close

लेखेकै भरमा भिडिओ क्लिप बनाइदिने एआई टुल: जेन टु

टेकपाना टेकपाना

चैत १२, २०७९ १६:३९

लेखेकै भरमा भिडिओ क्लिप बनाइदिने एआई टुल: जेन टु

काठमाडौं । टेक्स्टको भरमा टेक्स्ट तथा टेक्स्टको भरमा फोटो तयार पार्ने टुलको चर्चासँगै अहिले टेक्स्टको भरमा भिडिओ तयार पार्ने टुल चर्चामा आएको छ । 

अमेरिकाको रनवे नामक स्टार्टअप कम्पनीले ल्याउन लागेको ‘जेन-टु’ टुलले शब्दकै भरमा भिडिओ तयार पार्न सक्छ । अर्थात् तपाईँँलाई कस्तो प्रकारको भिडिओ चाहिएको हो च्याटबक्समा टाइप गरेर दिएपछि उक्त टुलले तपाईँको लागि भिडिओ तयार गरिदिन्छ ।  

रनवेले वेबसाइटमार्फत भिडिओ एडिटिङ टुल पनि उपलब्ध गराएको छ । जसमा एआई मोडेलको प्रयोग गरी भिडिओको ब्याकग्राउन्ड हटाउने तथा पोज डिटेक्ट गर्ने सुविधा रहेका छन् । 'स्टेलब डिफ्युजन' तयार पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यस कम्पनीले फेब्रुअरी १ मा एआई भिडिओ एडिटिङ मोडेल (जेन वान) सार्वजनिक गरेको थियो ।

जेन वानले विशेषगरी पहिले भएका भिडिओ फुटेजलाई मिलाउने, थ्रीडी एनिमेसन गर्ने, एआईको प्रयोग गरेर विभिन्न भिडिओ क्लिप तयार पार्ने काम गर्छ । जेन वानको तुलनामा नयाँ मोडेल अर्थात् जेन टु एड्भान्स छ । 

यो विशेषगरी टेक्स्टका माध्यमबाट भिडिओ बनाउने कार्यमा केन्द्रित हुने कम्पनीले जनाएको छ । कुनै पनि भिडिओमा अतिरिक्त क्लिप राख्नका लागि यस टुलको सहयोग लिन सकिन्छ । 

विशेषगरी एनिमेटेड वा अन्य आर्टका भिडिओ आवश्यक परेको खण्डमा यस टुलले तयार पारेका भिडिओ प्रयोग गर्न सकिनेछ ।

कम्पनीले यो मोडेल यही हप्ता सार्वजनिक हुने जानकारी दिए पनि निश्चित मिति भने तोकेको छैन । यो मोडेल छिट्टै नै परीक्षण गर्न सकिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १६:३९