close

यसरी खोज्नुहोस् विश्वका कुनै पनि ठाउँको स्याटलाइट तस्वीर

टेकपाना टेकपाना

बैशाख २८, २०८० १९:६

यसरी खोज्नुहोस् विश्वका कुनै पनि ठाउँको स्याटलाइट तस्वीर

काठमाडौं । गुगलले मानव जीवनलाई धेरै सहज बनाएको छ । यसमा जानकारी खोज्न मात्र नभई विभिन्न ठाउँहरूमा जान म्यापसहित नेभिगेसन गर्न सकिने सुविधा पनि छ ।

आफ्नो स्मार्टफोनमा गुगल म्याप्स र जीपीएस प्रयोग गर्दा आजको दिनमा कुनै पनि नयाँ ठाउँमा हराउने सम्भावना कम भएको छ । लामो समयदेखि गुगलकै सहायतामा पृथ्वीको भू-उपग्रह तस्वीर (satellite images) हेर्न सहज भएको छ ।

समयसँगै यो फिचर थप परिष्कृत हुँदै गएको छ । आज हामी अनलाइनबाट कसरी पृथ्वीको भू-उपग्रह तस्वीर हेर्न सक्छौं भन्ने विषयमा जानकारी दिँदै छौं ।

भू-उपग्रह तस्वीर कसरी बनाइन्छ ? 

स्याटलाइट तस्वीरहरू पृथ्वीको सतहभन्दा धेरै माथिबाट खिचिएको हुन्छ । त्यस्ता तस्वीर मौसमको अवस्था ट्र्याक गर्न वा पृथ्वीको बाँकी भाग हेर्न प्रयोग गरिन्छ । सबै विवरण भएको हाई रेजोलुसनको तस्वीर लिन भने पृथ्वीको ठूलो आकार समस्या बन्ने गर्छ ।

त्यसैले फरक-फरक दिन र समयमा हजारौं तस्वीर लिने गरिन्छ । ती धेरै तस्वीरलाई एकै ठाउँमा जम्मा गरेर एउटा सिङ्गाे तस्वीर बनाइन्छ, जसले गर्दा प्रयोगकर्ताले हेर्दा स्याटलाइट तस्वीर एउटै जस्तो लाग्छ । तर वास्तविकतामा भने उक्त तस्वीर हजारौं टुक्रा-टुक्रा तस्वीर मिलेर बनेको हुन्छ । 

भू-उपग्रह तस्वीर हेर्नका लागि ‘गुगल म्याप्स’ र ‘गुगल अर्थ’ निकै चर्चित माध्यम हो । यसमा स्याटलाइट र प्लेनबाट खिचिएका तस्वीरहरू प्रयोग हुने गरेका छन् । गुगलले कुनै निश्चित ठाउँको हाई रेजोलुसनको तस्वीर खिच्न प्लेनको प्रयोग गर्छ ।

गुगलले सोही तस्वीरलाई नै थ्रीडी भ्यूमा समेत परिणत गर्दछ । यसबाहेक गुगलले अन्य स्टेट एजेन्सी, भू-वैज्ञानिक सर्वेक्षण संस्था, व्यावसायिक तस्वीर प्रदायक संस्था लगायत अन्यसँग पनि सहकार्य गर्ने गर्छ । यो सहकार्यले गर्दा नै गुगल म्याप्स र अर्थ यति ठूलो प्लेटफर्म बन्न सफल भएका हुन् ।

स्याटलाइट तस्वीरको विवरण र अद्यावधिक

भू-उपग्रहको तस्वीरलाई सेन्टिमिटरले नाप्ने गरिन्छ । पृथ्वी ठूलो भएकाले हरेक सेन्टिमिटरमा धेरै क्षेत्रफल राखिन्छ । जस्तै: तपाईंले ३० सेमीको स्पासियल रेजोलुसन (Spatial Resolution) भएको भू-उपग्रहको तस्वीर पाउनुभयो भने हरेक पिक्सेलमा जमिनको ३० वर्ग सेमी देखिन्छ ।

