close

जोडिए फोन पे र श्रीलंकाको लङ्का पे, अब एकअर्को देशमा डिजिटल भुक्तानी

टेकपाना टेकपाना

जेठ १७, २०८० २१:१९

जोडिए फोन पे र श्रीलंकाको लङ्का पे, अब एकअर्को देशमा डिजिटल भुक्तानी

काठमाडौं। नेपालकै ठूलो इन्टरअपरेबल भुक्तानी प्रणाली फोन पे र श्रीलंकाको नेसनल पेमेन्ट नेटवर्क लंका पे आपसमा आवद्ध भएका छन् । बुधबार राजधानीमा एक विशेष कार्यक्रमबीच दुवै देशका भुक्तानी प्रणालीबीच सहकार्यका लागि आपसी समझदारी भएको हो ।

आपसी समझदारी पत्र (एमओयू) मा फोन पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटा र लंका पेका सीईओ भन्ना डे सिल्भाले हस्ताक्षर गरे । यससँगै दुवै देशका नागरिकले एक अर्काको देशमा आवतजावत गर्दा सहजै डिजिटल भुक्तानी गर्नसक्ने भएका छन् ।

फोन पेका सीईओ सापकोटाले यो सहकार्यसँगै दुवै देशबीच इन्टरअपरेबल नेटवर्क तयार भएको बताए ।

''यो सुरक्षित, फास्ट, सहज भुक्तानी बाट अन्तर देशीय व्यापार, व्यवसाय र पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने छ,'' उनले भने, ''भुक्तानीसँगै दुवै पक्षबीच ज्ञान, अनुभव र विश्व फिनटेकका अवसरहरू पहिचान गर्न समेत सहकार्य हुनेछ ।''

लंका पेले यसअघि नै विभिन्न १२ देशसँग अन्तर देशीय भुक्तानीका लागि काम गरिरहेको छ । लंका पेका सीईओ सिल्भाले दुई देशबीचको ऐतिहासिक सम्बन्धमा यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

''यो रणनीतिक सहकार्य अन्तर्गत दुवै देशबीच सिमलेस, पहुँच युक्त, सुरक्षित र विश्वसनीय किसिमको अन्तर देशीय भुक्तानी सञ्जाल तयार भएको छ,'' उनले भने, ''एकअर्काको संस्कृतिबाट सिक्ने र आदानप्रदान गर्ने गरी हाम्रो सहकार्य रहिरहने छ ।''

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० २१:१९