close

कम्प्युटर इन्जिनियरिङ वा कम्प्युटर साइन्स, तपाईँका लागि कुन राम्रो ?

सञ्जीवन राई सञ्जीवन राई

असार २, २०८० १५:५९

कम्प्युटर इन्जिनियरिङ वा कम्प्युटर साइन्स, तपाईँका लागि कुन राम्रो ?

काठमाडौं । कम्प्युटर । आधुनिक युगको सहयात्री । यस उपकरणले हाम्रो दैनिकी नै परिवर्तन गरिदिएको छ । केही दशक अघिसम्म घरमा कम्प्युटर हुनु प्रतिष्ठाको विषय थियो । तर अहिले आवश्यकता बनेको छ । यसको महत्त्व दिनानुदिन बढ्दाे छ ।

यसबाट धेरै काम सम्पन्न गर्न सकिन्छ । कम्प्युटर र यस क्षेत्रमा नयाँ-नयाँ खोज अनुसन्धानसमेत भइरहेका छन्, जसका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ । यसकारण विद्यालय तथा विश्वविद्यालयहरूले यससम्बन्धी कोर्ष सञ्चालन गरिरहेका छन् ।

नेपालमा विद्यालय तहदेखि नै कम्प्युटर पढाइन्छ । तर स्नातक तहदेखि ‘स्पेसलाइज्ड’ पढाइ हुन्छ । प्रविधिमा रुचि भएका विद्यार्थीहरूले कक्षा १२ पछि स्नातक तहमा ‘स्पेसलाइज्ड’ कोर्ष पढ्न सक्छन् ।​ बीएससी इन कम्प्युटर साइन्स (ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स) र कम्प्युटर इन्जिनियरिङ (ब्याचलर अफ इन्जिनियरिङ इन कम्प्युटर इन्जिनियरिङ) पनि ‘स्पेसलाइज्ड’ कोर्षका विकल्प हुन् ।

आज हामी काठमाडौं विश्वविद्यालय अन्तर्गत सञ्चालन भइरहेका यी दुई शैक्षिक कार्यक्रमबारे चर्चा गर्दैछौँ:

परिचय

यी दुवै कोर्ष केयूको ‘कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभाग’ अन्तर्गत सञ्चालन भइरहेका छन् । यद्यपि कम्प्युटर इन्जिनियरिङ, स्कुल अफ इन्जिनियरिङकाे र कम्प्युटर साइन्स, स्कुल अफ साइन्सको कोर्ष हो ।

नेपालमा केयूबाहेक त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतले यस प्रकारका कोर्ष सञ्चालन गरिरहेका छन् । साथै विदेशी विश्वविद्यालयका कोर्ष पनि पढाइ भइरहेको छ ।  

सरल भाषामा बुझ्दा कम्प्युटर साइन्स कम्प्युटरका सिद्धान्त र सफ्टवेयरमा केन्द्रित हुन्छ । विद्यार्थीहरूले यस विषयको अध्ययनपछि कम्प्युटर सिस्टम पर्फर्मेन्स आदिबारे थाहा पाउँछन् । विशेषगरी यो सिद्धान्तसँग सम्बन्धित हुने गर्छ । यता कम्प्युटर इन्जिनियरिङ भने कम्प्युटर डिजाइन र हार्डवेयरमा केन्द्रित हुने हुन्छ । यो सिद्धान्तभन्दा अलि व्यवहारिक सिकाइमा केन्द्रित भएको विषय हो ।

तर मदरबोर्ड, कम्प्युटर मेमोरी बनाउने कम्पनीहरू नेपालमा कम संख्यामा हुँदा कम्प्युटर इन्जिनियरिङको प्रभावकारिता कम भएको केयूको उक्त विभागका सहप्राध्यापक डा. रविन्द्र विष्ट बताउँछन् । कम्प्युटर इन्जिनियरिङको सन्दर्भमा विश्वविद्यालय तथा उद्योगहरू हार्डवेयर र कम्युनिकेसनका प्रोटोकलहरूको डिजाइन, डेभलपमा केन्द्रित हुन नसकेको उनको बुझाइ छ ।