यसको अर्थ कार, घरजस्ता साना-साना वस्तुहरू समेत विस्तृत रूपमा हेर्न सकिन्छ । स्पासियल रेजोलुसन भनेको सबैभन्दा सानो वस्तुको मापन हो । यसलाई पिक्सेलमा मापन गर्ने गरिन्छ । 

अहिले सार्वजनिक र व्यावसायिक गरी मुख्य दुई प्रकारको भू-उपग्रह तस्वीर पाउन सकिन्छ । सार्वजनिक रुपमा प्राप्त गर्न सकिने तस्वीर कम रेजोलुसनको हुने गर्छ र यो नि:शुल्क रूपमा पनि पाउन सकिन्छ ।

कहिलकाहीँ पैसा तिर्नै परेपनि सस्तोमा लिन सकिन्छ । व्यावसायिक प्रयाेजनका लागि भने हाई रेजोलुसनको तस्वीर निश्चित शुल्क तिरेर खरिद गर्नुपर्ने हुन्छ ।

व्यावसायिक वा सार्वजनिक सेवाको आधारमा भू-उपग्रह तस्वीर अपडेट हुने समय पनि फरक हुन सक्छ । सार्वजनिक सेवाले सामान्यतः केही दिनको फरकमा तस्वीर अपडेट गरिरहेको हुन्छ । तर व्यावसायिकमा भने एक दिनमै पनि धेरै पटक तस्वीर अपडेट हुनसक्छ । 

हाई रेजोलुसन स्याटलाइट तस्वीरको प्रयोग

स्याटलाइट तस्वीर अन्यको तुलनामा बढी गुणस्तरीय हुन्छ भने यसलाई नै प्रयोगमा किन नल्याउने भन्ने प्रश्न उठ्न सक्छ । तर यो सम्भव हुँदैन । हाई रेजोलुसनको सेन्सर हरेक भू-उपग्रहमा राख्न निकै महँगो पर्छ ।

त्यस्तै जति हाई रेजोलुसनको तस्वीर भयो, फाइलको आकार पनि उति नै ठूलो हुन्छ । साथै स्याटलाइट तस्वीर भएका ठूला फाइल हरेक दिन अपडेट गर्न पनि कठिन हुन्छ । प्रविधिको विकासले त्यो कुरा असम्भव भने छैन । तर यसले खर्च भने बढाउन सक्छ । 

रियल टाइममा भू-उपग्रह भिडिओ हेर्न सम्भव छ त ?

यस्तो सेवा दिने थुप्रै वेबक्याम अनलाइनमा फेला पार्न सकिन्छ । पृथ्वीको रियल-टाइम भिडिओ स्ट्रिमिङका लागि वेबक्याम डिजाइन गरिएको हुन्छ । यसका लागि पृथ्वीको निश्चित ठाउँमा त्यस्ता क्यामेरा राखिएको हुन्छ ।

प्रयोगकर्ताले त्यसलाई प्रयोग गरेर घरमा नै बसेर कुनै पनि समयमा संसारको कुनै पनि भागमा हेर्न सक्छन् । तर भू-उपग्रहमा लाइभ स्ट्रिमिङ भिडिओ गर्ने विशेषता नभएकाले हाललाई त्यो सम्भव छैन । हुन त भू-उपग्रह हाई रेजाेलुसनको तस्वीर खिच्न डिजाइन गरिएको हुन्छ ।

यी दुई प्रविधिमा मुख्य फरक यही हो । तर लाइभ स्ट्रिमिङ भिडिओका लागि भू-उपग्रह प्रयोग गर्न नसकिने होइन । तर यसका लागि पृथ्वीकाे तल्लो कक्षमा सयौं भू-उपग्रह लञ्च गर्नुपर्ने हुन्छ । यसमा उच्च स्तरीय क्यामेरा र शक्तिशाली ट्रान्समिटर प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यस्तै यो कुरालाई व्यवस्थापन गर्न पनि त्यति नै गाह्रो काम हुन्छ । यसैले यो परियोजना निकै खर्चिलो हुने गर्छ । 

