close

फाइल ब्याकअपका लागि क्लाउड स्टोरेजको प्रयोग कत्तिको सुरक्षित ?

टेकपाना टेकपाना

बैशाख ११, २०८० १६:५३

फाइल ब्याकअपका लागि क्लाउड स्टोरेजको प्रयोग कत्तिको सुरक्षित ?

काठमाडौं । तपाईँले अहिले पढिरहेको जुन लेख छ, त्यो कुनै अनकन्टार ठाउँको डेटा सेन्टरमा राखिएको छ । जसलाई तपाईँले इन्टरनेको सहायताले पढ्न पाइरहनु भएको छ ।

तपाईँले युट्युबमार्फत हेरेका भिडिओ, म्युजिक प्लेटफर्ममा सुनिरहेका गीत, वा फेसबुकमा देखेका फोटोहरू यी सबै कन्टेन्ट कुनै डेटा सेन्टरको सर्भरमा भण्डारण भएका हुन्छन् । यही डेटा सेन्टर र सर्भरलाई नै क्लाउड स्टोरेज भनिन्छ ।

यस्ता डेटा सर्भरमा भण्डारण भएका कन्टेन्ट इन्टरनेटको सहायताले तपाईँको मोबाइल वा कम्प्युटरसम्म पुगेका हुन्छन् । इन्टरनेटमा भेटिने जति पनि डेटा छन्, ती सबै यस्तै डेटा सर्भरमा भण्डारण भएका हुन्छन् । त्यसैले तपाईं इन्टनरेटमा जोडिँदा जतिबेला चाह्यो, त्यतिबेला आफ्ना डेटामा पहुँच पाउन सक्नुहुन्छ ।

सर्वसाधारण मानिसदेखि ठूला-ठूला कम्पनी तथा संस्थाहरू आफ्नो डेटा यस्तै क्लाउड स्टोरेजमा भण्डारण गर्छन् । कम्पनीका आधाभन्दा बढी डेटा यस्तै क्लाउड स्टोरेजमा भण्डारण भएका हुन्छन् । र, पछिल्लो समय क्लाउड स्टोरेजमा कम्पनीको निर्भरता बढ्दै गइरहेको पनि छ ।

डिभाइसमा मेमोरीको स्पेस कम हुँदै जाँदा पैसा तिरेर वा निःशुल्क तपाईँ आफ्ना डेटा क्लाउड स्टोरेजमा भण्डारण गर्न सक्नुहुन्छ । त्यसका लागि गुगलको ड्राइभ, एप्पलको आईक्लाउड, माइक्रोसफ्टको वनड्राइभ क्लाउड स्टोरेजका मुख्य उदाहरण हुन्, जहाँ हामी हाम्रा फाइलहरू भण्डारण गर्न सक्छौं ।

क्लाउड स्टोरेजमा राखिएका यस्ता डेटा जतिबेला आवश्यक पर्‍यो, त्यतिबेला इन्टरनेटमार्फत प्रयोग गर्न सकिन्छ ।

२५ जनवरी २०२३ मा माइक्रोसफ्ट कम्पनीका कैयौं क्लाउड सेवा करिब ९० मिनेटसम्म बन्द भएका थिए । यसले गर्दा संसारभरका विभिन्न कम्पनी तथा संघसंस्थाको सेवा र ग्राहकको अवस्था अस्तव्यस्त बन्यो ।

पछि क्लाउड डेटाको सर्भरमा समस्या आउँदा सर्भर बन्द भएको रहेछ भन्ने पत्ता लाग्यो । कतिपय जनमानसमा के प्रश्न उब्जिरहेको हुन्छ भने जसरी हाम्रो डिभाइसको स्टोरेज फुल हुन्छ, त्यसरी नै के क्लाउडको स्टोरेज पनि फुल हुन्छ ? वा क्लाउड सर्भरमा पनि स्टोरेजको अभाव हुन सक्छ ? आज हामी यिनै विषयमा चर्चा गर्दैछौं ।

क्लाउड स्टोरेज भनेको के हो ?

