close

इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स, कुन इन्जिनियरिङ गर्ने ?

सञ्जीवन राई सञ्जीवन राई

जेठ ३१, २०८० २०:२

इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स, कुन इन्जिनियरिङ गर्ने ?

काठमाडौं । कक्षा १२ पछि धेरै विद्यार्थीको आकर्षण बन्ने गर्छ, इन्जिनियरिङ । नेपाली विश्वविद्यालयहरूले विभिन्न खालका इन्जिनियरिङ कोर्ष सञ्चालन गरिरहेका छन् । हरेक इन्जिनियरिङको आवश्यकता र महत्त्व उस्तै छ । तर उस्ताउस्तै लाग्ने इन्जिनियरिङ कोर्षहरूमा भने विद्यार्थी झुक्किने गरेकाे पाइन्छ ।

यसै सन्दर्भमा आज हामी त्रिभुवन विश्वविद्यालय (त्रिवि)को बीई ईन इलेक्ट्रिकल इन्जियरिङबीई ईन इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङबारे चर्चा गर्दै छौँ:

यी दुवै कोर्ष त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गत सञ्चालन भइरहेका छन् । झट्ट हेर्दा/सुन्दा यी कोर्ष उस्तै देखिए पनि पूर्णरुपमा फरक छन् । दुवै कोर्षमा फरक-फरक विषयवस्तु समावेश गरिन्छ ।

इलेक्ट्रिकल इन्जिनियरिङ

सरल भाषामा बुझ्दा विद्युत उत्पादन गर्दा आवश्यक पर्ने उपकरण निर्माणबारे यस कोर्षमा पढाइ हुन्छ । साथै उत्पादित बिजुलीलाई ग्राहकको घर तथा कार्यालयमा जडान गर्ने प्रक्रियाबारे पढाइन्छ ।

मुख्यतः हाइड्रोपावर, इलेक्ट्रिकल मसिन, पावर सिस्टम, ट्रान्समिसन एन्ड डिस्ट्रिब्युसन जस्ता विषय यस काेर्षमा पढ्नुपर्छ । इन्जिनियरिङ सकेका विद्यार्थी विद्युत सम्बन्धीका काममा काम गर्न याेग्य हुन्छन् । नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको हुँदा यो कोर्षको महत्त्व सदावहार रहेकाे यस क्षेत्रका विज्ञ तथा शिक्षाविद् बताउँछन् ।

नेपालमा पहिलोपटक इन्जिनियरिङ संस्थान (आईओई)ले यो कोर्ष सुरु गरेको हो । विशेषत: यसमा पावर जेनेरेसन, ट्रान्समिसन र डिस्ट्रिब्युसन अन्तर्गतका विषयहरूको अध्ययन गर्नुपर्छ । यसमा ५४ ओटा विषय पढाइ हुन्छ ।

विद्यार्थीले कोर्षमा सौर्य, जल, वायु आदि थुप्रै प्रकारका विद्युतका स्रोतबारे अध्ययन गर्नुपर्छ । जसरी सिभिल इन्जिनियरले घर बनाउनुअघि नक्सा बनाउने गर्छन् । उसैगरी इलेक्ट्रिकल इन्जिनियरले घर/अपार्टमेन्ट लगायत अन्य ठाउँमा हुने ‘इलेक्ट्रिक म्यापिङ’ बनाउने गर्छन् ।

इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ

यो कोर्ष हार्डवेयर, कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङको मिश्रित कोर्ष हो । यसमा विशेषत: विद्युतीय उपकरण, इलेक्ट्रोनिक कम्पोनेन्ट र सञ्चार प्रणालीबारे पढाइ हुन्छ । यसमा ५० बढी कोर्ष पढ्नुपर्छ ।

२०७५ देखि यस कोर्षमा ‘इन्फर्मेसन’ थपेर इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ बनाइएको छ । योसँगै यस विषयमा सूचना प्रविधिका कुराहरूकाे पनि पढाइ हुन्छ । जसअन्तर्गत टेलिकम्युनिकेसन, वायरलेस कम्युनिकेसन, हार्डवेयर, रोबोटिक्स, कम्प्युटर एप्लिकेसन, इन्टरनेट लगायतका विषय राखिएकाे छ ।

पाठ्यक्रम

दुवै इन्जिनियरिङ कार्यक्रम चार वर्षे (आठ सेमेस्टर) हुन् । सुरुका केही सेमेस्टरहरूमा उस्ता उस्तै कोर्ष अध्यापन गराइन्छ । दुवैमा इन्जिनियरिङ म्याथम्याटिक्स, इन्जिनियरिङ ड्रइङ, फिजिक्स, प्रोग्रामिङ ल्याङ्ग्वेज आदि समान छन् । तेस्रो/चौंथाे सेमेस्टरबाट भने कोर्ष अलि ‘स्पेसलाइज्ड’ हुन थाल्छ । 

