close

स्पेनले ल्यायो डिजिटल घुमन्ते भिसा, यस्ता व्यक्तिले दिन सक्छन् आवेदन

टेकपाना टेकपाना

फागुन २६, २०७९ ९:३५

स्पेनले ल्यायो डिजिटल घुमन्ते भिसा, यस्ता व्यक्तिले दिन सक्छन् आवेदन

काठमाडौं । स्पेनले डिजिटल घुमन्ते भिसा (Digital Nomad Visa) कार्यक्रम सञ्चालनमा ल्याएको छ । कार्यालय नगइकन काम गर्नसक्ने पेसाकर्मी वा व्यवसायीहरू (रिमाेट वर्कर) लाई लक्षित गर्दै स्पेनले यस्तो भिसा जारी गर्न थालेको हो । याेसँगै डिजिटल दुनियाँमा काम गर्ने फिरन्तेहरूले स्पेनमा बसेर काम गर्न पाउनेछन् ।

नयाँ सोच र प्रतिभालाई आफ्नो ठाउँमा आकर्षित गर्ने र कार्यालय नगई गर्न सकिने कामलाई संस्थागत गर्न अहिले विश्वका विभिन्न देशले यस्ताे भिसा कार्यक्रम ल्याएका छन्, जसबाट स्थानीय अर्थतन्त्रमा पनि विदेशी मुद्रा ल्याउन मद्दत पुग्ने विश्लेषण गरिएकाे छ ।

स्पेनकाे याे भिसा कार्यक्रमअन्तर्गत युरोपेली युनियन वा ईईए सम्बद्ध नभएका देशका नागरिकहरूले स्पेनबाट काम गर्न कानूनी अधिकार पाउँछन् । यसकाे अर्थ कुनै पनि देशका कम्पनीका कर्मचारी वा फ्रिल्यान्सरले यस्ताे भिसाका लागि आवेदन दिन सक्छन् । यसअन्तर्गत सूचना प्रविधि क्षेत्रमा क्रियाशील  व्यक्तिहरू यस्ताे भिसा याेजनाबाट बढी लाभान्वित हुनसक्ने विश्वास लिइएकाे छ ।

इच्छुक व्यक्तिले आवेदन दिनुअघि पाँच वर्षसम्म स्पेनमा बसेको हुन नहुने र आवेदन प्रक्रियाको क्रममा स्पेनमा अवैध रूपमा बसोबास गर्नु नहुने नियम ल्याइएको छ ।

के के छ आवश्यकता ?

स्पेनमा डिजिटल घुमन्ते भिसाका लागि आवेदन दिन चाहने व्यक्तिले कम्तीमा तीन महिनादेखि आफ्ना क्लाइन्ट वा कम्पनीका लागि काम गरिरहेको डकुमेन्ट तयार पार्नुपर्छ । साथै काम गरेको कम्पनी कम्तीमा एक वर्षदेखि सञ्चालन भएको हुनुपर्छ ।

साथै उनीहरूले कुनै निश्चित स्थानमा नभईकन जहाँबाट पनि आफ्नो काम गर्नसक्ने व्यहोरा प्रस्तुत गर्नुपर्छ । स्पेनमा डिजिटल घुमन्ते भिसाको लागि योग्य हुन सम्बन्धित व्यक्तिसँग या त कम्तीमा तीन वर्षको कामको अनुभव हुनुपर्ने वा विश्वविद्यालयबाट स्नातक गरेको हुनुपर्ने शर्त ल्याइएको छ ।

डिजिटल घुमन्ते भिसाका लागि आवेदन दिन चाहने व्यक्तिले आफूलाई आर्थिक रूपमा सबल भएको प्रमाणित गर्न पनि आवश्यक छ । इच्छुक व्यक्तिले प्रति महिना कम्तीमा मासिक २३३४ यूरो वा वार्षिक २८ हजार यूरो आय भएको विवरण पेश गर्नुपर्छ ।

यदि आफ्नो श्रीमान/श्रीमती वा छोराछोरीहरू स्पेनमा लैजान चाहेको अवस्थामा अतिरिक्त २५ प्रतिशत बढी आम्दानी गरेकाे कागजात देखाउनुपर्छ ।

स्पेनमा यस्ताे भिसाको म्याद बढीमा १२ महिनाका लागि हुनेछ, त्यसपछि यसलाई पाँच वर्षसम्म नवीकरण गर्न सकिन्छ । पाँच वर्षपछि भने स्थायी बसोबासको लागि आवेदन दिन सकिन्छ ।

इच्छुक व्यक्तिले आफ्नो देशको दूतावासमार्फत भिसाको लागि आवेदन दिनसक्ने बताइएको छ । वा, स्पेनमा पर्यटकको रूपमा आएर पहिलो तीन महिनाभित्र आवेदन दिन सकिने सुविधा पनि छ ।

डिजिटल घुमन्ते भिसाको लागि ८० यूरोसम्म खर्च लाग्ने भएपनि तपाईँले कुन देशबाट आवेदन दिनुहुन्छ भन्ने आधारमा यो केही फरक हुन सक्छ । त्यस्तै भिसा स्वीकृत हुन १५ देखि ४५ दिनसम्म लाग्न सक्छ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ १३:२१