सन् १९६० को दशकसम्म इन्टरनेटको अवधारणा आइसकेको थिएन । त्यसबेला कम्प्युटरको प्रयोग नौलो काम थियो । मानिसहरू आफ्ना डेटा वा फाइल फ्लोपी डिस्क, सीडी वा अन्य स्टोरेज डिभाइसमा भण्डारण गर्ने गर्थे । यस्ता डिभाइसलाई कम्प्युटरमा राख्दा सहजै आफूले भण्डारण गरेका डेटामा पहुँच पाउन सकिन्थ्यो ।

सन् १९६० को दशकमा इन्टरनेटको सुरुवात भयो । त्यसपछि प्रविधि थप विकसित हुँदै गयो । प्रविधिको विकाससँगै मानिसहरूले आफ्ना फाइलहरू कम्प्युटरभन्दा बाहिर भण्डारण गर्न थाले । त्यसपछि क्लाउड स्टोरेजको अवधारणा सुरु भयो ।

क्लाउड स्टोरेज भनेको एउटा यस्तो सेवा हो, जसले प्रयोगकर्तालाई थर्ड पार्टी प्रोभाइडरद्वारा राखिएको रिमोट सर्भर प्रयोग गरेर इन्टरनेटमा आफ्नो डेटा भण्डारण गर्न, पहुँच पाउन र शेयर गर्ने अनुमति दिन्छ ।

प्रयोगकर्ताले आफ्नो डेटा जस्तै; कागजात, फोटो, भिडिओ र सङ्गीत इन्टरनेटमा जडान गरिएको कुनै पनि उपकरणबाट प्रयोग गर्न सक्छन् । यसका लागि भौतिक यूएसबी वा स्टोरेज भण्डारण गर्ने उपकरणको आवश्यकता पर्दैन ।

सन् १९६० को दशकमा मेन फ्रेम कम्प्युटरमा रिमोट एक्सेसको प्रयोग सुरु हुँदा क्लाउड स्टोरेजको वास्तविक अवधारणा आएको मानिन्छ । यद्यपि आधुनिक क्लाउड स्टोरेजको अवधारणामा भने डेटा भण्डारण गर्ने र इन्टरनेटको प्रयोग गरी पहुँच पाउने पाउने विषयमा सम्बन्धित छ ।

सन् १९९० को दशकदेखि सन् २००० सम्म इन्टरनेटका क्षेत्रमा महत्त्वपूर्ण विकासका काम अघि बढेका थिए । त्यसको छ वर्षपछि अर्थात् सन् २००६ मा अमेजनले अमेजन वेब सर्भिस (एडब्लुएस) को क्लाउड स्टोरेज सेवा दिन सुरु गरेको थियो ।

यस्तो सेवाले मानिसहरू तथा व्यवसायलाई क्लाउडमा आधारित स्टोरेज र कम्प्युटिङ सेवा दिन थाल्यो । पछि अन्य कम्पनीजस्तै; माइक्रोसफ्ट, गुगल र ड्रपबक्सले क्लाउड स्टोरेजको सेवा सुरु गरेका थिए ।

आजका दिनमा क्लाउड स्टोरेज मानिसको अभिन्न हिस्सा बनेको छ । एउटा टेबलमा राखेको कम्प्युटरले यही क्लाउड स्टोरेज र इन्टरनेट कनेक्सनको सहायताले विश्वका जुनसुकै सर्भरमा भएका डेटामा सहजै पहुँच पाउन सकिन्छ ।

यही क्लाउड स्टोरेजको कारणले पनि एउटा डिभाइसबाट अर्को डिभाइसमा डेटा आदानप्रदान गर्न सम्भव भएको हो ।

कम्पनीहरूले आफ्नो डेटा सर्भर यस्तो ठाउँमा राख्न थाले, जहाँ जग्गाको भाडा सस्तो पर्छ । उनीहरूले यी सबै कुराहरू व्यवस्थापन गरी ठूलो डेटा सेन्टर तयार पारे । यो डेटा सेन्टर यति ठूलो थियो कि, जसमा कम्पनीको डेटामात्र नभई बाहिर डेटा भण्डारण गर्ने क्षमता थियो ।

