानेकुरा खुल्लै राख्दा के हुन्छ भन्ने विषयमा चर्चा गर्दैछौं ।
धेरैजसो मानिसमा फ्रिजमा सामान कसरी राख्ने भन्ने कुराको चेतना भएको पाइँदैन । सामान्यतः खानालाई फ्रिजमा साँझ राखेर बिहान खाने वा बिहान राखेर साँझ खाने गरिन्छ । वा कतिपय खाना, फलफुल, तरकारी धेरै दिनसम्म पनि राखिन्छ । तर फ्रिजभित्र राख्दैमा खाना नबिग्रिने, ताजा भइरहन्छ भन्ने हुँदैन ।
प्रायः फ्रिजभित्र एकै समयमा काँचो र पाकेको दुवै प्रकारको खाना राख्नुपर्ने अवस्था आउँछ । यसरी फरक प्रकारका खाना खुल्लै फ्रिजभित्र राख्दा सबैभन्दा पहिले त खानाको स्वादमा परिवर्तन आउँछ । स्वाद तथा बास्नामा परिवर्तन हुँदा खाना मिठो हुँदैन । त्यस्तै फरक प्रकारका विभिन्न खाना खुल्लै फ्रिजमा राख्दा ती खानाको रङ्गमा नै परिवर्तन आउन थाल्छ ।
एउटा खानाबाट अर्को खानामा ब्याक्टेरिया सर्नसक्ने भएकाले फरक प्रकारका खाना एकै ठाउँमा खुल्लै राख्दा 'फुड पोइजनिङ'को जोखिम धेरै हुन्छ । खानालाई छोपेर राख्नाले हानिकारक ब्याक्टेरिया र रसायनहरू खानामा पस्न पाउँदैन ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने साधारण तरिकाले फ्रिजमा चार दिनभन्दा बढी खाना राख्दा उक्त खानामा भएको ब्याक्टेरियाको सङ्ख्या बढ्दै जान्छ । यसले अन्य खानामा पनि असर पार्न थाल्छ । यसकारण चिसोमा राख्दा खानाको ब्याक्टेरिया मर्छ भन्ने भ्रम राख्नु गलत हो ।
कतिपय ब्याक्टेरियाका यस्ता प्रजाति पनि छन्, जो अत्यन्तै न्यून तापक्रममा सक्रिय हुने गर्छन् । त्यस्तै कतिपय यस्ता प्रजातिका ब्याक्टेरिया हुन्छन्, जो अत्यन्तै धेरै तापक्रममा पनि जीवित रहन्छन् । त्यसैले खाना धेरै दिन फ्रिजमा राख्दा चिसोमा सक्रिय हुने हानिकारक ब्याक्टेरिया बढेर खाना अस्वस्थ हुनसक्छ ।
अर्को महत्त्वपूर्ण कुरा भनेको पकाएर तयार पारिएका खाना फ्रिजको माथिल्लो भाग र काँचा खाना तल्लो भागमा राख्नु उत्तम हुन्छ । यसरी दुवै प्रकारका खानेकुरा ढाकेर वा प्याक गरेर राख्दा ब्याक्टेरिया फैलनबाट रोक्नुका साथै फ्रिज सफा पनि हुन्छ ।
त्यस्तै खाना ढाकेर फ्रिजमा राख्दा 'फ्रिजर बर्न' (फ्रिजभित्र डिहाइड्रेसन हुँदा खानामा पर्ने प्रतिकूल असर) हुँदैन । 'फ्रिजर बर्न' भएका खाना स्वादिलो नहुनुका साथै बासी देखिन्छ । खाना खुल्ला राख्दा त्यसमा फ्रिजको चिसो हावा सिधै सम्पर्कमा रहन्छ, जसले गर्दा फ्रिज डिहाइड्रेट हुन्छ र खाना बिग्रन्छ ।
फ्रिजमा भएको चिसो हावा खानामा जाँदा फ्रिजर बर्न हुने गर्छ । फ्रिजमा हुने यस्तो चिसो हावा सुख्खा हुने गर्छ । फ्रिजमा हाइड्रेसनको मात्रा कम हुने हुँदा खानाबाट पानी सोसिन्छ, जसले गर्दा खाना डिहाइड्रेटेड र सुख्खा हुन्छ । त्यसैले फ्रिजमा राखिने सबै खानालाई ढाकेर राख्नु उत्तम हुन्छ ।
खाना कति समयसम्म फ्रिजमा राख्दा खान उपयुक्त हुन्छ ?
