close

यस्तो छ काठमाडौं विश्वविद्यालयको बीबीआईएस कोर्ष, कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

सञ्जीवन राई सञ्जीवन राई

जेठ १७, २०८० १४:४१

यस्तो छ काठमाडौं विश्वविद्यालयको बीबीआईएस कोर्ष, कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

काठमाडौं । काठमाडौं विश्वविद्यालयले विभिन्न तहमा सूचना प्रविधि (आईटी) कोर्ष सञ्चालन गरिरहेको छ । विद्यार्थीले आफ्नो रुचि अनुसार ती विषयको अध्ययन गर्न सक्छन् । विश्वविद्यालयले सञ्चालन गरिरहेको आईटी कार्यक्रममध्ये एक हाे, ब्याचलर अफ बिजनेस इन्फर्मेसन सिस्टम (बीबीआईएस) ।

यो शैक्षिक कार्यक्रम स्कुल अफ म्यानेजमेन्ट अन्तर्गतको ‘डिपार्टमेन्ट अफ म्यानेजमेन्ट इन्फर्मेटिक्स एन्ड कम्युनिकेसन’ले सञ्चालन गरिरहेकाे छ । 

इन्फर्मेसन टेक्नोलोजी/इन्फर्मेसन सिस्टम (आईटी/आईएस) र व्यवस्थापनका विषय मिसाइएकाले आईटी र व्यवस्थापन दुवैमा रुचि हुनेलाई यो काेर्ष उपयोगी हुन सक्छ ।

कस्तो छ विषय ?

चार वर्ष (आठ सेमेस्टर)मा सकिने यो कोर्ष १४१ क्रेडिट आवरको हो । यसमा पहिलोदेखि सातौं सेमेस्टरसम्म प्रत्येकमा १८ क्रेडिट आवर र आठौं सेमेस्टरमा १५ क्रेडिट आवरकाे पाठ्यक्रम छ । त्यस्तै पाठ्यक्रममा हुने इलेक्टिभ कोर्षहरू ३ क्रेडिट आवर बराबर रहेका छन् । 

यो एक मिश्रित कोर्ष हो । इन्फर्मेसन सिस्टम, इन्फर्मेसन टेक्नोलोजीसँग बिजनेस एन्ड म्यानेजमेन्टसँग मिलाएर बनाइएको कोर्ष नै बीबीआईएस हो ।

व्यापार/व्यवसाय क्षेत्रमा परिवर्तन भइरहेको प्रविधिको आवश्यकता बुझ्ने/त्यो काम गर्नसक्ने खालको विषयवस्तु यस कोर्षमा राखिएको छ । कोर्षमा विशेषत: व्यावसायिक क्षेत्रमा सञ्चार प्रविधि कसरी व्यवस्थापन गर्ने, कसरी प्रयोग गर्ने भन्ने जस्ता कुराको पढाइ हुन्छ ।

क-कसले पढ्न पाउँछन् ?

माध्यमिक तह (प्लस टु) मा जुनै सङ्काय पढेका विद्यार्थीले यो कोर्ष अध्ययन गर्न पाउँछन् । तर उनीहरूले कक्षा १२ को अन्तिम परीक्षाको नतिजामा कम्तीमा सी ग्रेड, सीजीपीए २.० अथवा कम्तीमा ५० प्रतिशत अङ्क भने ल्याएको हुनुपर्छ ।

त्यस्तै जीसीई ए लेभल अध्ययन गरेकाले कम्तीमा तीन विषय उत्तीर्ण गरेको हुनपर्छ । साथै भर्नाका लागि विश्वविद्यालयले प्रवेश परीक्षा लिन्छ । विद्यार्थीले सो परीक्षामा ५० प्रतिशतभन्दा धेरै अङ्क ल्याएको हुनुपर्छ । 

कस्ता विषय छन् ?

यसमा इन्फर्मेसन सिस्टम टेक्नोलोजी, स्ट्रक्चर्ड प्रोग्रामिङ, डिजिटल लजिक, अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ, डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम, इन्फर्मेसन सेक्युरिटी जस्ता मुख्य विषय रहेका छन् । त्यस्तै ई-कमर्स, डेटावेयर हाउस एन्ड एक्सपर्ट सिस्टम, टेक्नोलोजी म्यानेजमेन्ट जस्ता इलेक्टिभ विषय रहेका छन् ।

यसको कूल १४१ क्रेडिट आवरमध्ये ५४ क्रेडिट आवर सूचना प्रणाली सम्बन्धीका विषयमा, बिजनेस/म्यानेजमेन्ट सम्बन्धी ६० र अलाइड/फाउन्डेसन कोर्षमा २७ क्रेडिट आवर छुट्याइएकाे छ ।

यो कोर्ष गरेका विद्यार्थीले इन्टर्नशिप र आईटी सम्बन्धी प्रोजेक्टहरूमा सहभागी हुन सक्छन् । त्यस्तै विश्वविद्यालयले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिसमेत दिने गरेको छ ।

चार वर्षे यो कोर्ष गर्न आठ लाख ५० हजार रूपैयाँ शुल्क लाग्छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १४:५८