close

‘फेसबुक आईडी बन्द गरिदिनू’ भन्दै साइबर ब्यूरोमा आउँछन् दिनमै दर्जनौं उजुरी

टेकपाना टेकपाना

जेठ १०, २०८० १९:२६

‘फेसबुक आईडी बन्द गरिदिनू’ भन्दै साइबर ब्यूरोमा आउँछन् दिनमै दर्जनौं उजुरी

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोमा दर्ता हुने अधिकांश उजुरी फेसबुकसँग सम्बन्धित भएको पाइएको छ । औसतमा दैनिक ७० ओटा उजुरी दर्ता हुने ब्यूरोमा ५५ ओटा फेसबुकसँग मात्र सम्बन्धित भएको पाइएको हो ।

फेसबुकसँग सम्बन्धित उजुरीमा पनि अधिकांश पीडित अकाउन्ट बन्द गर्न अनुरोध गर्दै ब्यूरो पुग्ने गर्छन् । साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकमार रायले कार्यालयमा आउने अधिकांश उजुरी फेसबुकसँग सम्बन्धित भएको जानकारी दिए ।

"हामी कहाँ आउने उजुरीमध्ये धेरै फेसबुकसँग सम्बन्धित हुन्छन्," एसपी रायले टेकपानासँग भने, "कोही फेसबुक अकाउन्ट ह्याक भयो भनेर आउनुहुन्छ, कोही अर्कोले आफ्नो फोटो राखेर अकाउन्ट बनायाे भनेर आउनुहुन्छ ।"

औसत ५५ जनामा पनि आधाभन्दा बढीले फेसबुक आईडी डिलिट गरिदिन भन्दै उजुरी दिने गरेको उनले बताए ।

"दिनमा आउने औसत ५५ ओटा फेसबुकसँग सम्बन्धित उजुरीमा पनि धेरैले अकाउन्ट बन्द गरिदिनुपर्‍यो भन्नुहुन्छ । ‘मलाई अनावश्यक मेसेज पठाएर हैरान बनाइरहेको छ । कानूनी प्रक्रियामा जानुभन्दा पनि सचेत गराइदिनु पर्‍यो’ भन्दै उजुरी दिनेहरू पनि हुनुहुन्छ," रायले अगाडि भने ।

कसैले नक्कली फेसबुक अकाउन्ट बनाएको छ भने धेरै फेसबुक अकाउन्टबाट रिपोर्ट गर्दा सो अकाउन्ट बन्द हुन सक्ने रायको भनाइ छ ।

"यदि नयाँ अकाउन्ट बनाएर पीडितको फोटो राखेको छ भने त्यस्तो अकाउन्ट रिपोर्ट गर्दा अकाउन्ट डिसेबल हुने सम्भावना उच्च हुन्छ," रायले भने ।

अकाउन्ट रिपोर्ट गर्न तलको प्रक्रिया अपनाउनुहाेस्ः

-   सबैभन्दा पहिले फेसबुक खोलेर उक्त नक्कली अकाउन्टको प्रोफाइल खोल्नुहोस् ।

-   उक्त प्रोफाइलको छेउमा रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

-   त्यसपछि ‘रिपोर्ट प्रोफाइल’ (Report profile) अप्सनमा जानुहोस् ।

-   अनि, त्यहाँ ‘प्रिटेन्डिङ टु बी’ (Pretending to be) अप्सनमा ट्याप गर्नुहोस् ।

-   र, उक्त अकाउन्टले कसको फोटो वा नाम राखिरहेको छ त्यो छान्नुहोस् ।

-   यदि तपाईं आफ्नो साथीको नाममा खुलेको नक्कली अकाउन्ट छान्दै हुनुहुन्छ भने ‘फ्रेन्ड’ अप्सन छान्नुहोस् ।

-   त्यसपछि ‘ह्विच फ्रेन्ड’ (कुन साथी) को तल सर्च बक्समा आफ्नो साथीको नाम सर्च गर्नुहोस् र अन्तिममा रहेको ‘नेक्स्ट’ अप्सन छान्नुहोस् ।

-   यति गरेपछि अन्तिममा रहेको ‘सब्मिट’ (Submit) बटनमा ट्याप गर्नुहोस् ।

यसरी उक्त अकाउन्ट किन रिपोर्ट गर्न लाग्नु भएको भन्ने कुरालाई छानेर धेरै (३०-५०) अकाउन्टबाट रिपोर्ट गर्नुभयो भने उक्त अकाउन्ट डिसेबल हुने सम्भावना हुने साइबर सुरक्षा जानकार बताउँछन् ।

यस्तोमा साइबर ब्यूरो तथा नेपाल प्रहरीले विशेष किसिमको (ल इन्फोर्समेन्ट अनलाइन एजेन्ट) अकाउन्ट प्रयोग गरेर उक्त अकाउन्ट रिपोर्ट गर्छन् । जसले गर्दा त्यस्ता अकाउन्ट चाँडो निष्क्रिय हुने सम्भावना हुन्छ ।  यदि अकाउन्ट नक्कली छ भने साधारण अकाउन्टबाट रिपोर्ट गर्दा पनि त्यस्ता अकाउन्ट बन्द हुन्छ ।  

"सामाजिक सञ्जाल भन्दैमा सबै कुरा सार्वजनिक राख्नु अनिवार्य हुँदैन," ब्यूराे प्रवक्ता राय भन्छन्, "फोटो, पोस्ट जस्ता कुराहरूमा साथीहरू माझ मात्र शेयर गर्न सकिन्छ । यस्तोमा प्रयोगकर्ताले गलत मान्छे वा अपरिचित मान्छेलाई फेसबुकमा एड गरेको भने हुनु हुँदैन ।"

सामाजिक सञ्जालमा अनावश्यक व्यक्ति एड नगर्दा, अस्वाभाविक पोस्ट वा फोटो अपलोड नगर्दा र पोस्टलाई प्राइभेसी अप्सनमार्फत साथीमा सीमित राख्दा, यस्ता समस्या कम हुँदै जाने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० २०:३५