सामान्यतः खानालाई तीनदेखि चार दिनसम्म फ्रिजमा राख्दा खाना योग्य हुन्छ । शारीरिक स्वास्थ्यसँग सम्बन्धित गैरनाफामूलक संस्था मायोक्लिनिकका अनुसार खाना फ्रिजमा राखेको चार दिनपछि पोइजनिङको जोखिम बढ्दै जान्छ । यदि कुनै पनि खाना फ्रिजमा चार दिनभन्दा बढी राख्नुपर्ने अवस्था आयो भने त्यसलाई फ्रिज (न्यून तापक्रममा जमाएर राख्ने) गर्नुपर्ने हुन्छ ।
फ्रिज गरिएको खाना तीनदेखि चार महिनासम्म खानका लागि उपयुक्त हुन्छ । साधारण तरिकाले फ्रिजमा चार दिनभन्दा बढी खाना राख्दा उक्त खानामा भएको ब्याक्टेरियाको सङ्ख्या बढ्दै जान्छ । चिसोमा राख्दा खानाको ब्याक्टेरिया मर्छ भन्ने भ्रम राख्नु पनि गलत हो । कतिपय ब्याक्टेरियाका यस्ता प्रजाति पनि छन्, जो अत्यन्तै न्यून तापक्रममा सक्रिय हुने गर्छन् । त्यस्तै कतिपय यस्ता प्रजातिका ब्याक्टेरिया हुन्छन्, जो अत्यन्तै धेरै तापक्रममा पनि जीवित रहन्छन् । त्यसैले खाना धेरै दिन फ्रिजमा राख्दा चिसोमा सक्रिय हुने हानिकारक ब्याक्टेरिया बढेर खाना अस्वस्थ हुनसक्छ ।
यसरी लामो समयसम्म फ्रिजमा राखेको खाना खाँदा हामीलाई फुड पाेइजनिङ वा भनौँ फुडब्रोन इलनेस हुनसक्छ । खानामा फरक गन्ध आएन भने हामीलाई उक्त खाना स्वस्थ छ वा भनौँ ताजा छ भन्ने लाग्छ । तर, सबै अवस्थामा यो विचार लागू हुँदैन । खानामा कतिपय यस्ता हानिकारक ब्याक्टेरिया पनि हुने गर्छन्, जसले खानाको स्वाद वा गन्धमा कुनै प्रभाव पार्दैनन् । तर, उक्त खाना हामीले खाएको अवस्थामा हामी रोगी हुन सक्छौं ।
त्यसैले लामो समयसम्म फ्रिजमा राखेको खानामा कुनै प्रभाव नपर्दा खाना स्वस्थ छ भन्ने हुँदैन । त्यस्तो खाना तीनदेखि चार दिनसम्म खान सकिएन भने हटाउँदा नै उपयुक्त हुने विज्ञहरू बताउँछन् । ४ डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियसको तापक्रम त्यस्तो तापक्रम हो जहाँ ब्याक्टेरिया तीब्र गतिमा वृद्धि हुने गर्छन् । त्यसैले तातो खाना ६० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम र चिसो खाना ४ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुपर्ने हुन्छ ।
तातो खाना फ्रिजमा राख्ने कि नराख्ने ?
तातो खाना फ्रिजमा राखेर त्यसलाई सेलाउनु हुन्छ वा हुन्न भन्ने भन्दा पनि यहाँ विषय तातो खाना फ्रिजमा राख्दा फ्रिजमा पहिले नै भएको अन्य खानाको बारेमा हो । जब तपाईं फ्रिजमा कुनै तातो खानेकुरा राख्नुहुन्छ तपाईंको फ्रिज जति नै स्मार्ट भएपनि सो तातो तापक्रमलाई फ्रिजभित्र भएको चिसो तापक्रमसँग मिलाउन उक्त फ्रिजले मेहेनत गर्नैपर्छ ।
तपाईंले तातो खाना फ्रिजमा राख्ने बित्तिकै यसले स्वत फ्रिजभित्र भएको खानाको तापक्रम पनि बढाउँछ । यो चिसो र तातो खानाबीचको लडाईंमा फ्रिजभित्र तातो हावाको वाष्फिकरण हुन्छ ।
यसले गर्दा फ्रिजमा जताततै आइस जम्नसक्छ, जुन आईसले चिसो हुनु नपर्ने खानाहरूलाई बिगार्न सक्छ । फ्रिजको तापक्रम नै बिगार्ने हुँदा तातो खाना फ्रिजमा राख्नुभन्दा सो खाना दुई घण्टाभित्र सेलाइसकेपछि राख्दा फ्रिजको तापक्रममा कुनै असर पर्दैन ।
यद्यपि अमेरिकाको कृषि विभागले समेत तातो खाना भएको खण्डमा यसलाई कुनै भाँडामा राखेर मात्र फ्रिजमा राख्नु उपयुक्त हुने बताएको छ ।