close

आईटी पढेका विद्यार्थीलाई नेपालमा कस्तो छ इन्टर्नशिपको अवस्था ?

सञ्जीवन राई सञ्जीवन राई

जेठ २२, २०८० १४:०

आईटी पढेका विद्यार्थीलाई नेपालमा कस्तो छ इन्टर्नशिपको अवस्था ?

काठमाडौं । पछिल्लो समय सूचना प्रविधि (आईटी) सम्बन्धी शैक्षिक कार्यक्रममा विद्यार्थीकाे आकर्षण बढ्दो छ । विश्वविद्यालयहरूले आईटीसम्बन्धी नयाँ-नयाँ शैक्षिक कार्यक्रम ल्याइरहेका छन् । त्यस्तै आईटी सेवा दिने कम्पनीहरू पनि खुलिरहेका छन् । यो अवस्थाले नेपालमा आईटी क्षेत्रकाे दायरा फराकिलो भइरहेको भन्ने देखाउँछ । 

यस्तो अवस्थामा उद्योगका लागि दक्ष जनशक्ति चाहिन्छ । कलेज तथा विश्वविद्यालयलाई भने आफूले उत्पादन गरेका विद्यार्थीको रोजगारी सुनिश्चितता आवश्यक पर्छ । त्यसो हुँदा यो कुराको सन्तुलन गर्न शिक्षा र उद्योगबीच सम्बन्ध स्थापित हुन आवश्यक छ ।

तर सरोकारवालाहरू भने त्यो सम्बन्ध स्थापित नभएको तथा शिक्षा र उद्योगबीचमा खाडल भएको बताउने गरेका छन् । यस्तोमा इन्टर्नशिपले त्यो खाडल पुर्ने सम्बन्धित क्षेत्रकै व्यक्तिहरू स्वीकार गर्छन् ।

प्राय: आजभोलि पाठ्यक्रममा नै यसको व्यवस्था गर्न थालिएको छ । पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय आदिले पछिल्लो समयमा आफ्नो पाठ्यक्रम नै परिमार्जन गरेर इन्टर्नशिपको अनिवार्य व्यवस्था गरेका छन् ।

इन्टर्नशिपको महत्त्व 

कलेज तथा उद्योगले विद्यार्थीलाई विभिन्न अवसर दिन सम्झौता गर्ने गरेका छन् । मुख्य गरेर यस्तो सम्झौता विद्यार्थी उद्योगमा काम गर्न जाने र उद्योगको मान्छे आफ्नो कक्षा लिन कलेजमा आउने हुन्छ ।

इन्टर्नशिपका कारण विद्यार्थीले सीप तिखार्ने, कामको अनुभव लिने, व्यवहारिक शिक्षा लिने मौका पाउँछन् । इन्टर्नशिप तलबसहित र तलबरहित दुवै खाले हुने गरेको पाइन्छ ।

नेपाल सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ मा निजी क्षेत्रका रोजगारदाता सङ्घ संस्थाहरूको साझेदारीमा औद्योगिक सीप विकास कार्यक्रम, इन्टर्नशिप र अन द जब ट्रेनिङ सञ्चालन गर्ने कुरा समावेश गरेको छ । त्यस्तै विद्यार्थी मूल्याङ्कन अन्तर्गत प्रयोगात्मक परीक्षा, व्यावहारिक अभ्यास, इन्टर्नशिपजस्ता परीक्षण विधिहरू अवलम्बन गरिने पनि नीतिमा उल्लेख छ ।

इन्टर्नशिप: उद्योग र एकेडेमियाबीचको पुल 

इन्टर्नशिपमा विद्यार्थीलाई उद्योगमा के कसरी काम हुन्छ, के-के गर्नुपर्छ जस्ता कुरा सिकाउने गरिन्छ । कक्षाकोठामा सैद्धान्तिक ज्ञान लिइरहेको उ इन्टर्नशिप गर्दा व्यावहारिक हुन्छ । यसैले कतिपयले यसलाई उद्योग र एकेडेमियाबीचको पुल भएको बताउने गरेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवका पूर्व उपसचिव ईश्वरीप्रसाद पोखरेल राज्यले इन्टर्नशिप प्रणाली विकास गर्नुपर्ने बताउँछन् । कक्षा १२ देखि उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई यसको व्यवस्था गर्दा अहिले भइरहेको जनशक्ति अभाव कम हुने उनको भनाइ छ ।