इलेक्ट्रिकल इन्जिनियरिङमा फन्डामेन्टल अफ थर्मोडाइनामिक, बेसिक इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोम्याग्नेटिक, पावर सिस्टम एनालिसिस जस्ता विषय पढ्नुपर्छ । यसमा सातौँ र आठौँ सेमेस्टरमा विद्यार्थीले ‘प्रोजेक्ट वर्क’ गर्नुपर्ने हुन्छ । इलेक्टिभ भने यसमा दुई ओटा छ । 

त्यस्तै इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङमा अप्लाइड मेकानिक्स, वर्कशप टेक्नाेलोजी, इलेक्ट्रोम्याग्नेटिसिजम, एड्भान्स्ड इलेक्ट्रोनिक्स जस्ता विषय पढाइ हुन्छ । यसमा छौटौँ सेमेस्टरमा एउटा ‘माइनर प्रोजेक्ट’, सातौँ सेमेस्टरमा प्रोजेक्ट पहिलो र आठौं सेमेस्टरमा प्रोजेक्ट दोस्रो हुन्छ । साथै यसमा तीन ओटा इलेक्टिभ छन् ।


 

पढाइपछिकाे भविष्य

कुनै पनि विषयको अध्ययनपछि विद्यार्थीले उज्ज्वल भविष्य चाहन्छ । यी विषयबारे कुरा गर्दा मूलत: इलेक्ट्रिकल इन्जिनियरिङ गरेकाले विद्युत उत्पादन तथा वितरणका क्षेत्रमा काम गर्न सक्छन् ।

नेपालमा सफल इलेक्ट्रिकल इन्जिनियरिङका उदाहरण नेपाल विद्युत प्रााधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ हुन् । इलेक्ट्रिकल इन्जिनियरिङको कम्युनिटीमा उनी उदाहरणीय पात्र हुन् । समग्रमा यस विषयको अध्ययन गरेका विद्यार्थीले विद्युत उत्पादन, वितरण/प्रसारण, माइक्रोचिप्स निर्माण, न्युक्लियर पावर प्लाट, औद्योगिक क्षेत्र आदिमा काम गर्न सक्छन् ।

यता इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ अध्ययन गरेका  विद्यार्थीले इलेक्ट्रोनिक्स र कम्युनिकेसनको क्षेत्रमा काम गर्न सक्छन् । यसअन्तर्गत टेलिकम्युनिकेसन कम्पनी, सिभिल एभियसन, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ उद्योग, इन्टरनेट सेवाप्रदायक (आईएसपी) कम्पनी जस्ता थुप्रै क्षेत्रमा काम गर्न सक्छन् ।

भर्ना योग्यता र कोटा

यी कोर्षमा भर्ना हुन आईओईले लिने प्रवेश परीक्षामा नाम निकाल्नुपर्छ । तर यी विषय भने विज्ञान सङ्काय (गणित विषयको अध्ययन अनिवार्य)का विद्यार्थीले मात्र पाउँछन् ।

विद्यार्थीले कक्षा ११ र १२ को प्रत्येक विषयमा कम्तीमा ‘सी’ ग्रेड वा ४५ प्रतिशत अङ्क ल्याएको हुनुपर्छ । त्यस्तै विद्यार्थी कोटा भने कलेजको क्षमता अनुसार हुने गर्छ । 

शुल्क र छात्रवृत्ति

प्रवेश परीक्षामा बढी अङ्क ल्याउने विद्यार्थीहरूलाई त्रिविले नियमित छात्रवृत्ति दिने गरेको छ । त्यस्तै निजी कलेजमा कुल विद्यार्थी मध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिइन्छ । यसमा सेमेस्टर टप गर्ने, अनुशासित विद्यार्थी आदि पर्न सक्छन् ।

यी दुवै कोर्षको शुल्क त्रिविको आङ्गिक कलेजमा निकै कम छ । यता सम्बन्धन प्राप्त अन्य कलेजहरूमा भने ती अनुसार फरक फरक शुल्क हुन्छ । औसतमा यी कोर्ष गर्न ३ देखि १० लाख रुपैयाँसम्म शुल्क लाग्ने गर्छ ।

कोर्ष तुलना

त्रिविको यी कोर्ष बारे हामीले माथि नै चर्चा गर्यौं । तल तालिकामा हामीले थप कुरा सहित कोर्ष तुलना गरेका छौं:​

 


 

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० २०:२