close

७० को दशकमा नेपालको आईटी शिक्षा, उपलब्धि कि निराशा ?

सञ्जीवन राई सञ्जीवन राई

बैशाख १, २०८० ९:४६

७० को दशकमा नेपालको आईटी शिक्षा, उपलब्धि कि निराशा ?

काठमाडौं । आज २०८० को पहिलाे दिन । याेसँगै २०७० को दशकलाई हामीले बिट मारेका छाैँ । ७० काे दशकमा हरेक क्षेत्रमा धेरै परिवर्तन र उथपपुथल भए । विशेषगरी सूचना तथा सञ्चार प्रविधिकाे विकासले हरेक क्षेत्र छाेयाे ।

यसैबीच नेपालकाे शैक्षिक क्षेत्रले धेरै उतारचढाव पार गर्याे ।  विशेषगरी आईटीसम्बन्धी शैक्षिक कार्यक्रमकाे दायरा निकै फराकिलाे भयाे याे दशकमा । आईटी पढाउने विश्वविद्यालय/कलेज थपिए । फरक धार र विशिष्टिकृत पाठ्यक्रम आए । पुराना कोर्ष परिमार्जन गरिए ।

१० वर्ष अगाडि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालाय, पूर्वाञ्चल विश्वविद्यालयले सीमित आईटी कोर्ष मात्र सञ्चालन गरेका थिए । त्यसबाहेक केही विदेशी विश्वविद्यालयको कोर्ष सञ्चालमा थियो । तर अहिले नेपालमा स्वदेशी तथा विदेशी विश्वविद्यालयका गरी २५० बढी कलेजमा आईटीका विभिन्न काेर्ष सञ्चालनमा छन् ।

पछिल्लो समयमा आईटी कोर्ष थपिने क्रम जारी छ । विद्यार्थीहरू पनि यसप्रति आकर्षित हुँदै गइरहेका छन् । प्रविधिको युग भएकाले यसको आवश्यकता दिनानुदिन बढ्दै गइरहेको छ ।

विद्यार्थीको परियोजना, उद्योग र एकेडेमियाको अन्तर, नीतिको अभाव जस्ता चर्चा आईटी शिक्षामा भइरहने गर्छ । त्यस्तै सरोकारवालाहरू आईटी शिक्षालाई सरकारले प्राथमिकतामा नराखेको बताउँछन् ।

आईटी शिक्षाको रूपमा यो दशकलाई त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डीन प्रा. डा. शशीधरराम जोशी ‘प्याराडाइम शिफ्ट’ को रुपमा लिन्छन् ।

कोरोना महामारीका बेला विद्यार्थी परियोजना निर्माणमा समस्या आएपनि अरु समय त्यस्तो केही नभएको उनको अनुभव छ । बरु क्वान्टम प्रोग्रामिङ, मसिन लर्निङ, बिग लर्निङ जस्ता नयाँ विषय बारे पनि इन्जिनियरिङ सङ्कायले यही दशकबाट अध्यापन गराउन थालेको उनी सुनाउँछन् ।

यता काठमाडौं विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका डीन प्रा. डा. मनिष पोखरेल अन्तर्राष्ट्रिय रुपमा आईटी शिक्षामा धेरै काम हुँदा नेपालमा भने त्यति नभएको बताउँछन् । जति गर्न सकिन्थ्यो त्यति नभएको उनकाे बुझाइ छ ।

“एसिया प्यासिक क्षेत्रमा आईटी शिक्षालाई उच्च प्राथमिकतामा राखिएको छ । हाम्रा छिमेकी देश चीन र भारतले आईसीटी शिक्षा र एआईका नीतिहरू यही दशकमा बनाए,” उनी भन्छन्, “तर हामीले त्यो बनाउन सकिरहेका छैनौं । यद्यपि दशकको अन्तिमतिर फैलिएको कोरोना महामारीले सबै क्षेत्रलाई असर पारेपनि आईटी शिक्षामा सकारात्मक पाठ देखायो ।”

पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डीन प्राध्यापक ई. देवी भट्टराई भने यो दशकमा आईटी शिक्षामा युगान्तकारी परिवर्तन भएको बताउँछन् ।

