close

घरबाटै आईटी र इन्जिनियरिङको प्रवेश परीक्षा तयारी, यस्ता छन् उपयुक्त ५ अनलाइन प्लेटफर्म

सञ्जीवन राई सञ्जीवन राई

जेठ २४, २०८० १४:१०

घरबाटै आईटी र इन्जिनियरिङको प्रवेश परीक्षा तयारी, यस्ता छन् उपयुक्त ५ अनलाइन प्लेटफर्म

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आउन कम्तीमा तीन महिना लाग्छ । विश्वविद्यालयकाे ढाेका खाेल्न याे अवधिमा विद्यार्थीहरू विभिन्न शैक्षिक कार्यक्रमकाे प्रवेश परीक्षाका लागि तयारीमा जुट्न सक्छन् ।

यदि तपाईँ इन्जिनियरिङ पढ्न चाहनुहुन्छ भने विश्वविद्यालयले लिने प्रवेश परीक्षाका लागि अहिलेदेखि नै तयारी जुट्नु उपयुक्त हुन्छ । यसका लागि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतले प्रवेश परीक्षाको तालिका सार्वजनिक गर्दैछन् । आफ्नो इच्छा अनुसार यी विश्वविद्यालयका प्रवेश परीक्षाका लागि तपाईँ तयारी थाल्न सक्नुहुन्छ । 

यस प्रकारका प्रवेश परीक्षाको तयारी गराउने उद्देश्यले विभिन्न इन्स्टिच्युटहरू खुलेका छन् । तर आजभोलि अनलाइनबाटै प्रवेश परीक्षाकाे तयारी गर्न मिल्ने अनलाइन प्लेटफर्म सञ्चालनमा आएका छन् ।

यसमार्फत तयारी गर्दा विद्यार्थीको पैसा र समय बचत हुन्छ । इन्स्टिच्युटहरूले पनि भाैतिकसँगै भर्चुअल माध्यमबाट तयारी कक्षाकाे व्यवस्था गरेका छन् । यसै सन्दर्भमा हामी तपाईंलाई प्रवेश परीक्षाको तयारी अनलाइनबाट गराउने त्यस्ता प्लेटफर्मबारे जानकारी दिँदै छौँ:

एम्बिसन गुरू

कक्षा ११ र १२ को कक्षा, उच्च शिक्षा र सरकारले लिने लोकसेवा आयोगको परीक्षालाई अनलाइन गराउने यो प्लेटफर्ममा इन्जिनियरिङको पनि प्रवेश परीक्षामा तयारी गर्न सकिन्छ ।

यसमा इन्जिनियरिङबाहेक त्रिविको बीएससी सीएसआईटी (बीएससी ईन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नाेलाेजी) लगायत अन्य विषयको प्रवेश परीक्षाको पनि तयारी गराइन्छ ।

विद्यार्थीले यसमा एआईमा आधारित ‘मक टेस्ट’ दिन सक्छन् । प्रत्येक दिन लाइभ कक्षा हुने यस प्लेटफर्ममा प्रवेश परीक्षाको शुल्क २,९९९ रुपैयाँ रहेको छ ।

क्ल्याम्पहुक एकेडेमी

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोक क्याम्पसबाट पासआउट भएका इन्जिनियरको टिमले काेभिड महामारीकाे बेलामा यो प्लेटफर्म सञ्चालनमा ल्याएकाे हाे ।

आईओ‍ई अन्तर्गत हुने स्नातक तहको बीई/बीआर्कसँगै बीएससी सीएसआईटीको प्रवेश परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन हुने गर्छ । यसमा लाइभ अनलाइन कक्षासँगै रेकर्डेड क्लास पनि विद्यार्थीलाई उपलब्ध गराइन्छ ।

त्यस्तै डिजिटल नोट, नमूना प्रश्नपत्रहरू, विक्ली मक टेस्ट आदिको व्यवस्था समेत गरिएको छ । यसबाट अनलाइनमा प्रवेश परीक्षाको तयारी गर्न साढे १० हजार रुपैयाँ तोकिएको छ । 

