close

आज विश्व दूरसञ्चार दिवस, यसकारण छ ऐतिहासिक

टेकपाना टेकपाना

जेठ ३, २०८० १३:११

आज विश्व दूरसञ्चार दिवस, यसकारण छ ऐतिहासिक

काठमाडौं । आज ५४औँ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस । "सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट अविकसित देशहरूलाई सशक्त बनाऔं" भन्ने नाराका साथ यस पटकको 'विश्व दूरसञ्चार दिवस' अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) का १९३ सदस्य राष्ट्रमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१७ मे १९६५ मा फ्रान्सको पेरिस सहरमा 'द इन्टरनेसनल टेलिग्राफ युनियनकाे स्थापना भएको थियो । जसमा त्यसबखत २० संस्थापक सदस्य राष्ट्र थिए । पछि उक्त संगठन परिमार्जित हुँदै गयो र नाम 'इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) राखियो ।

आईटीयू स्थापना भएको दिन मे १७ लाई आधार मानेर सन् १९६९ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । विश्वको हरेक कुनालाई जोडेर सबै फरक संस्कृतिबीच सम्बन्ध स्थापित गराउने दूरसञ्चारको महत्व र शक्तिको सम्झनामा यो दिन मनाउने गरिन्छ ।

यो दिवसलाई संयुक्त राष्ट्रसंघको महासभाले मनाउन सुरु गरेको हो । सन् २०१५ अघि यो दिनलाई विश्व दूरसञ्चार दिवसको रूपमा मात्र मनाउने गरिन्थ्यो । तर पछि राष्ट्रसंघले यसमा सूचना समाज दिवसको नाम समेत थपेको छ । सञ्चारको प्रयोग र प्रविधिबाट सम्भव भएको सकारात्मक परिवर्तनहरूको चर्चा गर्न यो दिवस मनाइँदै आएको छ ।

कोभिड-१९ जस्तो विश्व महामारीका समयमा हरपल सचेत तथा जानकार रहन सूचना प्रविधि सबैभन्दा महत्वपूर्ण माध्यम बनेको थियो । कोभिड महामारीपछि सूचना तथा सञ्चार प्रविधिको प्रयोग व्यापक बढेको छ ।

सन् १८६५ मा स्थापना भएको आइटीयूले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा सदस्य राष्ट्रलाई यसले सहयोग गर्दै आएको छ ।

स्थापनाको सुरुवाती चरणमा दूरसञ्चारको विस्तार र पहुँचमा केन्द्रित हुँदै आएको दिवसमा पछिल्लो समय भने पहुँचसँगै त्यसको गुणस्तरलाई बढी प्राथमिकताका साथ हेरिन थालेको छ । विश्व परिवेशमा इन्टरनेट र टेलिफोनको पहुँचले सिर्जना गरेको डिजिटल डिभाइड अर्थात् विभेदलाई कसरी निर्मूल पार्ने भन्ने विषयमा समेत आईटीयू क्रियाशील रहेको छ ।

युनेस्कोले समेत प्रत्येक वर्ष यो दिवसलाई विशेष नाराका साथ मनाउने गरेको छ । आगामी केही वर्षमा दिगो विकास लक्ष्य पूरा गर्न अत्याधुनिक प्रविधिको प्रयोगमा यो दिनले जोड दिएको छ । आर्थिक, वातावरणीय तथा सामाजिक दिगो विकासको लक्ष्यलाई पूरा गर्न संयुक्त राष्ट्रसंघले पाँच ओटा लक्ष्य निर्धारण गरेको छ । जसमा वृद्धि, समावेशिता, दिगो, अन्वेषण र साझेदारी रहेका छन् ।

२०२३ मा संयुक्त राष्ट्रसंघले निर्धारण गरेका लक्ष्यको चर्चा तल गरिएको छ:

- सामाजिक र आर्थिक विकास प्रवर्द्धन गर्न सूचना र सञ्चार प्रविधि (ICTs) को महत्त्वबारे चेतना जगाउने ।

- डिजिटल डिभाइड (डिजिटल विभेद) लाई कम गर्न र सबैलाई आईसीटीको पहुँच सुनिश्चित गर्ने ।

- शिक्षा, स्वास्थ्य सेवा र अन्य सामाजिक विकास लक्ष्यहरूका लागि आईसीटीको प्रयोग प्रवर्द्धन गर्ने ।

- समावेशी र मानव अधिकारको सम्मान गर्ने तरिकामा आईसीटीको प्रयोग भएको सुनिश्चित गर्ने ।

- दिगो विकासका लागि आईसीटीको प्रयोग प्रवर्द्धन गर्ने ।

आइटीयूको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म विश्वको कूल जनसंख्यामध्ये ५.३ अर्ब अर्थात् ६६ प्रतिशत इन्टरनेटको पहुँचमा छन् । टेलिफोन सेवाको पहुँच सिम सब्सक्रिप्सनको आधारमा जनसंख्याभन्दा बढी पुगिसकेको छ । यसको उदाहरण नेपाल आफैं पनि हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल इन्टरनेट पहुँच कूल जनसङ्ख्याको ८९ प्रतिशतमा पुगेको छ । सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएको परिवेशबाट आजसम्म आइपुग्दा यो क्षेत्रमा धेरै नै परिवर्तन भएको छ ।

पछिल्ला वर्षहरूमा संयुक्त राष्ट्रसंघले ‘ब्रिजिङ द स्ट्याण्डराइजेसन ग्याप’, 'कनेक्ट २०३०: दिगो विकास लक्षका लागि आईसीटी' जस्ता नारा लिएको थियो । यसले नवीनतम प्रविधिको प्रयोगबाट समानता कायम गरी दिगो विकासको लक्ष्य पूरा गर्ने उद्देश्य बोकेको थियो ।

सन् १८६५ मे १७ मा पेरिसमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ कन्भेन्सनमा हस्ताक्षर भएको थियो । यसै कन्भेन्सनमा टेकेर अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन आइटीयूको स्थापना भएको थियो ।

नोभेम्बर २००५ मा भएको सूचना समाजको विश्व सम्मेलनले संयुक्त राष्ट्रसंघीय महासभालाई मे १७ लाई विश्व सूचना समाज दिवसको रूपमा घोषणा गर्न आग्रह गर्‍यो ।

त्यसपश्चात् राष्ट्र संघको महासभाले मार्च २००६ मा (ए/आरईएस/६०/२५२) रेजोलुसन मार्फत मे १७ लाई विश्व सूचना समाज दिवसको रूपमा समेत मनाउने घोषणा गरेको हो । विश्व दूरसञ्चारले आज विश्वलाई कृषि युगदेखि सूचनाको युगसम्म ल्याई पुर्‍याएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० १३:२३