यसको कारण कम्प्युटर इन्जिनियरिङसहित यहाँ पढाइ हुने अन्य विभिन्न आईटी कोर्षको ‘अब्जेक्टिभ’ सफ्टवेयर डेभलप गर्नु रहेको उनी बताउँछन् ।

साथै केयूमा कम्प्युटर साइन्सको कोर्ष अलि बढी लचिलो भएको उनको भनाइ छ । “कम्प्युटर इन्जिनियरिङको कोर्ष परिमार्जन गर्दा, कोटा थपघट गर्दा नेपाल इन्जिनियरिङ काउन्सिलको अनुमति लिनुपर्ने हुन्छ । कम्प्युटर साइन्समा भने त्यस्तो नियम छैन । यसकारण यो मामलामा विश्वविद्यालय अलि लचिलो छ,” उनी भन्छन् ।   

कम्प्युटर इन्जिनियरिङ 

यो चार वर्षे (आठ सेमेस्टर) १४३ क्रेडिट आवरको कोर्ष हो । यसमा कम्प्युटर, कम्युनिकेसन लगायत विभिन्न डिभाइसहरूको डिजिटल हार्डवेयर सिस्टमको डिजाइन गर्ने विषय पढ्नुपर्छ । साथै विद्यार्थीले सफ्टवेयर र डिजिटल डिभाइसबीचको फरकबारे पनि अध्ययन गर्छन् ।

यस कोर्षको अध्ययन गरेका जनशक्तिले कम्प्युटर हार्डवेयरको डिजाइन, कम्प्युटर सिस्टमको परीक्षण तथा निरीक्षण गर्नुपर्ने हुन्छ । यसका लागि उनीहरूले निम्न सीप हासिल गर्छन्:

-कोडिङ, टेस्टिङ, प्रोग्राम डिजाइनमा निपुण 

-कम्प्युटर हार्डवेयरबारे ज्ञान तथा सीप

-प्रोग्रामिङ ल्याङ्ग्वेजमा दक्षता

-सामान्य गणितमा गहिरो ज्ञान 

कम्प्युटर साइन्स

यो ४ वर्षे (आठ सेमेस्टर) १४० क्रेडिट आवरको कोर्ष हो । यसमा रोबोटिक्स, कम्प्युटर भिजन, आर्टिफिसियल इन्टेलिजेन्स, बायो इन्फर्मेटिक्स लगायत विभिन्न क्षेत्रको सैद्धान्तिक र एल्गोरिदम फाउन्डेसन आदि पढ्नुपर्छ ।

केयूमा यो कोर्ष नेपालमा नै पहिलो पटक सन् १९९४ बाट पढाइ हुन थालेको हो । यस कोर्ष अध्ययन गरेका विद्यार्थीले निम्न सीप हासिल गर्न सक्छन्:

-सफ्टवेयर डेभलपमेन्ट

-प्रोग्रामिङ ल्याङ्ग्वेजमा दक्षता

-लाइनर अल्ज्रेबा तथा स्ट्याटिसटिक्स जस्ता गणितका विषयमा पोख्त

-टेक्निकल राइटिङ स्किल 

 

अध्ययनपछिको अवसर 

करियरको कुरा गर्दा यी दुवै सम्भावना भएका क्षेत्र हुन् । यी दुवै अध्ययन गर्ने विद्यार्थीले एउटै काम पनि गर्न सक्छन् । कम्प्युटर साइन्स उत्तीर्ण विद्यार्थीले निजी क्षेत्रमा काम गर्न समस्या नभए पनि सरकारी जागिरका लागि भने समस्या भएको विभागका सहप्राध्यापक डा. विष्ट बताउँछन् ।

लोकसेवा आयोगले कम्प्युटर इन्जिनियरिङको माग गरेता पनि कम्प्युटर साइन्सको माग नगर्ने उनको भनाइ छ । समग्रमा यी विषयपछि विद्यार्थीले निम्न अवसर प्राप्त गर्छन् ।

