close

बालबालिकाका लागि सामाजिक सञ्जाल हानिकारक छ ? यसो भन्छ अध्ययन

टेकपाना टेकपाना

जेठ ७, २०८० १०:३२

बालबालिकाका लागि सामाजिक सञ्जाल हानिकारक छ ? यसो भन्छ अध्ययन

काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जाल र अन्य अनलाइन प्लेटफर्मबाट टाढा राख्नुपर्ने कुरामा प्राय धेरैको मत मिल्छ । सामाजिक सञ्जालको प्रयोगले बच्चाहरूको मनोविज्ञानमै असर पुग्ने उनीहरूको तर्क छ । तर अमेरिकाको एक मनोवैज्ञानिक संस्थाले बालबालिकाका लागि सामाजिक सञ्जाल हानिकारक नभएको, तर प्रयोग गर्दा सावधानी अपनाउन सुझाव दिएको छ । 

अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपीए) ले गरेकाे अनुसन्धानमा अभिभावककाे निगरानीमा बालबालिकाले यस्ता प्लेटफर्ममा उपस्थिति जनाउनसक्ने निष्कर्ष निकालिएकाे छ । साे अनुसन्धानकाे आधारमा संस्थाले एक गाइडलाइन्स (निर्देशिका) नै जारी गरेकाे छ, जसमा अभिभावकाे भूमिकाका बारेमा धेरै बुँदा समेटिएकाे छ ।

बच्चालाई अश्लील सामग्रीमा पुर्‍याउने, बालबालिकाको बानी र दिनचर्या बिगार्ने सञ्जालको एल्गोरिदमलाई समेत निर्देशिकाले सम्बोधन गरेको छ । यसअन्तर्गत बालबालिकाले सुरक्षित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नमा अभिभावकको महत्त्वपूर्ण भूमिका हुने उल्लेख छ ।

सामाजिक सञ्जालले बालबालिकाको निद्रामा असर गर्ने र शारीरिक क्रियाकलापमा बाधा पुर्‍याउने भएकाले यस कुरामा अभिभावक सर्तक हुनुपर्ने  बताइएको छ । साथै अभिभावकले एप तथा डिभाइसमा हुने ‘प्यारेन्टल कन्ट्रोल’ अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने कुरालाई प्रकाश पारिएको छ ।

त्यस्तै प्रयोगकर्ताका लागि सञ्जालमा हुने लाइक बटन, इन्डलेस स्क्रोलिङ जस्ता एल्गोरिदम निकै संवेदनशील हुने संस्थाले बताएको छ । यसका लागि सामाजिक सञ्जालमा बिताउने समय कम गर्न सुझाइएको छ ।

सँगै प्लेटफर्ममा आउने मिथ्या सूचना कसरी पहिचान गर्ने, त्यहाँ हुने विवाद कसरी समाधान गर्ने लगायतका विषयबारे डिजिटल साक्षरता बढाउन एपीएकाे सिफारिस छ । सामाजिक सञ्जालमा हुने साइबर बुलिङ, अश्लील सामग्री जस्ता कुराबाट बालबालिकालाई बचाउन अभिभावकका लागि एपीएको यो निर्देशिका महत्त्वूर्ण हुने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १०:३२