close

ल्यापटको कुनै भाग स्क्र्याच भयो ? यसरी हटाउनुहोस्

टेकपाना टेकपाना

बैशाख २८, २०८० १०:८

ल्यापटको कुनै भाग स्क्र्याच भयो ? यसरी हटाउनुहोस्

काठमाडौं । ल्यापटप कोतारिनु (स्क्र्याच हुनु) वा त्यसमा कुनै किसिमको दाग बस्नु प्रयोगकर्ताका लागि निकै खराब अनुभवको सामना गर्नु हो । जतन गरेर राखेको ल्यापटप केही गरी स्क्र्याच भयो भने नराम्रो देखिन्छ र हाम्रो ध्यान बारम्बार त्यहीँ गइरहन्छ ।

नराम्रो देखिने त छँदै छ, त्यसमा पनि अरूका अघि हामी आफ्नो ल्यापटपको ख्याल गर्दैनौं कि भन्ने प्रभाव पर्छ । त्यसैले भरसक हामीले ल्यापटप कुनै रूपमा पनि स्क्र्याच नहोस् भन्ने चाहेका हुन्छौं । तर, केही गरी स्क्र्याच भयो भने के गर्ने ? आज हामी यही विषयमा जानकारी दिँदैछौं ।

टुथपेस्ट प्रयोग गर्ने

ल्यापटप वा अन्य डिभाइसको स्क्रिन वा बाहिरी आवरणमा कुनै स्क्र्याच हुँदा टुथपेस्ट प्रयोग गर्नु उचित मानिन्छ । टुथपेस्टमा यस्तो तत्व हुन्छ, जसले स्क्र्याच भएको भागलाई पहिलेजस्तै बनाइदिन सक्छ ।

तर, यसलाई गलत तरिकाले स्क्र्याच भएको ठाउँमा लगायो भने थप स्क्र्याच हुन सक्छ । त्यसैले टुथपेस्ट लगाउँदा तलका तरिका अपनाउनुहोस्:

- सबैभन्दा पहिले ल्यापटपलाई सफा कपडाले पुछेर त्यसमा भएका धुलोका कण हटाउनुहोस् ।

- त्यसपछि ल्यापटपको सानो भागमा टुथपेस्ट राखेर परीक्षण गर्नुहोस् । अन्यथा त्यसले पछि धेरै भागमा नकारात्मक असर गर्न सक्छ । त्यस्तै सानो भागमा राखेको टुथपेस्टले स्क्र्याच हटायो भने त्यसलाई स्क्र्याच भएको सबै ठाउँमा प्रयोग गर्नुहोस् ।

- टुथपेस्ट लगाएको ल्यापटपको ठाउँमा नरम कपडाले स्क्र्याच नहट्ने बेलासम्म विस्तारै रगड्नहाेस् ।

- यसरी सफा गर्दा जोड गर्नु हुँदैन । अन्यथा त्यसले बढी क्षति पुर्‍याउन सक्छ ।

-  त्यसपछि अर्को सफा कपडा प्रयोग गरेर टुथपेस्ट हटाउनुहोस् । यति गरेपछि स्क्र्याच हटेको देख्न सक्नुहुन्छ । 

बेकिङ सोडा र लेमन जुसको प्रयोग

ल्यापटपमा भएको स्क्र्याच हटाउन तपाईंले बेकिङ सोडा र लेमन जुसको मिश्रण प्रयोग गर्न सक्नुहुन्छ । यी दुई तत्वलाई मिसाएर प्रयोग गर्दा ल्यापटपमा भएको स्क्र्याच हटाउन सकिन्छ । लेमन जुसमा अम्लीय पदार्थ हुने भएकाले त्यसले स्क्र्याचलाई हटाउन मद्दत गर्छ भन्ने बताइएको छ ।

हुन त एसिड (अम्लीय पदार्थ) मात्र प्रयोग गर्दा ल्यापटपको भाग नै बिग्रिन सक्छ । त्यसैले त्यसमा भएको अम्लीयपना घटाउनका लागि त्यति नै मात्राको बेकिङ सोडा प्रयोग गर्नपर्छ । बेकिङ सोडा र लेमन जुसको पेस्ट बनाइसकेपछि तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले सफा कपडाले ल्यापटपको भाग सफा राख्नुहोस् ।

- त्यसपछि स्क्र्याच भएको भागमा थोरै पेस्ट राखी कटन स्वाबले वरिपरि लगाउनुहोस् ।

- त्यसपछि उक्त पेस्टलाई स्क्र्याच भएको भागमा विस्तारै रगेड्नुहोस् ।

- उक्त पेस्टलाई पाँच मिनेट यथावत् राख्नुहोस् ।

- त्यसपछि सफा कपडाले त्यसलाई सफा गर्नुहोस् ।

- यति गर्नुभयो भने ल्यापटपमा भएको स्क्र्याच हट्नसक्छ ।

प्लास्टिक वा मेटल पोलिशको प्रयोग

तपाईंले कम्प्युटर पसल वा अनलाइनमा त्यस्तो पोलिश पाउन सक्नुहुन्छ, जसले तपाईंको ल्यापटपमा भएको स्क्र्याच हटाउन सक्छ । तर, त्यसका लागि तपाईंले सबैभन्दा पहिले उपयुक्त पोलिश भेटाउनुपर्ने हुन्छ ।

त्यसपछि युट्युब भिडिओ हेरेर त्यहाँ देखाए अनुसारका तरिका अपनाएर पोलिश लगाउन सक्नुहुन्छ । त्यस्तै माथिका तरिकाहरू अपनाएर पनि स्क्र्याच भएको ठाउँमा पोलिश लगाउन सक्नुहुन्छ । 

ल्यापटप स्किनको प्रयोग

तपाईंले ल्यापटपमा भएकाे स्क्र्याच हटाउन 'ल्यापटप स्किन' प्रयोग गर्न सक्नुहुन्छ । अहिले नेपाली बजारमा त्यस्ता केही प्लेटफर्म छन्, जसले तपाईंको चाहना अनुसारकै ल्यापटप स्क्रिन उपलब्ध गराउँछन् ।

यस्ता ल्यापटप स्किन प्रयोग गर्दा पुरानो भएको अवस्थामा हटाएर नयाँ राख्न सकिन्छ । त्यसले डिभाइस थप स्क्र्याच हुनबाट जोगाउँछ । त्यसैले ल्यापटप स्क्र्याच नहुँदै वा स्क्र्याच भइसकेपछि स्क्र्याच भएको भाग लुकाउन ल्यापटप स्किनको प्रयोग गर्न सकिन्छ ।

स्क्र्याच हुनै नदिनु राम्रो

ल्यापटप स्क्र्याच भइसकेपछि के गर्ने भन्ने कुर एउटा ठाउँमा छ । तर, तपाईंले पहिले नै आफ्नो ल्यापटपको ख्याल राख्नुभयो भने स्क्र्याच भएर चिन्तित हुन पर्दैन ।

त्यसैले तपाईं ल्यापटप कहाँ राख्नुहुन्छ, कसरी प्रयोग गर्नुहुन्छ, कसरी ख्याल गर्नुहुन्छ भन्ने कुराले ल्यापटप स्क्र्याच हुन्छ वा हुँदैन भन्न निर्धारण गरेको हुन्छ । त्यसैले ल्यापटप प्रयोग गर्दा ख्याल गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८० १०:१९