close

ठेलामा ९९ स्मार्टफोन बोकेर हिँडेका व्यक्तिले गुगल म्यापमा यसरी गरिदिएका थिए ट्राफिक जाम

टेकपाना टेकपाना

चैत २३, २०७९ १३:२०

ठेलामा ९९ स्मार्टफोन बोकेर हिँडेका व्यक्तिले गुगल म्यापमा यसरी गरिदिएका थिए ट्राफिक जाम

काठमाडौं । प्रविधि पनि त्यति धेरै विश्वासिलो छैन भन्ने कुरा केही वर्ष अघिको एउटा घटनाले पुष्टी गरेको थियो । एकजना व्यक्तिले ९९ ओटा फोन प्रयोग गरेर गुगल म्यापलाई नै उल्लू बनाइदिएका छन् ।

बर्लिनका एकजना कलाकार सिमोन वेकार्टले युट्युबमा एउटा भिडियो पोस्ट गरेका छन् । जसमा उनले गुगल म्याप ह्याक गरेर बर्लिनको एउटा सडकमा भर्चुअल ट्राफिक जाम गरिदिएका थिए ।

यसका लागि वेकार्टले गुगल म्याप चलिरहेका ९९ ओटा फोनलाई एउटा ठेलामा राखेका थिए । त्यसपछि उनले उक्त ठेलालाई बर्लिनका विभिन्न सडकमा घुमाए । उक्त ठेलालाई गुगलको कार्यालय बाहिर पनि डुलाइएको थियो ।

त्यसरी डुलाइएको ठेलामा रहेका फोनहरूले गुगल म्यापलाई नै झुक्याइ दिए । सबै फोन एउटै ठेलामा भएका कारण ट्राफिक जाम धेरै भएकाले गाडीहरू सुस्त हिँडिरहेको भन्ने भ्रममा गुगल म्याप पर्‍यो ।

परिणामस्वरूप नेभिगेसन एपले उक्त ठेला रहेको स्थानमा भर्चुअल ट्राफिक जाम देखाउन हरियो सडक सङ्केतलाई रातोमा बदलेको थियो । वेकार्टले पछि त्यस विषयमा एउटा ब्लग पनि लेखेका थिए ।

 

कसरी भयो त्यस्तो ?

गुगल म्यापले ट्राफिक जाम पत्ता लगाउन तथा गाडीको गति पत्ता लगाउन प्रयोगकर्ताको गुगल म्याप ब्राउजिङबाट निस्कने डेटा प्रयोग गर्छ । त्यहाँ देखिएको स्पिड, लोकेसन तथा अन्य क्राउडसोर्स डेटा र गुगलले निकालेको सडकको लाइभ ट्राफिक म्याप हेरेर ट्राफिक जामको अवस्था के छ भन्ने थाहा हुन्छ ।

वेकार्टले यसैको फाइदा उठाउँदै उक्त नेभिगेसन एपलाई झुक्याइदिएका थिए । परिणामस्वरूप उक्त रुट खाली हुँदा हुँदै पनि प्रयोगकर्ताले अन्य रुट प्रयोग गरेका थिए । 

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १४:४