मौसम र स्रोत व्यवस्थापन 

भू-उपग्रहलाई मौसमको ट्र्याक र मोनिटर गर्न प्रयोग गरिन्छ । त्यसबाट प्राप्त हुने जानकारीले मौसम पूर्वानुमान गर्न सकिन्छ । आँधी, डढेलो जस्ता प्राकृतिक प्रकोपहरू ट्र्याक गर्नसमेत भू-उपग्रह प्रयोग गरिन्छ । यसले गर्दा प्रभावित क्षेत्रका मानिसहरूलाई पूर्वचेतावनी दिएर क्षति कम गर्न सकिन्छ ।

भू-उपग्रहलाई वातावरणको मोनिटर गर्न प्रयोग गरिन्छ । यसले गर्दा वन विनाश, प्रदूषण जस्ता कुराको ट्र्याक गर्न सकिन्छ ।

योसँगै सञ्चार र नेभिगेसन सेवाका लागि समेत भू-उपग्रहहरू प्रयोग गरिन्छ । जसले गर्दा सम्पर्कमा रहन र संसारभर जान मानिसलाई मद्दत गर्ने गर्छ ।

रअ (raw) भू-उपग्रह तस्वीरका लागि नि: शुल्क स्रोत

नि:शुल्क रुपमा भू-उपग्रह तस्वीर पाउने विभिन्न स्रोत रहेका छन् । ती स्रोतले विभिन्न विभिन्न स्पासियल रेजोलुसनको तस्वीर उपलब्ध गराउँछ । त्यो भने स्रोतअनुसार फरक हुने गर्छ ।

सेन्टिनल टू (Sentinel -2)

यसको आधिकारिक वेबसाइटका अनुसार युरोपेली अन्तरिक्ष एजेन्सीले जलवायु परिवर्तन र पृथ्वीको सतह ट्र्याक गर्न सेन्टिनल टू अन्तर्गत दुई उपग्रह प्रयोग गरी मिसन सञ्चालन गरिरहेका छन् । 

तपाईंले उक्त डेटा कोपर्निकस ओपन एक्सेस हब मार्फत पाउन सक्नुहुन्छ ।

ल्यान्डस्याट ८ एन्ड ९

अमेरिकी भू-वैज्ञानिक सर्वेक्षण र नासाले ‍ल्यान्डस्याट मिसनका लागि साझेदारी गरिरहेका छन् । ल्यान्डस्याट ९ नयाँ भू-उपग्रह हो ।

यसले पनि रअ डेटा दिने गर्छ, जुन ल्यान्डस्याट ८ बाट हेर्न सकिन्छ । यसका लागि ल्यान्डस्याट डेटा एक्सेस वेबसाइटमा जानुपर्छ । यसबाट डेटालाई अफलाइन गर्न सकिन्छ । 

मोडिस

नासाले सञ्चालन गर्ने 'मोडरेट रेजोलुसन इमेजिङ स्पेक्ट्रोराडियोमिटर'को यो छोटो रूप हो ।

विशेषत यसबाट जलवायु परिवर्तन र मौसमबारे डेटा हेर्न सकिन्छ । यसको डेटा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । यसमा स्पासियल रेजोलुसन २५० मिटरसम्म पाउन सकिन्छ ।

ओपन एरियर म्याप

एरियर तस्वीरको यो एक ओपन सोर्स कलेक्सन हो । यसको डेटाबेसमा जो कसैले पनि फोटो अपलोड गरेर योगदान गर्न सक्छन् ।

त्यसैले यसमा पाइने तस्वीरको स्पासियल रेजोलुसन फरक हुने गर्छ । यसबाट डेटा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एनएआईपी

