close

च्याटजीपीटीबाट यसरी सजिलै बनाउनुहोस् आफ्नो रेजुमी

टेकपाना टेकपाना

चैत ३, २०७९ १२:३६

च्याटजीपीटीबाट यसरी सजिलै बनाउनुहोस् आफ्नो रेजुमी

काठमाडौं । ओपन एआईको च्याटजीपीटीलाई आफ्ना विभिन्न प्रश्नको उत्तर दिने टुलमात्र नभई आफ्नो व्यावसायिक जीवनको विकासको लागि पनि प्रयोग गर्न सकिन्छ । व्यावसायिक जीवन भन्ने बित्तिकै रेजुमीको निकै ठूलो महत्त्व हुन्छ । केहीले त पैसा लिएर पनि रेजुमी बनाउने काम गर्छन् । 

धेरै कम्पनीहरूले व्यक्तिगत विवरण अर्थात् रेजुमी हेरेर नै जागिरमा नियुक्ति दिने गर्छन् । यस्तोमा रेजुमी बनाउने झन्झटबाट मुक्त हुन च्याटजीपीटी प्रयोग गर्न सकिन्छ । 

निम्न प्रक्रिया अपनाएर च्याटजीपीटीबाट रेजुमी बनाउन सकिन्छ:

१. टेम्प्लेट चयन गर्नुहोस्

सबैभन्दा सुरुमा कुनै एक टेम्प्लेट छान्नुहोस् अर्थात् गुगल डक्स, माइक्रोसफ्ट वर्ड, क्यानभा जस्ता प्लेटफर्ममा पहिले नै तयार पारिएका टेम्प्लेटहरु धेरै हुन्छन्, तीमध्ये कुनै एक छान्न सक्नुहुन्छ । वा अनलाइनमा केही समय लगाएर रेजुमीको टेम्प्लेटहरू खोज्नुभयो भने सजिलोसँग एडिट गर्न सकिने धेरै डिजाइनहरु फेला पार्न सकिन्छ ।

टेम्प्लेट छान्दा प्रायः सामान्य तर प्रभावकारी डिजाइन हेर्दा राम्रो हुन्छ । तर त्यस डिजाइनले तपाईँको आवश्यकता भने पूरा गर्ने खालको हुनुपर्छ । 

२. च्याटजीपीटीमा साइनइन गर्नुहोस्

पहिले नै साइनअप गर्नु भएको छ भने च्याटजीपीटीमा लगइन गर्नुहोस् । यदि च्याटपीटीका लागि नयाँ हुनुहुन्छ भने अकाउन्ट खोल्न सक्नुहुन्छ । यो नि:शुल्क सेवा हो । 

३. टेक्स्ट थप्नुहोस्

अब तपाईँले आफ्नो रेजुमीका लागि विवरण वा टेक्स्ट (text) तयार पार्नुपर्ने हुन्छ । यसका लागि च्याटजीपीटीको ‘न्यु च्याट’मा गएर कस्तो विवरण चाहिएको छ, त्यसबारे प्रम्प्ट (prompt) लेख्न सक्नुहुन्छ । जस्तो: सफ्टवेयर डेभलपरका रूपमा हुने मेरो भूमिका बारे छोटो सारांश तयार पार भनेर उक्त च्याटबक्समा लेख्नुहोस् ।

यसपछि च्याटजीपीटीले तपाईँलाई केही विवरणहरू उपलब्ध गराउँछ । उक्त विवरणको आधारमा थप जानकारी माग गर्नुहोस् । यो प्रक्रियाबाट तपाईँले आफ्नो रेजुमीको लागि बुलेट पोइन्टहरु बनाउन सक्नुहुन्छ ।  

४. आफ्नो लेखाइलाई परिमार्जन गर्नुहोस् 

अघिको प्रक्रिया अनुरूप तपाईँको विवरण तयार भइसकेपछि त्यसलाई थपघट गरेर तपाईँले पुन: उक्त विवरणलाई राम्रो र आकर्षित भाषामा परिमार्जन गर्न सक्नुहुन्छ ।  

यसका लागि तपाईँले लेखेको कुरालाई कपी गरेर न्यु च्याटमा पेस्ट गरी त्यसलाई अझ राम्रो बनाउ (prompt) ‘Can you make this resume bullet sound better’ भनेर लेख्न सक्नुहुन्छ । यति गरेपछि च्याटजीपीटीले तपाईँको विवरणलाई सम्पादन गरिदिने काम गर्छ । 

अब च्याटजीपीटी तयार पारेका यी कुरालाई तपाईँले छान्नु भएको रेजुमीको टेम्प्लेटमा राख्न सक्नुहुन्छ । यसरी च्याटजीपीटीको प्रयोग गरी तपाईँले सजिलै आफ्नो ‘रेजुमी’ वा सीभी तयार पार्न सक्नुहुन्छ ।

 

यो पनि हेर्नुहोस्:

बिल गेट्सको ४८ वर्ष पुरानो बायोडेटा, जागिर खोज्नेहरूका लागि यस्तो सन्देश


 

पछिल्लो अध्यावधिक: चैत ३, २०७९ १३:१७