close

‘प्लस टु’ मा म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ब्याचलरमा यस्ता छन् उपयोगी आईटी कोर्ष

सञ्जीवन राई सञ्जीवन राई

असार ५, २०८० १६:४०

‘प्लस टु’ मा म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ब्याचलरमा यस्ता छन् उपयोगी आईटी कोर्ष

काठमाडौं । माध्यमिक तह (कक्षा ११ र १२) मा म्यानेजमेन्ट (व्यवस्थापन) अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा प्रायः यसैसम्बन्धी अध्ययन गर्छन् ।

हाल नेपालमा स्नातक तहमा बीबीए, बीबीएस लगायत एक दर्जन बढी व्यवस्थापनका विषयहरूकाे पढाइ हुन्छ । तर विद्यार्थीले सूचना प्रविधि (आईटी) सम्बन्धी विषय अध्ययन गर्न चाहे त्यो पनि सम्भव छ ।

अझ ‘म दुवै विषय अध्ययन गर्छु’ भन्दा यो विकल्प पनि खुला नै छ । व्यवस्थापन र आईटीलाई मिसाएर बनाइएका कोर्षहरूमा विद्यार्थीहरू भर्ना हुन सक्छन् । यस खालका कोर्षहरू विश्वविद्यालय अनुसार फरक-फरक छन् ।

नेपाली विश्वविद्यालय

बीआईएम (BIM)

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायले बीआईएम कोर्ष सञ्चालन गरिरहेको छ । पूरा रुप ‘ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट’ रहेको यो चार वर्ष (आठ सेमेस्टर)को कोर्ष हो । कुल १२६ क्रेडिट आवर भएको यो कोर्षमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत व्यवस्थापनको विषय छ ।

बीआईएममा २४ क्रेडिट आवरको फाउन्डेसन कोर्ष, ३० क्रेडिट आवरको बिजनेस कोर्ष, ६० क्रेडिट आवरको आईटी एण्ड कम्प्युटर कोर्ष, ६ क्रेडिट आवरको इलेक्टिभ कोर्ष र ६ क्रेडिट आवरको अनिवार्य इन्टर्नशिप छ ।

कोर्षबारे पूरा जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

बीबीआईएस (BBIS)

काठमाडौं विश्वविद्यालयको ‘ब्याचलर अफ बिजनेस इन्फर्मेसन सिस्टम’ (बीबीआईएस) कोर्ष डिपार्टमेन्ट अफ म्यानेजमेन्ट इन्फर्मेटिक्स एन्ड कम्युनिकेसनले सञ्चालन गरिरहेकाे छ ।

यस कोर्षको अवधि चार वर्ष (आठ सेमेस्टर) रहेको छ । कोर्षमा पहिलोदेखि सातौं सेमेस्टरसम्म प्रत्येकमा १८ र आठौं सेमेस्टरमा १५ गरी यो कूल १४१ क्रेडिट आवर रहेको छ ।

यसमा सूचना प्रणाली, सूचना प्रविधिसँग व्यापार/व्यवसायका विषयहरु राखिएको छ । सन् २०१४ देखि यो कोर्ष काठमाडौं विश्वविद्यालयले सुरु गरेको हो । यसमा भर्ना हुन कक्षा १२ मा प्रत्येक विषयमा ‘डी प्लस’ अथवा १.६ सीजीपीए ल्याएको हुनुपर्छ ।

यस कोर्षको शुल्क साढे आठ लाख रुपैयाँ रहेको छ । हाल यो शैक्षिक कार्यक्रम केयू स्कुल अफ म्यानेजमेज्ट र लिटिल एन्जल्स कलेज अफ म्यनेजमेन्ट (एलएसीएम) ललितपुरमा सञ्चालन भइरहेको छ ।

कोर्षबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

बीसीआईएस (BCIS)

पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (बीसीआईएस) १२७ क्रेडिट आवरको कोर्ष हो । चार वर्षे (आठ सेमेस्टर) यो कोर्षलाई विश्वविद्यालयको ‘व्यवस्थापन’ सङ्काय अन्तर्गत राखिएको छ ।

यसमा ६० प्रतिशत आईटी र ४० प्रतिशत व्यवस्थापनका विषयहरू राखिएको छ । कुनै पनि कम्पनी/संस्था चलाउन आईटी र व्यवस्थापन दुवै विषयको ज्ञान भएको जनशक्ति उत्पादन गर्नु कोर्षको लक्ष्य छ ।

यो कोर्ष अध्ययन गर्न कक्षा १२ को प्रत्येक विषयमा 'सी' ग्रेड अथवा २.० सीजीपीए ल्याउनुपर्छ । त्यस्तै शुल्क भने कलेज अनुसार फरक-फरक छ । औसतमा यस कोर्षको शुल्क ६-८ लाख रुपैयाँ छ । यो कोर्ष निम्न कलेजहरूमा पढाइ हुन्छ:

-केन्द्रीय क्याम्पस (पाेखरा विश्वविद्यालय), कास्की

-मेधावी कलेज, काठमाडौं

-एपेक्स कलेज, काठमाडौं

-नोबेल कलेज, काठमाडौं

-बोस्टन इन्टरनेसनल कलेज, चितवन

-क्रिमसन कलेज अफ टेक्नोलोजी, रुपन्देही


विदेशी विश्वविद्यालय

बीबीए डिजिटल मार्केटिङ (BBA Digital Marketing)

किङ्ग्स कलेज, काठमाडौंले अमेरिकी वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएर यो कोर्ष सञ्चालन गरिरहेको छ । चार वर्षे यो कोर्ष १२० क्रेडिट आवरको हो । कोर्षमा जेनेरल कोर्ष ३०, बिजेनस कोर्ष ६० क्रेडिट, डिजिटल मार्केटिङ मेजर ३० क्रेडिट आवरको रहेको छ ।

यस कोर्ष अध्ययन गर्ने विद्यार्थीले समग्रमा व्यापार बाहेक डिजिटल मार्केटिङबारे थाहा पाउँछन् । यसअन्तर्गत सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), सोसल मिडिया मार्केटिङ (एसएमएम), वेब डेटा एनालिसिस, डिजटल एनालिक्ट आदि विषय पर्छन् । 

कक्षा ११ र १२ मा प्रत्येक विषयमा कम्तीमा ‘डी प्लस’ अथवा ४५ प्रतिशत अङ्क प्राप्त गरेका विद्यार्थी यस कोर्षमा भर्ना हुन सक्छन् । यसको शुल्क करिब १० लाख रुपैयाँ रहेको छ । त्यस्तै कलेजले प्रत्येक इन्टेकमा ६० विद्यार्थीको भर्ना लिने गर्छ ।

बीबीए विथ स्पेसलाइजेसन इन डिजिटल बिजनेस म्यानेजमेन्ट (BBA with Specialisation in Digital Business Management)

इस्लिङ्टन कलेज, काठमाडौंले सञ्चालन गरिरहेको यो कोर्ष बेलायतको मेट्रोपोलिटन विश्वविद्यालयको हो । चार वर्षे बीए (अन्स) बिजनेस एड्मिनिस्ट्रेसनको ‘स्पेसलाइज्ड कोर्ष’को रूपमा ‘डिजिटल बिजनेस म्यानेजमेन्ट’ रहेको छ ।

यसमा विद्यार्थीले स्ट्राटेजिक एनालिसिस, स्ट्राटेजिक कन्सेप्चुअलाइजेसन, डिजिटल बिजनेस म्यानेजमेन्ट जस्ता विषयमा ज्ञान प्राप्त गर्छन् ।

कोर्षले विद्यार्थीलाई व्यापारको डिजिटलाइजेसन सँगै एआई, बिग डेटा, डिजिटल मार्केटिङ आदि विषयहरू बारे ज्ञान तथा सीप प्रदान गर्छ । यो ४२० क्रेडिट आवरको चार वर्षे कोर्ष हो । यसमा भर्ना हुन कक्षा १२ मा २.२ सीजीपीए वा ५५ प्रतिशत भन्दा धेरै प्राप्ताङ्क ल्याएको हुनुपर्छ । यसको शुल्क करिब १३ लाख रुपैयाँ छ ।

बीए (अनर्स) मार्केटिङ विथ डिजिटल कम्युनिकेसन (BA (hons) Marketing with Digital Communication)

काठमाडौं मैतिदेवीमा रहेकाे सनवे कलेजले स्‍नातक तहमा बेलायतस्थित बर्मिङ्घम सिटी युनिभर्सिटी (बीसीयू) को यो कोर्ष सञ्चालन गरिरहेको छ  यो ४८० क्रेडिट आवरको चार वर्षे कोर्ष हो । 

आफैं उद्यम गर्न वा यसको व्यवस्थापन सम्हाल्न‍ चाहिने डिजिटल मार्केटिङ जस्ता विषय यस काेर्षमा समेटिएको छ । जसमा कन्टेन्ट मार्केटिङ, क्रियटिभ कन्सेप्ट एन्ड डिजाइन, मार्केटिङ कम्युनिकेसन्स प्लानिङ, एक्सपेरियन्स डिजाइन जस्ता विषय छन् ।

यो विषय अध्ययनका लागि कम्तीमा २.४ सीजीपीए अथवा ५५ प्रतिशतभन्दा धेरै  प्राप्ताङ्क ल्याएकाे हुनुपर्छ । कलेजले एक इन्टेकमा १०० जना विद्यार्थीहरुकाे भर्ना लिने गरेकाे छ । यस विषयको शुल्क भने करिब १० लाख रुपैयाँ रहेको छ ।

यी माथिका कोर्षहरू व्यवस्थापन र आईटीका विषयहरू मिसाएर बनाएका हुन् । यी दुवै विषयमा रुचि भएकाले ती पढ्न सक्छन् । यद्यपि यी बाहेक बीसीए, बीआईसीटीई जस्ता ‘ओपन स्ट्रिम’ अर्थात् माध्यमिक तहमा जुनै विषय पढे पनि पढ्न पाउने विषयमा विद्यार्थीहरू भर्ना हुन सक्छन् ।

पछिल्लो अध्यावधिक: असार ५, २०८० १६:५२