यसरी बाँकी भएको स्टोरेज यत्तिकै खेर जान दिनुभन्दा अन्य कम्पनीलाई भाडामा दिनेतर्फ कम्पनीहरू केन्द्रित भए । जब त्यस्ता कम्पनीले आफ्नो क्लाउड स्टोरेज अन्य कम्पनीलाई बिक्री गर्न वा भाडामा दिन थाले, त्यहीँबाट क्लाउड स्टोरेजको सुरुवात भएको विश्लेषकले बताएका छन् ।

यसरी क्लाउड स्टोरेज बिक्री गर्ने कम्पनीलाई क्लाउड स्टोरेज प्रदायक वा हाइपरस्किलर भन्ने गरिन्छ ।

यस्ता कम्पनीले संसारका विभिन्न भागमा आफ्नो डेटा सेन्टर निर्माण गर्छन् र आवश्यक पर्ने कम्पनी, संस्था वा व्यक्तिलाई क्लाउड स्टोरेज बिक्री  गर्ने वा भाडामा दिने गर्छन् ।

सुरुवातमै हामीलाई कति कम्प्युटिङ पावर वा डेटा स्टोरेजको आवश्यकता पर्छ भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन्छ । हामीलाई व्यक्तिगत रूपमा डेटा सेन्टर बनाउनु पर्यो भने यस्ता क्षमतालाई कम समयमा आवश्यकता अनुसार बढाउँदै लग्नुपर्ने हुन्छ । यसका लागि शक्तिशाली कम्प्युटिङ पावर भएको कम्प्यटर डिभाइस खरिद गर्नुपर्छ ।

सफ्टवेयर तथा कम्प्युटर डिभाइस खरिद गरेर प्रयोग गर्न लाग्दा धेरै समय र खर्च लाग्छ । तर, यसको विकल्पमा क्लाउड स्टोरेज प्रदायक वा हाइपरस्किलरलाई कम शुल्क दिएर स्टोरेज खरिद गर्न सहज हुन्छ ।

क्लाउड कम्पनी

माइक्रोसफ्ट, गुगल र अमेजन यी तीन प्रमुख क्लाउड कम्पनी हुन् । संसारको कूल क्लाउड कम्पनीले गर्ने आम्दानीको ७५ प्रतिशत हिस्सा अमेजनको वेब सर्भिसले पाउने गरेको छ । यसको अर्थ यी तीन प्रमुख कम्पनीमा अमेजन क्लाउड स्टोरेजको सन्दर्भमा सबैभन्दा ठूलो कम्पनी हो ।

तपाईंलाई याद होला अमेजनले सन् १९९५ मा इन्टरनेटका माध्यमबाट पुस्तक बिक्री गर्न सुरु गरेको थियो । पछि अमेजन विस्तार हुँदै जाँदा कम्पनीले आफ्ना उत्पादनको दायरा पनि बढाउँदै लग्यो ।

यी कामका लागि कम्पनीले ठूलो डेटा सेन्टर बनायो । पछि यस्ता डेटा सेन्टरमा बढी भएको स्टोरेजलाई कम्पनीले बिक्री गर्न थाल्यो ।

अमेजनको सफलतालाई देखिरहेका अन्य कम्पनीले पनि त्यस्तै व्यवसाय सुरु गर्नेबारे सोच्न थाले । र, त्यही अनुसार डेटा सेन्टर सञ्चालन गरे  । पछि अमेजनको डेटा सेन्टरमा स्पेस भाडामा दिने व्यवसाय यति सफल भयो कि, कालान्तरमा अमेजनलाई यही व्यवसायले सफल बनाउँदै लग्यो ।

सिलिकन भ्याल्लीको दोस्रो कम्पनी गुगल पनि यो काममा पछि परेन । गुगलले पनि क्लाउड सेवाको बजारमा राम्रो हिस्सा पाइरहेको छ । त्यसैगरी माइक्रोसफ्ट पनि ईमेल र अन्य इन्टरनेट सेवा दिइरहेको थियो । त्यसैले कतिपय कम्पनीले क्लाउड सेवाका लागि माइक्रोसफ्ट रोजे भने कतिपयले गुगल ।