लर्न एरा

हालै सुरु भएको यस प्लेटफर्मको उद्देश्य नेपालमा अनलाइनबाट ट्युसन पढाउनु हाे । तर यसमा अहिले इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन भइरहेको छ ।

विद्यार्थीलाई आकर्षण गर्न कम्पनीले विभिन्न अफर समेत सञ्चालन गरिरहेको छ । जस्तो; उपत्यका बाहिरको विद्यार्थीले १८ हजारको प्याकेज लिँदा २४ हजारको स्मार्टफोन पनि निःशुल्क दिने, नि:शुल्क टेस्ट कक्षा आदि । 

प्लेटफर्ममा प्रत्यक्ष कक्षा हुनुका साथै रेकर्डेड सामग्री पनि उपलब्ध गराइन्छ । त्यस्तै प्रत्येक मक टेस्टको रेकर्ड हुने गर्छ । यसले गर्दा प्लेटफर्ममा परीक्षा तयारी गर्न आउनेको प्रगति थाहा हुने कम्पनीको विश्वास छ ।

इन्जिनियरिङबाहेक यसमा एमबीबीएसको पनि प्रवेश परीक्षाको तयारी गर्न सकिन्छ ।

पीईए

काठमाडौंमा रहेको यो इन्स्टिच्युट प्रवेश परीक्षा तयारी गर्नेहरूका लागि परिचित नाम हो । यस इन्स्टिच्युटमा अध्ययन गरेका बाजुराका कुशल कार्कीले गत वर्ष आईओईको प्रवेश परीक्षामा पहिलो स्थानमा नाम निकालेका थिए ।

विगत ३० वर्षदेखि प्रवेश परीक्षाको तयारी गराउँदै पीईएले ‘पीईए डिजिटल्स’ अन्तर्गत अनलाइन कक्षा सञ्चालन गर्ने गर्छ । यस अन्तर्गत ‘पीईए मेन्टर्स’ र ‘इन्जिनियरिङ डट’ रहेका छन् ।

विद्यार्थीले पीईए मेन्टर्समा अध्ययन गरी इन्जिनियरिङ डटमा परीक्षा दिने गर्छन् । यसो हुँदा विद्यार्थीले गरेको प्रगतिको विश्लेषण समेत गर्न सकिन्छ । कम्पनीले हाल इन्जिनियरिङ, बीएससी सीएसआईटी लगायत अन्य प्रवेश परीक्षाको तयारी गराइरहेको छ ।

बिट्स इन्जिनियरिङ

प्रवेश परीक्षालाई अनलाइनबाट तयारी गराउने अर्को प्लेटफर्म हो, बिट्स इन्जिनियरिङ । यसमा अहिले इन्जिनियरिङ, बीएससी सीएसआईटी लगायतका शैक्षिक कार्यक्रमकाे प्रवेश परीक्षाका लागि तयारी कक्षा सञ्चालन भइरहेको छ ।

परीक्षाको तयारी गर्न आउने सामुदायिक विद्यालयका विद्यार्थीलाई कम्पनीले छुट दिने जनाएकाे छ । यसबाहेक भर्ना हुनुअघि विद्यार्थी दुई दिनको डेमो कक्षा नि:शुल्क लिन सक्छन् । त्यसो हुँँदा विद्यार्थीले पढाइ कस्तो हुन्छ भन्नेबारे भर्ना हुनु पहिले नै थाहा पाउन सक्छन् । यसमा इन्जिनियरिङको तयारी कक्षाको शुल्क करिब १३ हजार रुपैयाँ रहेको छ ।

बजारमा यी बाहेक अन्य धेरै इन्स्टिच्युट र अनलाइन प्लेटफर्मले भर्चुअल कक्षा सञ्चालन गर्ने गरेका छन् । त्यस्तै भौतिक कक्षा लिने गर्छन् । विद्यार्थी स्वयंले डेमो कक्षा लिएर, विद्यार्थीलाई दिने सुविधा बुझेर र विभिन्न फरक फरक इन्स्टिच्युटबारे तुलना गरेर मात्र भर्ना गर्दा राम्रो हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८० १४:३१