close

क्रिप्टोदेखि बेटिङमा गिरोह नै सक्रिय, एउटै व्यक्तिले गरे ६४ करोडको सट्टेबाजी

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ ३२, २०८० १२:६

क्रिप्टोदेखि बेटिङमा गिरोह नै सक्रिय, एउटै व्यक्तिले गरे ६४ करोडको सट्टेबाजी

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेल हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रायः अनलाइन बेटिङका घटनाको अनुसन्धान गरिरहेको हुन्छ । हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुनुअघि पनि कार्यालय चनाखो भएर बसेको थियो । गत मार्च महिनाको दोस्रो सातादेखि विभिन्न तवरबाट अनुसन्धान थालेको प्रहरीले तीन महिनापछि मंगलबार वनएक्स बेटका पाँच जना एजेन्टहरू पक्राउ गरेको छ ।

कार्यालयबाट परिचालन गरिएको विशेष टोलीले चाबहिल बस्ने २९ वर्षीय दिनेश खड्का र उनकी प्रेमिका २८ वर्षीया अनिता धिताल, ठिमीका २७ वर्षीय दिपेश श्रेष्ठ, पेप्सिकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नागार्जुन बस्ने २४ वर्षीय आशिष लामिछानेलाई पक्राउ गरेकाे हाे ।

वनएक्स बेटका 'मास्टर एजेन्ट' दिनेश खड्का यसअघि २०७८ माघ महिनामा खड्का गैर कानूनी क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनले ३७ करोड ६० लाख रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो ।

त्यसबेला उनी आफ्नी प्रेमिका अनिता धिताल, बुवा र बहिनीसँग मिलेर क्रिप्टो कारोबार गरेको प्रहरीको निष्कर्ष थियो । सोही मुद्दामा पक्राउ परेका उनी २५ लाख धरौटीमा छुटेका थिए । त्यसको करिब डेढ वर्षपछि उनी पुनः क्रिप्टो कारोबार र अवैध सट्टेबाजीको मास्टर एजेन्टका रूपमा सक्रिय भएको आरोपमा प्रेमिकासहित पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले अनुसन्धान गर्दै जाँदा सबैभन्दा पहिले नेपालमा एजेन्टका रूपमा सक्रिय ३४ ओटा नामहरू फेला परेको थियो ।

गिरोहसम्म पुग्नका लागि प्रहरीलाई आफै सट्टेबाजीमा संलग्न हुँदै सूचना सङ्कलन गर्नुपर्ने थियो । यसरी विस्तृतमा खोज तथा अनुसन्धान थाल्दा प्रहरी लामो समय लगाएको केसी बताउँछन् ।

भन्छन्, “धेरै सर्वसाधारण खेलाडीको एजेन्टको हामीले डेटा हेर्नुपर्ने अवस्था थियो । र, विभिन्न बैंकको डेटा विश्लेषण गर्नुपर्ने थियो । त्यसैले पहिलो लटमा सानो खेलाडीलाई नभइ एजेन्ट खोज्दै जाँदा अलि बढी समय लाग्यो ।”

यसरी प्रहरीले सबैभन्दा पहिले विभिन्न ३४ ओटा एजेन्टको अकाउन्ट फेला पार्‍यो । त्यसलाई पनि खोज्दै जाँदा प्रमुख २३ जना एजेन्ट भएको तथ्य पत्ता लाग्यो । त्यसबाट पनि प्रमुख एजेन्टसम्म पुग्नु प्रहरीलाई त्यति सजिलो थिएन ।

विभिन्न तरिकाले अनुसन्धान थालेको प्रहरीले वालेट र बैंक अकाउन्टका आधारमा अन्तिममा प्रमुख पाँच जना एजेन्ट पक्राउ गरेको छ । प्रहरीले सबैभन्दा पहिले पत्ता लगाएका एजेन्टका ३४ ओटा अकाउन्टमध्ये १२ ओटा दिनेश खड्का एक्लैले विभिन्न व्यक्तिको नाममा चलाउँदै आएका थिए ।