अधिकांश मानिसहरूले आफ्ना काम इन्टरनेटबाट गर्दै जाँदा क्लाउड सेवाको महत्त्व पनि बढ्दै गयो । जसले गर्दा यस्तो सेवाको दायरा पनि विस्तार हुँदै गइरहेको छ । तर, यसका लागि पूर्वाधार बनाउन धेरै समय र संसाधन आवश्यक पर्ने गर्छ ।

जुन देशले दूरसञ्चारका प्रविधि क्षेत्रमा बढी लगानी गरेका छन् वा जुन देशमा यस्ता प्रविधिमा काम गर्ने जनशक्ति धेरै छन्, त्यस्ता देशले विकासमा फड्को मारेको विभिन्न अध्ययनले देखाएका छन् । र, जुन देशको सरकारले यस्ता प्रविधिलाई प्राथमिकता दिएका छन्, त्यस्ता देशका जनशक्ति पनि यो क्षेत्रमा दक्ष बन्दै गइरहेका छन् ।

अहिले ठूला कम्पनीलाई आफ्नो कम्प्युटिङ क्षमता बढाउन पहिलेको तुलनामा बढी सहज र सस्तो पर्छ । तर पनि एउटा प्रश्न गम्भीर रूपमा उठ्ने गर्छ, त्यो के भने जुन डेटा यी कम्पनीहरू क्लाउडमा भण्डारण गर्छन्, के सधैं ती डेटा सजिलै उपलब्ध हुन्छन् ? वा के सधैं यस्ता डेटा सुरक्षित हुन्छन् ?

सुरक्षा

क्लाउड डेटा स्टोरेजका फाइदा त छँदैछन् । तर के फाइदालाई मात्र हेरेर डेटा सुरक्षाको विषयलाई नजरअन्दाज गर्न सकिन्छ ? विज्ञहरूले सर्वसाधारणलाई जुनसुकै डेटा सर्भरमा वा क्लाउड सेवा प्रदायकमा आफ्नो डेटा भण्डारण नगर्न सुझाव दिएका छन् ।

किनभने कम्पनी अनुसार उनीहरूले सुरक्षालाई कत्तिको प्राथमिकता दिएका छन्, डेटा गोपनीयताको विषयमा कति गम्भीर छन् भन्ने विषय अगाडि आउँछन् ।

हामीले त्यस्ता डेटामात्र क्लाउड स्टोरेजमा राख्नुपर्छ, जसलाई त्यहाँ राख्न आवश्यक पर्छ । कतिपय देशमा प्रयोगकर्ताको डेटालाई लिएर कडा कानूनहरू पनि बनेका छन् ।

सन् २०१८ मा डेटा प्राइभेसीका बारेमा युरोपेली संघद्वारा बनाइएको जीडीपीआर कानून यस सन्दर्भमा निकै कडा छ । युरोप वा युरोपभन्दा बाहिरका कम्पनीले सामान्य प्रयोगकर्ताका निजी डेटा कसरी प्रयोग गर्न सक्छन् भन्ने कुरालाई यस कानूनले तय गरेको हुन्छ ।

संसारका हरेक क्षेत्रमा डेटा सेन्टर बनेका छन्, जसले त्यस क्षेत्रका डेटा प्राइभेसीको कानून पालना गरेका हुन्छन् । तर, एउटा क्षेत्रका प्रयोगकर्ताको डेटा अर्को क्षेत्रका कम्पनी वा व्यक्तिको हात लाग्दा त्यसमा पक्कै पनि जोखिम हुन्छन् । यसले गर्दा डेटाको दुरुपयोग भएको हुनसक्छ ।

यसको अर्थ एउटा सीमित क्षेत्रका प्रयोगकर्ताको डेटा त्यही क्षेत्रमा भण्डारण हुनुपर्छ । तर, यति गर्दैमा समस्याको समाधान हुन्छ भन्ने पनि हुँदैन । सन् २०२१ को अन्तिममा अमेजन वेब सर्भिस कैयौं पटक केही समयका लागि बन्द भएको थियो ।

७ डिसेम्बर २०२१ मा कम्पनीले भर्जिनियामा राखेको एउटा सफ्टवेयरमा समस्या आयो । जसको कारण अमेजनको वेब सर्भिस बन्द भएको थियो ।

