close

नयाँ ईभीमा पुनः एएम रेडियो समावेश गर्दै फोर्ड

टेकपाना टेकपाना

जेठ १०, २०८० १४:३३

नयाँ ईभीमा पुनः एएम रेडियो समावेश गर्दै फोर्ड

काठमाडौं। । फोर्डले अब तयार गर्ने आफ्नो विद्युतीय कारमा पुरानो प्रविधि 'एम रेडियो' उपलब्ध गराउने भएको छ । कम्पनीका प्रमुख जिम फार्लेले एक ट्वीट गर्दै सन् २०२३ मा सार्वजनिक हुने दुई सवारी एम रेडियो उपलब्ध गराउने विषयमा जानकारी दिएका हुन् । 

कम्पनीले मस्ट्याङ म्याक-ई र एफ-१५० लाइटेनिङ मोडेलमा सफ्टवेयर अपडेट मार्फत एम ब्रोडकास्ट रेडियो जडान गर्ने बताएको छ । साथै सन् २०२४ देखि सार्वजनिक हुने फर्ड र लिनकन ईभीहरूमा पनि एम रेडियो जडान गरिनेछ । 

यो भन्दा अगाडि कम्पनीले ५ प्रतिशतभन्दा पनि कम ग्राहकले यो सुविधा प्रयोग गरेको भन्दै ईभीबाट एम रेडियो हटाएको थियो । तर अब भने फेरी कम्पनीले यसलाई निरन्तरता दिने भएको छ । 

यद्यपि कम्पनीको यो निर्णय अमेरिकी सरकारको नयाँ कदमको परिणाम हो भन्ने अनुमान गरिएको  छ । अमेरिकी सदनले आकस्मिक समयको मागलाई कारण देखाउँदै अमेरिकामा उत्पादन हुने हरेक सवारीमा एम रेडियो जडान गरिएको हुनुपर्ने नीति ल्याउने तयारी गरिरहेको छ । 

सरकारले कुनै कदम चाल्नु अगाडि नै कम्पनीले आफ्नो गाडीमा यो प्रविधि प्रयोग गर्ने निर्णय लिएको हो । यद्यपि फक्सवागन, बीएमडब्लु, टेस्ला, पोलस्टार लगायतका कम्पनीले भने आफ्ना ईभीमा एम रेडियो जडान गर्ने कुरामा सहमति जनाएको छैन ।

वासिङटन पोस्टका अनुसार अहिले पनि अमेरिकाका ८ करोड २० लाख अमेरिकीले एम रेडियो स्टेसन सुन्ने गर्छन् । घट्दै गएको यो संख्यालाई हेरेर नै आफ्नो सवारीबाट एम रेडियो हटाउने निर्णय लिएको फोर्डको भनाइ थियो । 

तर पछिल्लो समयमा पुन: कम्पनीले एम रेडियो जडान गर्ने निर्णय लिएको हो । धेरैजसो एम स्टेसनहरूले हाल अनलाइन सेवा पनि दिइरहेको हुँदा यो सेवा पुन: सुरु गर्ने निर्णय लिएको कम्पनीले जनाएको छ ।

रोयटर्सका अनुसार एम रेडियोले सार्वजनिक सुरक्षाका विषयमा सूचना फैलाउन मद्दत गर्ने कारण देखाउँदै अमेरिकी सासंदले ईभीमा यसको माग गरेको हो । सुरक्षाका जानकारी एम रेडियोबाट धेरै प्रसारण हुने हुँदा यसलाई निरन्तरता दिनुपर्ने सांसदहरूको माग छ ।       

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० १४:३५