close

तोयनाथ पञ्चाङ्ग अब ‘नेपाली पात्रो’ एपमा उपलब्ध हुने

टेकपाना टेकपाना

चैत ९, २०७९ १२:५७

तोयनाथ पञ्चाङ्ग अब ‘नेपाली पात्रो’ एपमा उपलब्ध हुने

काठमाडौं । ‘नेपाली पात्रो’ एप र तोयनाथ पात्रो (पञ्चाङ्ग) राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ । यो सहकार्य अन्तर्गत नेपाली पात्रो तोयनाथ पञ्चाङ्ग डिजिटल भर्सनको आधिकारिक एप बन्नेछ ।

तोयनाथ पञ्चाङ्ग विगत १३५ वर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेन्डर हो । छापा संस्करणमा स्थापित तोयनाथ पञ्चाङ्गलाई प्रविधिको विकासअनुसार विस्तार गर्न याे सहकार्यले सहयाेग पुग्ने विश्वास लिइएकाे छ ।

याे सहकार्यपछि नेपाली पात्राेका प्रयोगकर्ताले तोयनाथ पञ्चाङ्गले उपलब्ध गराएका साइत, लग्न, चाडबाड तथा तिथि मिति हेर्न पाउनेछन् । 

“झन्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्त्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसँग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु,'” नेपाली पात्राेका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले भने ।

उनले अगाडि भने, “पुरानो पुस्ताको सटीक पञ्चाङ्ग गणितसँग आधुनिक पुस्ता जोडिन पाउनु आफैँमा अद्भूत अनुभव हो । शताब्दीअघि उहाँहरूसँग उपलब्ध साधनस्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटीक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ । यो सहकार्यले हाम्रा प्रयोगकर्तालाई क्यालेन्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ ।”

त्यस्तै तोयनाथ पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदानप्रदानको बहाना मिलेको बताए ।

“हाम्रो वैदिक सनातन ज्ञान असामान्य छ । हामी हरेक दिन प्रकृति, जीवजन्तु, किरा-फट्याङ्ग्रा, भूगोल, चन्द्र-सूर्य र अन्य ग्रहले हामीलाई प्रदान गर्ने अनेक योगदानका कारण यो अमूल्य जीवन बाँचिरहेका छौँ । हाम्रो आफ्नै मौलिक सिद्धान्त छ, जसले हामीलाई हाम्रो प्राचीन इतिहाससँग जोडिरहेको हुन्छ । र यो वैदिक सनातन पञ्चाङ्ग पनि तिनै सिद्धान्तमध्येको एउटा सिद्धान्त हो, जसको जगमा बसेर गुरु तोयनाथले १३५ वर्षअघि यसलाई ‘तोयनाथ पञ्चाङ्ग’को रुपमा समाजसँग जोड्नुभयो ।”

उनले अगाडि भने, “त्यो कालखण्डदेखि अहिलेसम्म नेपाली जनमानसले तोयनाथ पञ्चाङ्गलाई विश्वास र माया गर्दै आउनुभएको छ । त्यही विश्वास र मायाको निरन्तरता स्वरुप युगअनुसार हामीले वर्तमान पुस्तामा क्यालेन्डर र पञ्चाङ्गको डिजिटल स्रोतका लागि ‘नेपाली पात्रो’ सँग आधिकारिक डिजिटल पात्रोको रुपमा सहकार्य गरेका हौँ ।”

नयाँ वर्ष २०८० सालको क्यालेन्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको र चैत महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी भइरहेको नेपाली पात्राकाे देवकोटाले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ १३:३