तिनै खड्का वनएक्स बेटिङका मास्टर एजेन्ट भएको प्रहरीको तर्क छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा खडकाले जङ्गल (Jungle), पुकुडन (Pukudon), पिङ्की (Pinky), पिन्टु (Pintu), पुन्टि (Punti), गुल्लु (Gullu), चिकुवान (Chiku1) र अनियन वान (Onion1) नामको कनेक्ट आईपीएस अकाउन्ट बनाएर कारोबार गरेको देखिएको छ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो कारोबार 

पक्राउ परेका पाँच जनाले हालसम्म ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बढीको सट्टेबाजी गरको प्रहरीको निष्कर्ष छ । “यो हामीले पत्ता लगाएको अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो,” केसी भन्छन्, “थप अनुसन्धान हुँदै जाँदा यो रकम बढ्ने अनुमान गरिएको छ ।”

पक्राउ परेकामध्ये सबैभन्दा बढी कारोबार दिनेश खड्काले गरेको देखिएको छ । उनले विभिन्न अकाउन्टबाट ६४ करोड ७७ लाख ८८ हजार ७७१ रुपैयाँको कारोबार गरेका छन् । खड्कालाई सहयोग गर्ने उनकी प्रेमिका अनिता धिताल क्रिप्टोकारोबारमा समेत सक्रिय रहेको प्रहरीले जनाएको छ । दिनेश र अनिताले साझेदारी गरेर कारोबार गरेकाले उनीहरू दुवैले ६४ करोड बढीको कारोबार गरेको प्रहरीको भनाइ छ । 

त्यस्तै दोस्रो एजेन्टका रूपमा सक्रिय दिपेश श्रेष्ठले पाँच करोड ५४ लाख ६६ हजार रुपैयाँको कारोबार, दिनेश चन्दले ४५ लाख, आशिष लामिछानेले दुई करोड ९८ लाख ९६ हजार सट्टेबाजी गरेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट प्रमाणका लागि डायरी, फोनमा आएका मेसेजका स्क्रिनशट, जिमेलमा आएका ईमेलको स्क्रिनशट सङ्कलन गरेको छ ।

“डायरीमा उसले (दिनेश खड्का) राखेका वनएक्स बेटका डेटा, फोन नम्बर छन्,” केसी भन्छन्, “उसँग भएको पेनड्राइभ, ल्यापटप, फोनहरू बरामद गरेका छौं ।” प्रहरी आएको थाहा पाउनसाथ प्रमाण नष्ट गर्ने उद्देश्यले खड्काले ल्यापटप पछारेर फोडेको प्रहरीको भनाइ छ । “ल्यापटपमा हुने हार्डडिस्कबाट सबै कुरा थाहा पाउन सकिन्छ भन्ने उसले बुझेन । त्यसबाहेक हामीले आवश्यक पर्ने सबै प्रमाण सङ्कलन गरेका छौं,” केसी सुनाउँछन् । 

फरक नामबाट खड्काले गरेको सट्टेबाजी धन्दा

अनुसन्धान अगाडि बढाउने क्रममा प्रहरीले सबैभन्दा पहिले पप्पु नाम भएका एजेन्टले सट्टेबाजी गराइरहेको पत्ता लगायो । “पप्पु भन्ने मान्छे कहाँ छ भन्ने हेर्दा त्यो अकाउन्ट चलाउने मान्छे यही (दिनेश खड्का) रहेछ,” केसी अगाडि भन्छन्, “त्यसैले यो विभिन्न खालका अकाउन्टहरू ऊ आफैले सञ्चालन गरेको अवस्था छ ।” 

त्यस्तै डा. रामबिलास थारूको नाम खोज्दै जाँदा एक वास्तविक मान्छे फेला परे । केसी भन्छन्, “नाम, ठेगाना उसकै भए पनि अकाउन्ट चलाइदिने मान्छे अर्को रहेछ । त्यसैले धेरै अकाउन्ट चलाइदिने मान्छे उही (दिनेश खड्का) थियो ।”