रिपोर्टका अनुसार कैयौं क्षेत्रमा अमेजनको डेलिभरी सेवाका साथै डिज्नी इन्टरटेन्मेन्ट, नेटफ्लिक्स जस्ता कैयौं वेबसाइट पनि ठप्प भएका थिए । कम्पनीले यस्ता समस्या बारम्बार आउन नदिन आफ्नो डेटा सेन्टरमा अरबौं डलर लगानी गर्ने प्रतिबद्धता दिएको थियो ।

त्यसपछि अर्को प्रश्न सिर्जना हुन्छ । जब यी डेटा एउटा ठाउँबाट अर्को ठाउँमा पुर्‍याइन्छ, त्यस्तो अवस्थामा के कस्ता जोखिम देखिन्छ ? साथै यो काम थालिँदा कतै डेटा गलत मान्छेको हात त पर्दैनन् ?

एडिनबरा नेपियर यनिभर्सिटीका प्रोफेसर बिल बुकेनन् भन्छन्, "डेटा एउटा ठाउँबाट अर्को ठाउँमा लैजाँदा पक्कै पनि जोखिम हुन्छन् । विशेषगरी डेटा गलत मान्छेको हातमा पर्ने जोखिम धेरै हुन्छ । तर, यस्तो घटना भएको थाहा पाउन भने धेरै समय लाग्छ ।

इन्टरनेट स्वचालित ढङ्गले काम गरिरहेको हुन्छ । इन्टरनेट सुरुवात गर्ने समयमा यस्ता कुरालाई ख्याल गरिएको थिएन । यदि आजका दिनमा इन्टरनेट बनाइएको भए त्यसको स्वरूप विल्कुलै फरक हुने थियो ।"

जसरी क्लाउडको प्रयोग बढ्दै गइरहेको छ र डेटा मुख्य ठाउँमा नभएर अन्तै कतै टाढाको डेटा सेन्टरमा भण्डारण भएको छ, यस्तोमा आवश्यक परेको अवस्थामा डेटा फेला नपर्ने बुकेननको भनाइ छ ।

बुकेनन् अगाडि भन्छन्, "अहिले हामी सुरक्षाका दृष्टिकोणबाट अत्यावश्यक डेटा पनि सार्वजनिक क्लाउडमा भण्डारण गर्न थालेका छौँ । जस्तै विमान नियन्त्रणसम्बन्धी डेटा, सैनिक संस्थाको डेटा । यो खतरनाक नहोला भन्न सकिँदैन । किनभने जहाज आकाशबाट झर्न सक्छ । जसले गर्दा मानिसको निधन हुनसक्छ । विमानको गति रोकिन सक्छ । त्यसैले संस्थाहरूले के सोच्न जरुरी छ भने यदि उनीहरू यस्ता संवेदनशील डेटा सार्वजनिक क्लाउडमा भण्डारण गरिरहेका छन् भने उनीहरूले यसका जोखिम के हुन्छन् वा त्यसबाट कसरी मुक्त पाउन सकिन्छ भन्ने उपायका बारेमा सोचेको हुनुपर्छ ।"  

त्यस्तै अमेजनजस्तो डेटा भण्डारण गर्ने कम्पनी बन्द भयो भने त्यहाँ भएका डेटा अन्य क्षेत्रमा कसरी लग्न सकिन्छ ? संसारको दुई तिहाइ भू-भाग डिजिटलाइज भइसकेको छ । र, डेटाको सङ्ख्या दिनानुदिन बढ्दो छ ।

यदि ईमेलको नै कुरा गर्ने हो भने पनि हरेक दिन ३०० अर्ब ईमेल आदानप्रदान हुन्छ । यो सबै कुरा डिजिटलाइज त छ, तर सबै अवस्थामा यसको फाइदा भइरहेको छ भन्ने चाहिँ छैन । डेटा सेन्टरले वातावरणमा प्रतिकूल प्रभाव पारेको हुन्छ ।

के क्लाउड पर्यावरणका लागि राम्रो छ ?