इस्लिङ्टन  कलेजका शिक्षक प्रशान्तलाल श्रेष्ठ इन्टर्नशिप उद्योगसँगको पहिलो भेट भएको बताउँछन् । आफ्नो कलेजमा कोर्ष सकिन अगावै तीन महिनाका लागि विद्यार्थीलाई इन्टर्नशिपमा पठाउने गरेको सुनाउँदै उनी भन्छन्, “कलेजमा सबै विद्यार्थीका लागि इन्टर्नशिप अनिवार्य गरिएको छ । यो उनीहरूको पढाइ नै हो । उनीहरूले इन्टर्नशिप गरेका आधारमा नम्बर समेत पाउँछन् । जुन अन्तिम प्राप्ताङ्कमा समेत जोडिन्छ ।” 

त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का प्रविधि सङ्काय प्रमुख डा. रविन्द्र ढकाल उद्योग र एकेडेमियाको अन्तर कम गर्ने काम इन्टर्नशिपले गर्नेमा सहमत छन् । तर यसले विद्यार्थीमा डिजिटल अन्तर कम गर्न समेत सहयोग गर्ने उनी सुनाउँछन् । साथै प्रभावकारी बनाउन आफू उत्तीर्ण हुनलाई मात्र विद्यार्थीले इन्टर्नशिपमा सहभागी हुन नहुने उनी मत राख्छन् । 

उनको कुरामा पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डीन  प्राध्यापक राजेशकुमार ठगुराथीको पनि मिल्छ । आफ्नो विश्वविद्यालयले पाठ्यक्रममा इन्टर्नशिप समावेश गर्नुको मुख्य कारण नै उद्योग र एकेडेमियाको अन्तर कम गर्नु रहेको उनको भनाइ छ । यसबाट यी दुई क्षेत्रको सम्बन्ध सुधार हुनेसमेत उनी विश्वस्त देखिन्छन् । 

इन्टर्नशिप विद्यार्थीको सहभागिता 

प्राय: कलेज तथा विश्वविद्यालयले विभिन्न कम्पनीसँग इन्टर्नशिप वा अन्य कुराका लागि सम्झौता गर्ने गर्छन् । यसैले विद्यार्थीहरू कलेजले सम्झौता गरेका कम्पनीहरूमा इन्टर्नशिपका लागि जाने गर्छन् । 

त्यस्तै केही कलेजहरूले आफ्नै परिसरमा उद्योगका मान्छे बोलाएर विद्यार्थीलाई इन्टर्नशिप गराउने गरेका छन् । कलेजको फ्याकल्टी मेम्बर (शिक्षक समूह) का केही सदस्य आईटी कम्पनीमा पनि संलग्न हुने भएकाले विद्यार्थीहरूलाई त्यहाँ इन्टर्नशिपका लागि लैजाने नामी कलेजका कम्प्युटर विभागका प्रोगाम लिडर निश्चल खड्का बताउँछन् । आफ्नो कलेजमा पनि यो अभ्यास भएको सुनाउँदै उनी भन्छन्, “तर धेरै विद्यार्थीहरू कलेजसँग सम्झौता भएको कम्पनीमा नै जान्छन् ।” 

इस्लिङ्टन कलेजमा विद्यार्थी तेस्रो वर्ष पुग्न साथै इन्टर्नशिपमा जानुपर्ने हुन्छ ।  यो कुराले विद्यार्थीलाई फाइदा पुग्ने कलेजका श्रेष्ठको बुझाई छ ।

“धेरै ठाउँमा विद्यार्थी उत्तीर्ण भइसकेपछि मात्र उद्योगमा काम गर्न जान्छन् । तर यहाँ भने कोर्ष चलिरहेको बेला नै विद्यार्थीहरू उद्योगमा काम गर्न जान्छन्,” उनी अगाडि भन्छन्, “विद्यार्थी कुन कम्पनीमा जाने भन्ने कुरा भने उसको सीप, कलेज तथा कम्पनीको नीतिले फरक पार्ने गर्छ । यद्यपि विद्यार्थीले कम्तीमा तीन महिना उद्योगमा गएर काम गर्नुपर्ने हुन्छ ।”

