close

फेसबुकमा किन आइरहेको छ डिशहोम फाइबरनेटको विज्ञापनको बाढी ?

टेकपाना टेकपाना

जेठ ४, २०८० १९:५२

फेसबुकमा किन आइरहेको छ डिशहोम फाइबरनेटको विज्ञापनको बाढी ?

काठमाडौं । अहिले सामाजिक सञ्जाल फेसबुक डिशहोम फाइबर नेटका विज्ञापनले भरिएको छ । पछिल्ला केही दिनमा डिशहोम नाम जोडिए उस्तै देखिने अनेकौं पेजहरूमा  डिशहोमका विभिन्न इन्टरनेट प्याकेजहरू राखिएका छन् । 

फेसबुक स्क्रोल गर्दै जाँदा छिनमै दर्जनौं डिशहोमका विज्ञापन देखिन सक्छन् । आखिर यति धेरै विज्ञापन कसले, किन गरिरहेको छ ? किन डिशहोमको आधिकारिक पेजमा मात्र नभएर डिशहोमकै नाममा खुलेका अनेक पेजहरू यसका लागि प्रयोग भइरहेका छन् ? 

आज हामीले यही विषयमा जान्ने प्रयास गरेका छौं । वास्तवमा अहिले नेपालको इन्टरनेट बजारमा ‘प्राइस वार’ अर्थात् सेवा प्रदायकबीचको प्रतिस्पर्धा झाङ्गिएको छ । 

यसै क्रममा डिशहोमले प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा विभिन्न सस्ता प्याकेजहरू बिक्री गरिरहेको छ । आक्रामक बजार विस्तारमा रहेको कम्पनीले यसका लागि आफ्नै किसिमको व्यावसायिक मोडल समेत प्रयोग गरिरहेको छ । 

डीटीएच सेवा प्रदायक कम्पनीको रूपमा रहेको डिशहोमले प्रविधिको ‘कन्भर्जेन्स’ अर्थात् विभिन्न प्रविधि एकीकृत हुँदै गएपछि इन्टरनेट सेवाको क्षेत्रमा समेत प्रवेश गर्‍यो । डीटीएच सेवा विस्तारका क्रममा कम्पनीले देशभर दर्जनौं डिलर तथा सयौं सबडिलरको सञ्जाल बनाएको छ । 

अहिले कम्पनी तिनै डिलर तथा सबडिलरलाई इन्टरनेट सेवा विस्तारमा परिचालन गरिरहेको छ । त्यस्तै इन्टरनेट कनेक्सनको जिम्मा कम्पनीले छुट्टै भेण्डरलाई दिएको छ । 

डिलर तथा सब डिलरले अर्डर लिने र इन्टरनेट कनेक्सन गर्ने ‘टिकट’ डिशहोममार्फत भेन्डरलाई पठाउँछन् । जसले गर्दा कुनै पनि डिलर तथा सबडिलरले देशभर डिशहोम फाइबर नेटको पहुँच पुगेका जुनसुकै स्थानका लागि इन्टरनेट कनेक्सनको अर्डर लिन थालेका हुन् । 

अहिले सामाजिक सञ्जालमा देखिएका अनेक विज्ञापनहरू डिशहोमका तिनै डिलर तथा सब-डिलरले आआफ्नै किसिमले नयाँ नयाँ पेजहरू बनाएर फेसबुकमा राखेका छन् । ती पेजहरूमा डिशहोम फाइबर नेटकै लोगो, कम्पनीकै वेबसाइट देखिए पनि सम्पर्क नम्बर भने तिनै डिलर तथा सब-डिलरका हुन् । 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० २०:१