लुन्ड युनिभर्सिटी स्वीडेनकी प्रोफेसर एमा फिट्जेराल्डका अनुसार पृथ्वीमा हुने कूल कार्बन उत्सर्जनको तीन प्रतिशत क्लाउड कम्प्युटिङ तथा स्टोरेजका कारणले हुन्छ । यसबाट त्यति नै कार्बन उत्सर्जन हुन्छ, जति व्यावसायिक विमानबाट उत्सर्जन हुन्छ ।

"कम्प्युटर बिजुलीको सहायताले चल्छ । यसबाट ताप पनि उत्पन्न हुन्छ । त्यस्तै गर्मी हुने वातावरणमा कम्प्युटर डिभाइस बिग्रिन सक्छन् । त्यसैले यस्ता डिभाइसलाई चिसो बनाएर राख्न आवश्यक हुन्छ । यदि यस्ता उपकरणलाई सञ्चालन गर्न बिजुली र चिसो बनाउन आवश्यक ऊर्जाको हिसाब गर्ने हो भने यसले पर्यावरणमा नकारात्मक असर पार्छ । 

यदि डेटा सेन्टरमा बिजुली पर्‍याउन सकिएन भने त्यसमा ब्याकअपको आवश्यक पनि पर्छ । यस्तोमा ब्याकअपका लागि जेनेरेटर राख्नुपर्ने हुन्छ । जेनेरेटरद्वारा बिजुली उत्पादन गर्न त्यसमा डिजेल प्रयोग गर्नुपर्छ । यस्तोमा डिजेलले कार्बन उत्सर्जन बढी गर्छ । 

डेटा सेन्टरलाई निरन्तर चलायमान राख्न आवश्यक पर्छ । त्यसका लागि आवश्यक ब्याकअपको व्यवस्था गर्दा बिजुलीको तुलनामा ब्याकअपले पर्यावरणमा पार्ने प्रभाव बढी हुन्छ । 

डेटा सेन्टर कम्पनी पनि आफ्नो बिजुलीको बिल कम आओस् भन्ने मान्यता राख्छन् । त्यसका लागि कम्पनी यस्तो ठाउँमा डेटा सेन्टर बनाउन खोज्छन्, जहाँको तापक्रम कम होस् । सामाजिक सञ्जालको कम्पनी फेसबुकले आफ्नो डेटा सेन्टर उत्तरी स्वीडेनमा राखेको छ ।

उक्त क्षेत्रमा चिसो बढी हुने भएकाले कम्पनीलाई डेटा सेन्टर चिसो राख्ने खर्च पर्दैन । र, डेटा सेन्टरबाट निस्किने तापलाई विद्युतमा परिणत गरेर आसपासका क्षेत्रमा वितरण गरिएको छ । यसबाट कम्पनी र आसपासका मानिसहरूलाई फाइदा भएको छ ।

यसरी कम्प्युटरमा प्रयोग भएको ऊर्जालाई नवीकरणीय ऊर्जाको स्रोतमा परिणत गर्दा त्यसले पर्यावरणलाई कम प्रभाव पार्छ ।

आज संसारमा डेटा सेन्टरको माग बढ्दै गइरहेको छ । भिडिओ फाइलको बढ्दो प्रयोग, अग्मेन्टेड तथा मेटाभर्सकाे अवधारणाले डेटा सेन्टरको प्रयोग बढ्दै गइरहेको छ । त्यसो भए कहिल्यै क्लाउड स्टोरेजको अभाव हुन सक्ला त ?

जसरी दिनानुदिन प्रविधिको विकास भइरहेको छ, त्यस्तोमा आवश्यक डेटा स्टोरेजको आवश्यकता पनि बढ्दै जान्छ । तर, प्रविधिको विकाससँगै भविष्यमा डेटा सेन्टर बनाउन जमिन वा त्यस्तै उपकरणको आवश्यक नपर्न सक्छ ।

तसर्थ वैज्ञानिकहरू डेटा सेन्टरका लागि विकल्प खोजिरहेका छन् । त्यसैले आवश्यकता अनुसार ठूला डेटा सेन्टर पनि कुनै न कुनै रूपमा अस्तित्वमा आउने पक्का छ ।

बीबीसी हिन्दीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८० १७:१७