पाठ्यक्रममा छैन, तर पनि अभ्यास 

नेपालमा विदेशी विश्वविद्यालयका कोर्ष सञ्चालन गरिरहेका धेरैजसो कलेजले पाठ्यक्रममा नभए पनि इन्टर्नशिपको अभ्यास गर्ने गरेका छन् । यसमध्ये नामी कलेज पनि एक हो । 

कलेजले विश्वविद्यालयको अनिवार्य इन्टर्नशिप नीति नभए पनि सबै विद्यार्थीलाई यसमा सहभागी गराइरहेको खड्काको भनाइ छ । तर विदेश जाने, इन्टर्नशिप नगर्ने भन्ने खालका विद्यार्थीलाई भने कलेजमा नै कुनै परियोजना दिने उनी सुनाउँछन् । यसले उनीहरूलाई उद्योगमा काम गरेको अनुभव दिने उनको तर्क छ ।

पाटन कलेज फर प्रोफेसनल स्टडिज कलेजले पनि यस्तै अभ्यास गरिरहेको छ । यस कलेजको विश्वविद्यालयको पाठ्यक्रममा समेत इन्टर्नशिपको व्यवस्था छैन । तर लामो समय छुट्टी हुँदा वा शैक्षिक सत्र समाप्त भएको बेला इन्टर्नशिप गराउने कलेजका ‘स्कुल अफ कम्प्युटिङ’का प्रमुख ई. अजयकुमार शर्मा बताउँछन् । यसका लागि कलेज परिसरभित्र नै ‘इन्क्युबेसन सेन्टर’ बनाएको उनी सुनाउँछन् । यसको उद्देश्य भने कक्षा सकिएपछि पनि विद्यार्थीहरू कलेजमा नै बसेर इन्टर्नशिपको काम गरून् भन्ने रहेको उनको भनाइ छ । 

उनका अनुसार यस सेन्टरमा विद्यार्थीको उत्कृष्ट विचार तथा सोचलाई वास्तविक रूप दिन काम हुने गर्छ । यसका लागि कलेजले कम्पनी तथा लगानीकर्तासँग सम्झौता समेत गरेको पनि उनी सुनाउँछन् । यद्यपि कम्पनीले चाहेको खण्डमा कलेज बाहिर पनि विद्यार्थीलाई लैजान सक्ने उनी सुनाउँछन् । त्यसो गर्दा भने कम्पनीले विद्यार्थीलाई न्यूनतम तलब दिनुपर्ने हुन्छ ।

इन्टर्नशिपमा विद्यार्थीको भूमिका 

धेरै विद्यार्थी परीक्षा केन्द्रित भएर अध्ययन गर्ने गर्छन् । त्यसको साटो पाठ्यक्रममा भएका सैद्धान्तिक कुरा अध्ययन गरी इन्टर्नशिपमा जाँदा सहयोग पुग्ने पाटन कलेजका ई. शर्माको बुझाई छ ।

कतिपय कम्पनीले विभिन्न परियोजनाका लागि मात्र पनि विद्यार्थीलाई लाने गर्छन् । तर यसले सतही कुरा मात्रै सिकाउने उनको विचार छ । यसैले इन्टर्नशिपमा नै केन्द्रित हुनुपर्ने उनको मत छ । तर त्यहाँबाट विद्यार्थीले कति सिक्छन् भन्ने कुरा भने कम्पनीको नीति र विद्यार्थीमा भर पर्ने उनी सुनाउँछन् ।

“कम्पनी सधैं सीपयुक्त नयाँ जनशक्ति खोजीमा हुन्छ । त्यो कुरा इन्टर्नशिपमा भेटिन सक्छ । कतिपयलाई कम्पनीले इन्टर्नशिपबाट नै कम्पनीमा राख्ने गरेको हुन्छ । यसैले विद्यार्थीका लागि इन्टर्नशिप निकै महत्त्वपूर्ण हुन्छ,” उनी भन्छन् ।