यो दशकमा प्रविधिले विद्यार्थीलाई अन्तर्राष्ट्रिय समूदायमा जोडिन सहयोग गरेको उनको बुझाइ छ । विद्यार्थीले अहिलेको आवश्यकता प्रविधि भएको थाहा पाएकाले यो दशकमा आईटी शिक्षाको महत्त्व बढेको उनी धारणा राख्छन् ।

त्यस्तै विद्यालय तहबाट नै प्रविधिक शिक्षा दिनुपर्छ भन्ने सोच/विचार यसै दशकबाट अझ फस्टाएको नेपाल खुल्ला विश्वविद्यालयका स्कुल अफ टेक्नोलोजीका प्रमुख सह-प्राध्यापक डा. भोजराज घिमिरे बताउँछन् ।

तर शिक्षा क्षेत्रको छुट्टै डेटा सेन्टरको कुरा धेरै पहिले देखि उठाए पनि त्यो हुन नसकेको उनको गुनासो छ । त्यो काम गर्न भने यो दशकमा हामी चुकेको उनको बुझाइ  छ । 

विदेशी विश्वविद्यालयका कोर्ष

अहिले देशमा ए लेभल सहित ८७ ओटा कलेजमा विदेशी विश्वविद्यायका कोर्ष सञ्चालनमा छ । यसरी हेर्दा हरेक वर्ष विदेशी विश्वविद्यालयका कोर्षहरू थपिइरहेको देख्न सकिन्छ ।

त्यसरी नेपालमा विदेशी विश्वविद्यालयका कोर्षको आउनु भनेको राम्रो भएको प्रा. डा. पोखरेल सुनाउँछन् ।  त्यसले नेपाली विश्वविद्यालयलाई अझ राम्रो बनाउन भूमिका खेल्ने उनको बुझाइ छ । तर त्यसको गुणस्तर मापनकाे काम भने गर्नुपर्ने उनी बताउँछन् ।

अनलाइन लर्निङ

यो दशकमा चर्चामा रहेको विषय अनलाइन लर्निङ पनि हो । दशकको उत्तरार्ध तिर कोरोना महामारीले विद्यालय बन्द भए । त्यो समयमा शैक्षिक सत्र एक वर्ष रोक्नुपर्ने वा जसरी पनि विद्यालय सञ्चालन गर्नुपर्ने दोधारे अवस्था थियो ।

त्यसै समयमा जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्स जस्ता अनलाइन मिटिङ टुल निकै प्रयोग गरिए । ती टुललाई शिक्षणमा निकै प्रयोग गरिए । हुन त धेरै अगाडि नै अनलाइन कक्षा चर्चामा थियो । यद्यपि यस दशकमा आवश्यकताले गर्दा यसको महत्त्व झनै बढ्यो ।

कोरोनाअघि पनि विश्वमा मिश्रित (अनलाइन र भौतिक दुवै) विधि मार्फत अध्यापन गराइन्थ्यो । तर नेपालमा भने यो दशकमा मात्रै यसको व्यापाक प्रयोग भयो । अनलाइन माध्यमबाट दूरदराजका विद्यार्थीहरूलाई पनि शिक्षा दिन यही दशकमा नेपाल खुला विश्वविद्यालयको स्थापना गरियो ।

त्योसँगै कोभिड महामारीपछि विश्वविद्यालय बाहेक विद्यालयहरूले समेत आईसीटी पूर्वाधारमा खर्च रकम बढाइरहेको बताउँछन् खुला विश्वविद्यालयका सह-प्राध्यापक डा. घिमिरे । उनी कलेज तथा विद्यालयहरूले सिकाइ सामग्रीको व्यवस्थापन वा वितरण गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोग यो दशकमा उल्लेख्य मात्रामा बढेको बताउँछन् ।

उद्योग र एकेडेमिया

दश वर्ष अगाडिको तुलनामा अहिले थुप्रै आईटी कलेज र उद्योग थपिएका छन् । यसैले यी दुईको सम्बन्धबारे चर्चा भइरहने गर्छ । जसमा ‘एकेडेमिया र उद्योगको अन्तर’ प्रमुख हो ।