क्रिप्टोसँग बाँझिएको सट्टेबाजी

“यस घटनामा हामीले वनएक्स बेट र क्रिप्टोको कनेक्सन पनि देखेका छौं,” केसी भन्छन्, “बाइनान्स भनेको क्रिप्टोमा जाने गेटवे हो । कति चाहिँ क्रिप्टो किनिदिएर पनि यो वनएक्स बेटमा इन्भेस्ट भएको देखिन्छ ।”

प्रहरीका अनुसार बाइनान्सबाट क्रिप्टो खरिद गरी खड्काले वनएक्स बेटको कम्पनीमा पठाएको देखिएको छ ।

प्रहरीले भने अनुसार क्रिप्टो पाउनुअघि एउटा स्टेबल करेन्सी यूएसडीटी पाउनुपर्ने हुन्छ । प्रारम्भिक अनुसन्धानमा खड्का यूएसडीटी बिक्री गर्ने कार्यमा सक्रिय भएको प्रहरीको भनाइ छ । यसले गर्दा नेपालमा सट्टेबाजीसँगै क्रिप्टो पनि मौलाएको आशंका उब्जिएको छ ।

सट्टेबाजी गराउन सिम, वालेट र बैंक अकाउन्टको दुरुपयोग

सट्टेबाजीका मास्टर एजेन्ट खड्काले विभिन्न नाममा सिमकार्ड लिएर बैंक तथा वालेट अकाउन्ट बनाउथेँ । तिनै बैंक अकाउन्टमा रकम पठाउन भन्थे । र, रकम पठाइसकेपछि प्रयोगकर्ताको अकाउन्टमा वनएक्स बेटले सपोर्ट गर्ने करेन्सी पठाइदिन्थे ।

प्रहरीले संकलन गरेका विभिन्न स्क्रिनशटमा खड्काले प्रयोगकर्तासँग रकम पठाइदिन र आफूले उनीहरूको वनएक्स बेट अकाउन्टमा रकम पठाइदिएको जानकारी दिएको कुरा देख्न सकिन्छ । प्रहरीका अनुसार दिनेशले अलगअलग सिमकार्डबाट विभिन्न बैंक अकाउन्टहरू खोलेका थिए ।

त्यही बैंक अकाउन्ट, फोन नम्बर र वालेट प्रयोग गरी सट्टेबाजी गराउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले ३५ थान विभिन्न कम्पनीको सिमकार्ड बरामद गरेको छ ।

बेटिङ कम्पनीमा अकाउन्टको काम गर्ने नेपाली सीए

पक्राउ परेकामध्ये आशिष लामिछाने पढाइले चार्टर अकाउन्टेन्टको अन्तिम वर्ष अध्ययन गरिरहेका विद्यार्थी हुन् । प्रहरीका अनुसार २४ वर्षका लामिछाने विभिन्न बेटिङ कम्पनीमा अकाउन्टेन्टकै रूपमा काम गरिरहेका थिए । “अन्तर्राष्ट्रिय जुवाको ऊ (आशिष लामिछाने) अकाउन्ट हेरिदिने मान्छे रहेछ,” केसी भन्छन्, “उसले बाहिरका कम्पनीसँग गरेको च्याट हिस्ट्री र अन्य कारोबारका स्क्रिनशट हामीले सङ्कलन गरेका छौं ।”

लामिछानेलाई कमिसन वापत दिइएको ३५ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । उनले नेपालबाट सङ्कलन भएको रकम बाहिर पठाउने र बाहिरको रकम नेपाल ल्याउने गरेको प्रहरीको निष्कर्ष छ । उनीमाथि थप अनुसन्धान गर्न आवश्यक भएको केसीले बताएका छन् । आशिषको यो कारोबार हुण्डीसँग जोडिएको प्रहरीको आशंका छ । 

पक्राउ परेका पाँचै जनामाथि जुवा ऐन अन्तर्गतको कसूरमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीको भनाइ छ । 

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १२:२५