इन्टर्नशिपमा विश्वविद्यालय 

केही समयदेखि नेपालमा विश्वविद्यालयहरूले इन्टर्नशिपलाई विशेष महत्त्व दिन थालेका छन् । यसको एक उदाहरण हाे, पाठ्यक्रम परिमार्जन गरेर पोखरा विश्वविद्यालयले इन्टर्नशिपको व्यवस्था गर्नु । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयले पाठ्यक्रममा इन्टर्नशिप थप्नु ।

योसँगै पोखरा विश्वविद्यालयका विद्यार्थीले अब आठौं सेमेस्टर पुगेपछि तीन महिनासम्म इन्टर्नशिप गर्नुपर्ने हुन्छ । यसका लागि विश्वविद्यालयले विभिन्न कम्पनीसँग सम्झौता गर्न समेत थालेको विज्ञान तथा प्रविधि संकायका डीन प्रा. ठगुराथीले बताए ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयले समेत सन् २०२१ को ब्याचदेखि इन्टर्नशिप लागू गरेको छ । योसँगै चौंथाे वर्षका विद्यार्थीलाई इन्टर्नशिप अनिवार्य भएको छ । पाठ्यक्रममा नै समावेश गरिएको सो इन्टर्नशिप ९० दिनको हुने गर्छ । यो सकेपछि मात्र सर्टिफिकेसनको काम हुने विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डीन प्राध्यापक ई. देवी भट्टराई बताउँछन् ।

अहिले विश्वविद्यालयले कसरी इन्टर्नशिपमा जाने, कुनकुन कम्पनीसँग सम्झौता गर्ने भन्ने जस्ता कुरामा अभ्यास भइरहेको उनी सुनाउँछन् । यसबाहेक काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय लगायतले समेत इन्टर्नशिपको अभ्यास गरिरहेका छन् । 

सबै समाधान इन्टर्नशिप होइन

केही कलेजहरूले इन्टर्नशिपका लागि निकै राम्रो व्यवस्था समेत गरेका छन् । लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले 'प्लेसमेन्ट ड्राइभ २०२३' अन्तर्गत कलेजमा विभिन्न विद्यार्थीलाई इन्टर्नशिपको व्यवस्था गर्ने गरेको छ ।

तर पूर्वाञ्चल विश्वविद्यालयका ई. भट्टराई भने अलि भिन्न सोच राख्छन् । अहिले विद्यार्थीलाई उद्योगमा जान गाह्रो भएको उनी सुनाउँछन् । “उद्योगको आकार सानो छ, भएका उद्योग बन्द गरेर व्यापार गर्न थालेका छन्,” उनी अगाडि भन्छन्, “त्यसैले विद्यार्थीले पढे अनुसारको उद्योग भने पाउन गाह्रो छ । तर पनि अहिले स्थानीय पालिकामा थुप्रै अवसर छन् । यद्यपि सबै कार्यक्रमको लागि अवसर छ भनेर सोच्नु हुँदैन ।” 

देशको अर्थतन्त्रमा भइरहेको आर्थिक मन्दीलाई पनि इन्टर्नशिपको चुनौती उनी मान्छन् । मन्दीका कारण उद्योग बन्द हुने र त्यसले विद्यार्थीलाई अवसर दिनबाट रोक्ने उनको विश्लेषण छ । यद्यपि आफूहरूले दुई वर्षपछि मात्र विद्यार्थीलाई इन्टर्नशिपमा पठाउने भएकाले त्यसबेलासम्म यो समस्या हटिसक्ने उनी आशा गर्छन् । 

त्यस्तै इस्लिङ्टन कलेजका प्रशान्तलाल श्रेष्ठ इन्टर्नशिपले मात्र उद्योग र एकेडेमियाको अन्तर कम गर्छ भन्ने सोच्नु नहुने बताउँछन् । बरु त्यसको समाधान स्वरूप समयानुकूल पाठ्यक्रम पनि परिवर्तन गर्नुपर्ने र त्यसपछि इन्टर्नशिप गराउँदा अझ राम्रो नतिजा आउने उनी विश्वास गर्छन् ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८० १४:१२