close

आफ्नो मोबाइललाई सुरक्षित र गोप्य राख्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

फागुन २२, २०७९ १३:४६

आफ्नो मोबाइललाई सुरक्षित र गोप्य राख्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । तपाईँको स्मार्टफोनमा धेरै व्यक्तिगत जानकारी संकलन भएका हुन्छन् । अनि यी व्यक्तिगत जानकारीहरूको दुरुपयोग गर्न दुर्भावना भएका ह्याकरहरू नयाँ-नयाँ बाटो खोजिरहेका हुन्छन् । 

यसैबीच, स्मार्टफोनमार्फत मानिसलाई ट्र्याक गर्ने नयाँ प्रविधिहरू विकास हुँदैछ । यस्तोमा आफ्नो स्मार्टफोनलाई सुरक्षित र गोप्य राख्न निकै आवश्यक छ । आफ्नो फोनलाई सुरक्षित राख्न विभिन्न उपाय अपनाउन सकिन्छ:

१. डिभाइसको प्राइभेसी सेटिङ परिवर्तन गर्नुहोस् 

आफ्नो डिभाइसको सुरक्षाको लागि डिभाइसको प्राइभेसी सेटिङ परिवर्तन गर्न महत्त्वपूर्ण छ । फोनमा डिफल्टमा रुपमा हुने केही सेटिङहरू नै असुरक्षित हुने गर्छन् । यसले गर्दा तपाईँले डिभाइसमा इन्स्टल गरेका थर्ड पार्टी एपहरूले बिना अनुमति स्वत: डिभाइसको विवरण उक्त एप डेभलपरलाई उपलब्ध गराइरहेको हुन्छ ।

आफ्नो डिभाइसको सेटिङमा गएर प्राइभेसी अप्सनमा जानुहोस् । त्यहाँ गएर आफ्नो आवश्यकताअनुसार डिफल्ट रुपमा रहेका सेटिङहरू परिवर्तन गर्नुहोस् । एनलाइटिक्स अप्सनलाई अफ गर्नेदेखि लिएर नोटिफिकेसन डिस्प्ले नहुने लगायतका सेटिङ परिवर्तन गर्न सक्नुहन्छ । 

२. प्रत्येक एपलाई दिइएको अनुमतिको समीक्षा गर्नुहोस् 

हामीले प्रयोग गर्ने हरेक एपले विभिन्न अनुमतिहरू मागिरहेको हुन्छ । यसमा हाम्रो फोटो भिडिओ, सम्पर्क नम्बर लगायतको पहुँचको लागि अनुमति माग्ने गरिन्छ । यस्ता अनुमतिहरू दिने समयमा हामीले ध्यान दिनुपर्ने हुन्छ ।

कुनै नयाँ एप इन्स्टल गर्नुअगाडि एपले कस्तो कस्तो डेटाको लागि अनुमति मागेको छ भन्ने कुरा ध्यान दिएर हेर्नुपर्छ । सकेसम्म आफ्नो डेटामा अनुमति नदिनु नै उपयुक्त हुन्छ ।

यदि तपाईँले कुनै क्यालकुटेर एप इन्स्टल गर्न चाहनुभएको छ, तर यो एपले तपाईँको माइक्रोफोनको पहुँच मागिरहेको छ भने यस्तो अवस्थामा उक्त एप इन्स्टल नगर्नु उपयुक्त हुन्छ । 

३. भीपीएन प्रयोग गर्नुहोस्

प्रायजसो प्रयोगकर्ताले आफ्नो क्षेत्र, देश वा स्थानमा प्रतिबन्धित अनलाइन सामग्रीमा पहुँच पाउन भीपीएन प्रयोग गर्ने हो भनेर बुझ्ने गर्छन् । तर भीपीएनको काम भनेको यति मात्र होइन ।