तर प्राध्यापक डा. सुवर्ण शाक्य यो दशकमा यसको अन्तर निकै कम भएको बताउँछन् । कोर्षमा हुने इन्टर्नशिपको व्यवस्थाले अन्तर धेरै कम भएको उनको भनाइ छ ।

“अहिले कलेजले उद्योगसँग विद्यार्थीको इन्टर्नशिपका लागि सम्झौता गर्ने गरेका छन्,” उनी भन्छन्, “यो कुराले गर्दा इन्टर्नशिपको आवश्यकता र महत्त्व दुवै बढिरहेको छ । नतिजा स्वरुप उद्योग र एकेडेमियाको अन्तर कम हुँदै गएको छ ।”

त्यस्तै यो दशकमा उद्योग र एकेडेमियाको अन्तर कम गर्न स्वयं दुवै पक्ष अग्रसर भए । विभिन्न आईटी कलेजले प्रविधि कम्पनीसँग सहकार्य गर्ने र प्रविधि कम्पनी कलेज जाने काम भए ।

परिमार्जित पाठ्यक्रम

नेपालमा आईटी शिक्षाको कुरा गर्दा पाठ्यक्रम परिमार्जन भएन भन्ने भनाइ व्याप्त छ । तर यो दशकमा नेपाली विश्वविद्यालयहरूले आईटीको विषय संसोधन वा परिमार्जन गर्ने काम गरे । पोखरा विश्वविद्यालयले यही दशकमा इन्टर्नशिपसहितको नयाँ पाठ्यक्रम लागू गर्‍याे ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो ‘इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन’ कोर्षलाई संसोधन गर्दै ‘इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ’ बनायो ।

यस कोर्षमा आईटीको विषय थपेकाले विद्यार्थीलाई प्रविधि बुझ्न सहयोगी हुने विश्वविद्यालयका डीन प्राध्यापक ई. भट्टराई सुनाउँछन् । योसँगै अब थप विषयहरू संसोधन गर्ने तयारीमा विश्वविद्यालय रहेको उनको भनाइ छ ।

नयाँ पाठ्यक्रम

७० काे दशकमा नेपाली विश्वविद्यालयले आईटीका थुप्रै नयाँ पाठ्यक्रम थपे । देशको जेठो त्रिभुवन विश्वविद्यालयले मास्टर इन इन्फर्मेसन टेक्नोलोजी (एमआईटी), मास्टर इन डेटा साइन्स, ब्याचलर्स ईन इन्फर्मेसन टेक्नाेलाेजी (बीआईटी) जस्ता कोर्षको अध्यापन थाल्यो ।

काठमाडौं विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्सका कोर्षहरू स्नातकोत्तर र स्नातक तहमा थप्यो । त्यस्तै मास्टर इन हेल्थ इन्फरम्याटिक्स, बीएससी ईन बायोइन्फर्मेटिक्स जस्ता नयाँ कोर्षहरूको अध्यापन यस विश्वविद्यालयले सुरु गर्‍याे ।

विशेष पाठ्यक्रम

आईटी कोर्षमा हुने कुनै एउटा विषयलाई यो दशकमा एउटा पाठ्यक्रममा नै परिवर्तन गर्ने काम भए । जस्तो: पहिले ‘डेटा साइन्स’ पाठ्यक्रममा भएको एउटा विषय मात्र थियो ।

तर यो दशकमा विश्वविद्यालयले विशेष शैक्षिक कार्यक्रमका रुपमा यसको अध्यापन गराउन थाले । विदेशी विश्वविद्यालयका ‘स्पेसलाइज्ड कोर्ष’ नेपालमा पढाइ हुनुले पनि त्यस्तो भएको हो । यो दशकमा ‘जेनेरल’ भन्दा पनि ‘स्पेसलाइज्ड कोर्ष’को अध्यापन गराउने काम को सुरु भयो ।

विद्यालयमा आईसीटीको प्रयोग

अध्यापनमा होस् या विद्यालयको काम व्यवस्थित गर्न, यो दशकमा विद्यालयले आईसीटीको प्रयोगलाई निकै बढाए । नेपाल सरकारले पनि विद्यालयमा आईसीटीको प्रयोग बढाउन ई-लाइब्रेरी स्थापना जस्ता कार्यक्रमहरू ल्याए ।

