close

नेपाल लाइभको आधिकारिक पेजबाट मालवेयर लिङ्क फैलाउँदै ह्याकर

टेकपाना टेकपाना

चैत १८, २०७९ १८:१७

नेपाल लाइभको आधिकारिक पेजबाट मालवेयर लिङ्क फैलाउँदै ह्याकर

काठमाडौं । नेपाली अनलाइन न्युज पोर्टल नेपाल लाइभको आधिकारिक फेसबुक पेजबाट मालवेयर फैलाएको पाइएको छ । 

नायिका निशा अधिकारीको नाम प्रयोग गर्दै नेपाल लाइभको फेसबुक पेजबाट मालवेयको लिङ्क राखेर बुस्ट गरेको पाइएको हो । यसअघि अनलाइन खबरको आधिकारिक फेसबुक पेजबाट नायिका स्वस्तिमा खड्काको नाम प्रयोग भएको नक्कली समाचारको लिङ्क यसरी नै शेयर भएको थियो । 

उक्त मालवेयरको लिङ्क रिपोर्ट गरेर ब्लक भएपछि ह्याकरले रिब्रान्ड वेबसाइटको लिङ्कमार्फत यस्तो लिङ्क फैलाएको साइबर सुरक्षा जानकारले बताएका छन् । उता नेपाल लाइभले भने यस्तो पोस्ट आफूले नराखेको भन्दै स्पष्टीकरण दिएको छ ।

"यसअघि नेपाल लाइभको फेसबुक पेजबाट साझा गरिएको जस्तो देखिने गरि सामाजिक सञ्जाल फेसबुकमा असान्दर्भिक सामग्री प्रेषित भएको पाइएकाले उक्त सामग्री नेपाल लाइभबाट प्रेषित नभएको सम्पूर्ण पाठकवर्गमा जानकारी गराउँदछौं । साथै, त्यस्तो लिंकमा क्लिक गर्ने, लाइक गर्ने, कमेन्ट गर्ने वा कुनै किसिमको प्रतिक्रिया जनाउने कार्य नगर्न अनुरोध गर्दछौं ।" यस विषयसँग सम्बन्धित पोस्टमा लेखिएको छ । 

तर, यो पोस्ट आधिकारिक पेजबाट पोस्ट भएको देखिन्छ । ह्याकरले मालवेयर फैलाउन बुस्ट गरी राखेको पोस्ट टाइमलाइनमा देखिँदैन । त्यसैले पनि नेपाल लाइभलाई अन्य पेजबाट पोस्ट भएको भन्ने लागेको हुनसक्ने साइबर सुरक्षा जानकारले बताएका छन् ।

पछिल्लो समय नेपालमा यस्ता मालवेयर फैलाउने गतिविधि बढिरहेको छ । चर्चित मिडियाका फेसबुक पेजको एक्सेस लिएर मालवेयर फैलाउने काम भएको छ ।

साइबर सुरक्षा विश्लेषक विजय लिम्बूले यसरी नयाँ तरिकाले मालवेयर फैलिएको जानकारी दिएका हुन् । करिब एक महिना अघि अनलाइन खबरको आधिकारिक पेजबाट फैलाइएको लिङ्क नै नयाँ तरिकाले नक्कली पेजबाट फैलाएको उनको भनाइ छ ।

बुस्ट गरिएको उक्त पोस्टमा स्टिलर मालवेयर राखिएको उनले बताए । “विशेषगरी त्यो लिङ्कमा रहेको फाइलमा स्टिलर मालवेयर राखेको देखियो,” उनले टेकपानासँग भने, “फाइलमा क्लिक गर्ने प्रयोगकर्ताको मोबाइल तथा कम्प्युटरमा तत्कालै डाउनलोड भएर त्यसले सम्बन्धित ब्राउजरमा रहेको पासवर्ड, हिस्ट्री लगायतको सूचना तथा जानकारीमा पहुँच पाउने गरेको छ ।”

यसअघि फैलाइएको मालवेयरको गुगल ड्राइभ, इजी अपलोड वेबसाइटबाट फैलाइएको थियो । त्यस्ता लिङ्क डाउन भएपछि र प्रयोगकर्ताले त्यस्ता लिङ्कबारे जानकारी पाउन थालेपछि नयाँ तरिका अपनाएर मालवेयरको लिङ्क फैलाएको देखिएकोछ । यो मालवेयरको नयाँ भेरियन्ट भए पनि सोही व्यक्ति वा कम्पनीले फैलाएको उनी बताउँछन् ।

यस्ता मालवेयर तथा भाइरस युक्त लिङ्कबाट कसरी जोगिने ?

सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईँले सामाजिक सञ्जालमा देखिएका कुनै पनि लिङ्कलाई सुरुमै क्लिक नगर्नुहोस् । त्यो कसले किन राखेको हो भन्ने कुरा यकिन गरेर मात्र आवश्यक भएको खण्डमा उक्त लिङ्क खोल्नुहोस् ।

कुनै पनि लिङ्क क्लिक गर्नु अघि केही बेर रोकिएर मात्रै अगाडि बढ्नुपर्ने साइबर सुरक्षा विज्ञहरूले सल्लाह दिने गरेका छन् ।

आफूलाई आवश्यक नपरेको वा आफूसँग सम्बन्धित नभएका विषय सम्बन्धी आएका लिङ्कहरू सोझै अस्वीकार गर्नुहोस् । ह्याकरले राखेका पोस्टमा शब्द चयन तथा शुद्धाशुद्धि बिगारिएको देख्न सकिन्छ । यस्तोमा शुद्धाशुद्धि बिग्रिएका पोस्टलाई पनि शंका गर्न सकिन्छ ।

त्यसबाहेक पनि अझ विस्तृतमा जाने हो भने यही मालवेयरको कुरा गरौं । यहाँ पोस्टमा फोटो र भिडिओको कुरा गरिएको छ । तर, फाइल जपीईजी, पीएनजी, वेबपी, एमपी फोर फर्म्याटमा नभएर डटएएक्सई (.exe), डट आरएआर (.rar) फर्म्याटमा छ । त्यसैले यो लिङ्क मालवेयर भएको शंका गर्न सकिन्छ ।  

त्यसले कुनै पनि लिङ्क डाउनलोड गर्दा फाइल फर्म्याट ख्याल गर्नुपर्ने साइबर सुरक्षा जानकारहरू बताउँछन् । साथै तपाईँले कुनै फाइल डाउनलोड गर्नुभएको छ र त्यसले डिभाइसको पर्मिसन माग्न थाल्यो भने यस्तो अवस्थामा पनि शंका गर्न सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: चैत १८, २०७९ १८:१७