यसले तपाईँको वास्तविक लोकेसनलाई अन्य कुनै लोकेसनको पछाडि लुकाउने काम गर्छ, जसले गर्दा तपाईँको अनलाइन सामग्रीकै भरमा अन्य व्यक्तिले तपाईँको वास्तविक व्यक्तिगत डेटा प्राप्त गर्न सक्दैनन् । साथै तपाईँलाई ट्रयाक पनि गर्न सक्दैनन् । साथै कुनै वेबसाइटहरूले तपाईँको विवरण चोरी गर्न पनि सक्दैन । यसैले भीपीएनको प्रयोग महत्त्वपूर्ण छ ।

४. इन्क्रिप्सन फिचर भएको मेसेजिङ एप प्रयोग गर्नुहोस् 

आजभोली हाम्रो सामान्य कुरा देखि लिएर कुनै व्यावसायिक वा संवेदनशिल कुराकानीहरू अनलाइनमा हुने गरेका छन् । यसले गर्दा इन्क्रिप्सन फिचर भएको मेसेजिङ एपहरू प्रयोग गर्नु उचित हुन्छ । 

पछिल्लो समयमा विभिन्न मेसेजिङ एपहरूले आफूहरूले इन्ड-टु-इन्ड इन्क्रिप्सन प्रयोग गरिरहेको दाबी गर्ने गरेका छन् । तर कुन एपले यो फिचर दिएको छ वा छैन भनि यकिन गरी यो फिचर भएको एप प्रयोग गर्दा तपाईँको गोपनीयता सुनिश्चित हुनसक्छ ।

यो फिचरले तपाईँको मेसेज कुनै ह्याकर वा डेभलपर आफैंले पनि थाहा पाउन नसक्ने अथवा पढ्न सक्नेगरी मेसेजिङ सेवा व्यवस्थापन गरेको हुन्छ । त्यसैले गोपनीयता र डेटा सुरक्षाको लागि इन्क्रिप्टेड एपहरू प्रयोग गर्नुपर्छ । 

५. सुरक्षित ब्राउजर प्रयोग गर्नुहोस् 

हामीमध्ये धेरैले गुगलको क्रोम ब्राउजर प्रयोग गरिरहेका हुन्छौं । कम्पनीले आफ्नो ब्राउजर सुरक्षित रहेको दाबी गरेपनि गोपनीयता र सुरक्षाको कुरामा यो ब्राउजर त्यति सुरक्षित नभएको विभिन्न अध्ययनले देखाएको छ ।

साथै धेरै प्रयोगकर्ताहरू आफ्नो व्यक्तिगत र संवेदनशील कामहरूको लागि भने ब्रेभ, मोजिल्ला फायरफक्स, टोर जस्ता ब्राउजरहरू प्रयोग गर्ने गर्छन् । पछिल्लो समयमा यी ब्राउजरहरूको प्रयोग पनि बढ्दै गएको छ । त्यसैले आफ्नो व्यक्तिगत प्रयोगको लागि भने सुरक्षित ब्राउजरहरू प्रयोग गर्नु उपयुक्त हुन्छ । 

६. पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस् 

आजको समयमा अनलाइन हाम्रो धेरै अकाउन्टहरू हुनेगर्छन् । साथै फरक फरक अकाउन्टमा प्रयोग भएका विभिन्न पासवर्डहरू सम्झन पनि गाह्रो हुन्छ । कहिलेकाही त गाह्रो हुन्छ भन्ने सोचेर नै हामीले एकैप्रकारका पासवर्ड प्रयोग पनि गर्ने गर्छौं ।

यसले गर्दा पासवर्ड म्यानेजर प्रयोग गर्नु उपयु्क्त हुन्छ । यसले तपाईँको पासवर्ड याद गर्नुका साथै व्यवस्थापन गर्न मद्दत गर्छ । बजारमा उपलब्ध विभिन्न प्रकारका सुरक्षित सशुल्क तथा निशुल्क पासवर्ड म्यानेजरका एपहरू प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०७९ १४:१३