close

ईसेवाबाट ईसेवामा रकम पठाउँदा लाग्ने सेवा शुल्क हट्दै

टेकपाना टेकपाना

फागुन २६, २०७९ १८:४९

ईसेवाबाट ईसेवामा रकम पठाउँदा लाग्ने सेवा शुल्क हट्दै

काठमाडौं । ईसेवाबाट ईसेवामा रकम पठाउँदा लाग्ने सेवा शुल्क छिट्टै नै हट्ने भएको छ । डिजिटल वालेटको प्रयोग गरेर त्यसबाट हुने अनैतिक कारोबारलाई रोक्नका लागि यस्तो नीति ल्याएको भए पनि सेवाग्राही मारमा पर्दा कम्पनीले यो सेवा बन्द गर्न लागेको जनाएको छ ।

कम्पनीले फागुनको पहिलो साताबाट ईसेवादेखि ईसेवामा दिनमा दुई पटकभन्दा बढी कारोबार गर्दा सेवा शुल्क लिन सुरु गरेको थियो । जसअन्तर्गत एकदिनमा ईसेवाबाट ईसेवामा दुईपटकभन्दा बढी कारोबार गर्दा हरेक पटक पाँच रुपैयाँ सेवा शुल्क लाग्छ ।

त्यस्तै एक महिनामा ३० पटक भन्दा बढी ईसेवाबाट ईसेवामा रकम पठाउँदा पनि यो शुल्क लाग्ने गरेको छ । 

टेकपानासँग कुरा गर्दै ईसेवाका चिफ मेनेजर आशिष गौतमले यो सेवाले ग्राहक मारमा परेको भन्दै बन्द गर्न लागेको जानकारी दिए ।

"यसलाई ईसेवाले पैसा नै कमाउन खोज्यो भन्ने हिसाबले हेरिएको छ," गौतमले भने, "हाम्रो नियत त्यस्तो थिएन । वालेट भएकाले मान्छेले यसलाई गलत तरिकाले प्रयोग गर्न थाले । जस्तै बेटिङ, हुन्डीको रूपमा यसको गलत प्रयोग हुन थाल्यो । राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सलाई कडाइ गरेपछि हुन्डीका रूपमा ईसेवादेखि ईसेवामा कारोबार बढेको देख्यौं ।"

यसरी हुन्डी तथा बेटिङमा ईसेवाको प्रयोग बढ्न थालेपछि दिनमा दुई पटकभन्दा बढी ईसेवाबाट ईसेवामा कारोबार गर्दा सेवा शुल्क लिने योजना बनाएको गौतमको भनाइ छ । 

उनी भन्छन्, "९९ प्रतिशत सामान्य उपभोक्ताले ईसेवादेखि ईसेवामा दैनिक दुई पटक कारोबार गर्छन् । त्यही दुई ओटा कारोबारमा चार्ज नलगाएर, अनइथिकल पार्टलाई रोक्नका लागि हामीले चार्ज प्रणाली लागू गरौं भन्ने सोचेका हौं।"

तर, ईसेवाले पीटुपी (ईसेवादेखि ईसेवामा कारोबार) गर्दा चार्ज लिने नीतिलाई बजारबाट राम्रो प्रतिक्रिया नमिलेपछि बन्द गर्न लागेको उनी बताउँछन् ।

"यो सेवा लागू गर्दै गर्दा मार्केटको फिडब्याक अनुसार मार्केट रेडि छैन भन्ने आइसकेपछि हामीले कुरा गरेर यसलाई प्रतिदिनको लिमिटलाई बढाउने लक्ष्य राखेका छौं," उनले भने, "अब ग्राहकलाई गाह्रो नपर्ने गरी चार्जको रूपरेखामा परिवर्तन गर्दैछौ । डेली चार्ज चाहिँ हामीले हटाउने नै निधो गरेका छौं ।"

कहिलेबाट सेवा शुल्क बन्द गर्ने भन्ने कम्पनीले खुलाएको छैन । यद्यपि यो ईसेवाबाट ईवामा कारोबार गर्दा शुल्क लाग्ने प्रणाली चाँडै बन्द हुने कम्पनीले बताएको छ ।

 

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ १८:४९