योसँगै केही स्थानीय पालिकाले विद्यालय व्यवस्थापनका लागि प्रविधिको नयाँ प्रयोग थाले । ‘स्कुल म्यानेजमेन्ट सफ्टवेयर’हरूको प्रयोगबाट विद्यार्थीको प्रगति विवरण ट्र्याक गर्ने, स्वत: हाजिरी गर्ने, विद्यार्थीको गतिविधिबारे अभिभावकलाई जानकारी दिने जस्ता काम यो दशकमा सुरु भयो ।

आईटी शिक्षामा विद्यार्थीको चासो

नेपालमा अहिले आईटी अध्ययन गर्न विभिन्न विकल्प छन् । आईटी शिक्षा विद्यालय तहदेखि नै सुरु हुन्छ । जस्तो: विद्यालय तहमा अनिवार्य कम्प्युटर विषय छ । कक्षा ११/१२, ए लेभल, सीटीईभीटी, स्नातक, स्नातकोत्तर सबै तहमा आईटीका कोर्ष छन् ।

अझ विश्वविद्यालयको विज्ञान, प्रविधि तथा इन्जिनियरिङ सङ्काय बाहेक अन्य संकायहरूले पनि आईटी शिक्षा सुरु गरेका छन् । यी सबै परिप्रेक्ष्यमा नेपालमा आईटी शिक्षाप्रति विद्यार्थीको रुचि बढेको पाइन्छ ।

पोखरा विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका पूर्व निर्देशक ई. अर्जुन गौतम दशकको सुरुतिर सिभिल इन्जिनियरिङमा धेरै विद्यार्थीको चासो भएपनि अन्ततिर कम्प्युटर वा आईटीका विषयमा बढेको बताउँछन् । त्यसैले अब आउँदो दशकमा पोखरा विश्वविद्यालयले प्रविधिका नयाँ पाठ्यक्रम थप्ने उनको भनाइ छ ।

नीतिगत समस्या

आईटी शिक्षामा यो दशकमा जति गर्न सकिन्थ्यो, त्यति गर्न नसकेको यसै क्षेत्रका सराेकारवाला स्वीकार्छन् । सधैं चर्चा भएपनि नीति निर्माण तह कमजाेर देखियाे । यसले गर्दा नयाँ विषयको अध्यापन गराउन अफ्ठ्यारो हुने उनीहरूकाे मत छ । 

“आईटी शिक्षासँग सम्बन्धित नीतिको अभाव छ । स्पष्ट नीति नभइकन शिक्षामा परिवर्तन आउन सक्दैन,” प्राध्यापक डा. सुवर्ण शाक्य भन्छन्, “कुनै पनि कुरा गर्नुभन्दा अगाडि नीति भए काम गर्न सजिलो हुन्छ ।  यसमा सरकार लाग्नुपर्छ ।”

त्यस्तै उनको कुरामा काठमाडौं विश्वविद्यालयका डीन प्रा. डा. पोखरेल पनि सहमत देखिन्छन् । उनी नीति अभावका कारण आफूहरूले एआईको कोर्ष सञ्चालमा समस्या झेलेको बताउँछन् ।

“अहिले नेपालमा एआईलाई कसरी लाने, यसको पूर्वाधार कसरी बनाउने भन्ने बहस सतहमा आएको छैन,” उनी अगाडि भन्छन्, “एआई शिक्षालाई बढाउनुपर्छ भनेर शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, नास्टमा जाँदा उहाँहरूले सुन्नुभयो । तर नीति नहुँदा कार्यान्वयनमा समस्या भयो । हामीले फुटबल खेलाडी राम्रो बनायौं, तर खेल्ने ठाउँ नै छैन ।”

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डीन प्रा. ई. ‍भट्टराई नयाँ प्रविधिहरूको अध्यापन गराउँदा नीति समस्याको रुपमा आएको सुनाउँछन् । “केही नियम संसोधन र केही नयाँ बनाउनुपर्ने आवश्यकता रहेको छ,” उनी भन्छन्, “यो दशकमा त्यसको अभाव महसुस भयो । अब त्यसको समाधान गरिनुपर्छ ।”

पछिल्लो अध्यावधिक: बैशाख १, २०८० ९:४६