कम्प्युटर साइन्स 

-डेटाबेस एड्मिनिस्ट्रेटर 

-डेटा वैज्ञानिक 

-सिस्टम एनालिस्ट

-सफ्टवेयर डेभलपर 

-वेब डेभलपर

-सफ्टवेयर क्वालिटी एस्योरेन्स

-कम्प्युटर प्रोग्रामर आदि

कम्प्युटर इन्जिनियर 

-कम्प्युटर आर्किटेक्ट

-सर्किट डिजाइनर

-कम्युनिकेसन इन्जिनियर

-नेटवर्क सिस्टम इन्जिनियर

-नेटवर्क आर्किटेक्ट

-सिस्टम प्रोग्रामर

-हार्डवेयर इन्जिनियर आदि ।

पाठ्यक्रम 

यी दुवै कोर्षमा चौँथाे सेमेस्टरसम्म उस्तै विषयहरू राखिएको छ । पाँचौं सेमेस्टरबाट भने सम्बन्धित विषयको सुरु पढाइ हुन्छ । दुवै कोर्षमा तेस्रो सेमेस्टरदेखि ‘प्रोजेक्ट’ सुरु हुन्छ । त्यसमा विद्यार्थीले कम्प्युटर सम्बन्धी परियोजना बनाउनुपर्ने हुन्छ ।

सातौँ सेमेस्टरमा कम्प्युटर साइन्सका विद्यार्थीले दुई इलेक्टिभ विषय पढ्नुपर्छ । यता कम्प्युटर इन्जिनियरिका विद्यार्थीले भने सातौँ र आठौँ गरी दुई सेमेस्टरमा दुई ओटा इलेक्टिभ विषय पढ्नुपर्छ । तर यी दुई कोर्षमा भएका इलेक्टिभ कोर्षहरू एउटै छन् । दुवै विषय अध्ययन गरेका विद्यार्थीले आठौँ सेमेस्टरमा अनिवार्य इन्टर्नशिप गर्नुपर्ने हुन्छ ।

कम्प्युटेसनल अपेरेसन रिसर्च, थ्यौरी अफ कम्प्युटेसन, ग्राफ थ्यौरी, ह्युमन कम्प्युटर इन्टरएक्सन (एचसीआई) लगायत विषय कम्प्युटर साइन्समा मात्र पढाइ हुन्छ । इन्स्ट्रुमेन्टेसन एन्ड कन्ट्रोल, ल्याब्रोटरी वर्क, प्रिन्सिपल अफ इन्जिनियरिङ ल्याङ्ग्वेज, अपेरेसन रिसर्च, इम्बेडेड सिस्टम जस्ता विषय कम्प्युटर इन्जिनियरिङमा मात्र पढाइ हुन्छ । यी दुवै कोर्षको पाठ्यक्रम तलको तालिकामा राखिएको छ:

भर्ना योग्यता

केयूको कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न कक्षा ११ र १२ मा भौतिक विज्ञान (फिजिक्स) को अध्ययन अनिवार्य छ । यता कम्प्युटर साइन्समा भने रसायनशास्त्र (केमेस्ट्री) अथवा जीव विज्ञान (बायोलोजी) लिएका विद्यार्थी पनि भर्ना हुन सक्छन् ।

तर दुवै विषय अध्ययन गर्न चाहने विद्यार्थीले हरेक विषयमा कम्तीमा ५० प्रतिशत अङ्क भने ल्याएको हुनुपर्छ । साथै गणितको अध्ययन पनि अनिवार्य छ । 

शुल्क, कोटा र छात्रवृत्ति 

केयूमा यी कोर्ष गर्न साढे आठ लाख शुल्क तोकिएको छ । दुवै कोर्षमा विद्यार्थी कोटा ६०/६० निर्धारण गरिएको छ । त्यस्तै भर्नाका लागि लिने प्रवेश परीक्षामा प्रथम स्थानमा आउने तथा सेमेस्टरमा पहिलो हुने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था समेत केयूले गरेको छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८० १९:४०