काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनका लागि सहयोग गर्न मोबाइल व्यवसायीलाई आग्रह गरेकी छन् ।
भक्तपुरमा शनिबार आयोजित नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारणसभामा बोल्दै उनले सरकारले कडाइका साथ एमडीएमएस कार्यान्वयन गर्न लागेकाले सहयोग गर्न व्यवसायीलाई आग्रह गरिन् ।
मन्त्री शर्माले मोबाइल आयातलाई भन्दा बिग्रेका मोबाइललाई पुनः प्रयोग गर्न सक्ने खालको उद्योग मुलुकभित्रै सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । त्यस्ता उद्योग सुरु भए रोजगारी बढ्ने र स्वदेशी मुद्रा बाहिरिन न्यूनीकरण हुने भएकाले ती व्यवसायीलाई राज्यले उचित नीतिगत सहयोग गर्न कूल बजेटको एक प्रतिशत रकम लगानी गर्ने सरकारको नीति रहेको मन्त्री शर्माको भनाइ थियो ।