यो अमेरिकाको कृषि विभाग (यूएसडीए) को नेतृत्वमा छ ।

यसले विशेषत गरेर भूमि परिवर्तनको शिक्षा दिन, कृषिका लागि मौसम निगरानी गर्न लगाय अन्य कृषि क्षेत्रको कामका लागि एरियल तस्वीर प्रयोग गर्ने गर्छ ।

तपाईंले यसको डेटा यहाँ क्लिक गरी पपाउन सक्नुहुन्छ ।

रअ (raw) भू-उपग्रह तस्वीरका लागि सशुल्क स्रोत

हरेक सशुल्क स्रोतले कम्तिमा पनि एक मिटरको स्पासियल रेजोलुसन उपलब्ध गराउँछ । सशुल्क रुपमा रअ भू-उपग्रह तस्वीर पाउन सकिने स्रोत निम्न छन्:

म्याक्सर इमेजरी मोजाइक्स

यसले हाई रेजोलुसनको तस्वीर उपलब्ध गराउने गर्छ ।

विशेषत: यसबाट सिमाना निगरानी गर्न, विश्वभरि भूमि परिवर्तन ट्र्याक गर्न आदि कामका लागि उपयुक्त भएको कम्पनीको  वेबसाइटमा उल्लेख छ ।

यसमा भएको डेटा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एयरबस वानएटलस

यसले हाई रेजोलुसनको तस्वीरसँगै थ्रीडी टेक्स्चर मोडेल लगायतका अन्य सुविधा दिने गर्छ ।

प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार कुनै विशेष दिनको तस्वीरसमेत पाउन सक्छन् । यसको तस्वीर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

हेक्सागन जियोस्पासियल

मौसम राम्रो भएको बेला एयरक्राफ्टबाट खिचिएका तस्वीरहरू यसले उपलब्ध गराउँछ । जमिनबाट कम दुरीमा एयरक्राफ्ट उडाउने गरिने भएकाले धेरै विवरण पाउन सकिन्छ ।

त्यस्तै भवन लगायत अन्य भौतिक पूर्वाधारको तस्वीर ४५ डिग्रीमा समेत उपलब्ध हुन्छ । यसबाट कसरी डेटा डाउनलोड गर्ने भनेर सिक्न यहाँ क्लिक गर्नुहोस् ।  

भेक्सेल इमेजिङ

प्राकृतिक प्रकोप ट्र्याक गर्न, विभिन्न भवन वा भूमिको विशेषता थाहा पाउन, स्मार्ट सहरको योजनाका लागि थ्रीडी मोडलिङ हेर्न यसले तस्वीर उपलब्ध गराउने गर्छ ।

यसको प्रयोगबाट संसारको कुनै पनि ठाउँमा बसेर घरको छानाको क्षेत्रफल मापन गर्न सकिने वेबसाइटमा उल्लेख छ । यो एक क्लाउडमा आधारित अल्ट्राक्याम टेक्नोलोजीद्वारा सञ्चालित छ । यसको डेटा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।  

इगल भ्यू

सरकारका ठूला डिजाइन निर्णय गर्न, बीमा कम्पनीलाई विश्वव्यापी रूपमा कुनै पनि ठाउँबाट सम्पत्ति दाबी अनुमान गर्न, भवन निर्माण योजना बनाउन आदि कामका लागि यसले सहयोग गर्ने बताइएको छ ।

यसको डेटा पाउन यहाँ क्लिक गर्नुहोस् । 

नियरम्याप अर्थोग्राफिक्स

यसले हाई-रेजोलुसनको तस्वीर उपलब्ध गराउने बाहेक ‘भर्चुअल साइट भ्रमण’ फिचर दिने गर्छ ।

यसबाट व्यावसायिक र सरकारी अधिकारीले कार्यालयबाट कम्पनीको थ्रीडी सिटी मोडलबाट कुनै पनि ठाउँबारे थाहा पाउनसक्ने वेबसाइटमा लेखेको छ ।

यसको डेटा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

व्यक्तिगत प्रयोजनका लागि स्याटलाइट म्याप

हामीले माथि निःशुल्क र सशुल्क सेवाहरूको केही स्रोत बारे चर्चा गर्यौं । अब यो केही सार्वजनिक सेवाबारे जानकारी दिँदै छौं, जसलाई जोकोहीले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न सक्छन्:

गुगल म्याप्स

एरियल भ्यूसँगै यसमा अन्य विविध सेवा रहेका छन्, जसले गर्दा म्यापिङ अनुभव निकै राम्रो हुने गर्छ ।

यसमा स्ट्रिट भ्यू, थ्रीडी भ्यू जस्ता अन्य धेरै फिचर छन् ।

गुगल अर्थ

यसमा पनि गुगल म्याप्सको जस्तै फिचर छ । तर यसमा फरक भनेको म्यापको साटो ग्लोब दिइएको छ ।

गुगल म्याप स्थानीय समुदायमा नेभिगेट गर्न प्रयोग गरिन्छ भने यसमा पूरै संसारले हेर्न सकिन्छ । यसबाट कुनै पनि ठाउँको ऐतिहासिक भू-उपग्रह तस्वीर हेर्न सकिन्छ ।

जुम अर्थ

नेभिगेट र एक्सप्लोर गर्न गुगल म्याप्स र अर्थ प्रयोग गरिन्छ । तर यो भने मौसम सम्बन्धी भू-उपग्रह तस्वीर हेर्न निकै उपयोगी छ ।

यसमा रियल-टाइम लाइभ राडार र विश्वभरका मौसमसम्बन्धी एचडी तस्वीर हेर्न सकिन्छ । त्यस्तै वर्षा, हावा, आर्द्रता, तापक्रम, वायुमण्डलीय चाप, जस्ता जानकारी ट्र्याक गर्न सकिन्छ ।

नासा वल्डभ्यू

यसबाट पृथ्वीको रियल टाइम भू-उपग्रह तस्वीर हेर्न सकिन्छ। यसमा हाई रेजोलुसनको हजारौं तस्वीरहरू दैनिक अपडेट हुन्छन् । जसले पृथ्वी कस्तो देखिन्छ भनेर नजिकैबाट हेर्न सकिन्छ ।

त्यस्तै प्राकृतिक प्रकोपहरू जस्तै डढेलो, आँधी, बाढी आदि पनि निगरानी गर्न सकिन्छ । त्यससँगै विगतका वर्षहरूको तस्वीर समेत हेर्न सकिन्छ ।

अर्थ एक्सप्लोलर

मौसम कस्तो छ भनेर रियल-टाइम तस्वीर उपलब्ध गराउन नासा र संयुक्त राज्यको भू-वैज्ञानिक सर्वेक्षण (यूएसजीएस) को प्रयास स्वरुप यो प्लेटफर्म बनेको छ ।

यसमा  ल्यान्डस्याट,राडार र वनस्पति अनुगमन (सेन्टिनल) आदि समावेश गरिएको छ । 

बिङ म्याप्स

गुगल म्याप्सको विकल्पको रूपमा माइक्रोसफ्टले यसलाई तयार पारेको हो । हुन त यी उस्ताउस्तै छन् ।

तर बिङ म्याप्समा ट्राफिक म्याप लेयर, लोकल गाइड फिचरजस्ता अन्य विशेषता छन् । यसलाई गुगल म्याप्सको वैकल्पिक मान्न समेत सकिन्छ । 

म्यापबक्स 

म्यापबक्समा आफू अनुकूल नक्सा बनाउन धेरै विकल्प छन् । तर ती प्रयोग गर्न यसमा अकाउन्ट भने बनाउनुपर्ने हुन्छ ।

यसमा स्ट्रिट भ्यूज, आउटडोर जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

हियर वी गो

यसमा जीपीएसमा आधारित नेभिगेसन, रियल-टाइम ट्राफिक अपडेटजस्ता फिचर दिइएको छ ।

यसलाई आफ्नो गाडीमा समेत प्रयोग गर्न सकिन्छ । 

एन्ड्राेइड पुलिसबाट ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८० १९:३५