close

फोटो वा डकुमेन्टमा भएका संवेदनशील विवरण लुकाउने सजिलो तरिका

टेकपाना टेकपाना

असार ६, २०८० १०:५१

फोटो वा डकुमेन्टमा भएका संवेदनशील विवरण लुकाउने सजिलो तरिका

काठमाडौं । प्रायः सबैले बोक्ने फोनमा फोटो शेयर गर्न सकिने सुविधा दिइएको हुन्छ । यो फिचर अहिलेको जमानामा पनि उत्तिकै आवश्यक छ । कहिलेकाहीँ फोटो शेयर गर्दा त्यसमा हाम्रो संवेदनशील जानकारी पनि गइदिन्छ ।

सामाजिक सञ्जालमा यस्ता संवेदनशील जानकारी बाहिरिएको खण्डमा हाम्रो गोपनीयता भङ्ग हुन्छ ।  त्यसैले सजग भई आफ्ना विवरण लुकाएर मात्र फोटो शेयर गर्नुपर्ने हुन्छ ।

विशेषगरी नागरिकता, पासपोर्ट, लाइसेन्स जस्ता कागजात सामाजिक सञ्जालमा राख्दा त्यसमा संवेदनशील विवरण ब्लर गर्नुपर्ने हुन्छ । आज हामी विभिन्न कागजातमा भएका संवेदनशील विवरण कसरी लुकाउने भन्ने विषयमा जानकारी दिँदैछौं । 

-फोनमा भएको डिफल्ट फोटो एडिटरबाट संवेदनशील जानकारीलाई ढाक्ने 

हामी अधिकांशले बोक्ने एन्ड्रोइड फोनमा डिफल्ट रूपमा फोटो एडिटिङको सुविधा दिइएको हुन्छ । पछिल्लो समय बजारमा आएका डिभाइसमा हुने डिफल्ट फोटो एडिटरबाट फोटोमा आफूले चाहेको भाग ब्लर गर्न सकिन्छ ।

तर, सबै डिभाइसमा यो सुविधा नहुन सक्छ । यदि ब्लर गर्ने अप्सन छ भने सोझै ब्लर गर्न सकिन्छ । यति ब्लर गर्ने अप्सन छैन भने प्रायः सबै डिभाइसको डिफल्ट एडिटरमा टेक्स्ट राख्ने सुविधा भने हुन्छ ।

यस्तोमा सबैभन्दा पहिले आफूले जानकारी ढाक्न चाहेको फोटो छान्नुहोस् । अनि त्यसको तरल भएको एडिटको अप्सनमा जानुहोस् । यति गरेपछि तपाईंले टेक्स्ट वा ईमोजीको अप्सन देख्न सक्नुहुन्छ । 

- तपाईंले टेक्स्टमा गइ कीबोर्डबाट आफूलाई उपयुक्त लाग्ने ईमोजी छानेर वा सोझै ईमोजीको अप्सनबाट त्यहाँ देखाइएका ईमोजी छान्नुपर्ने हुन्छ । 

- त्यसपछि आफूले ढाक्न चाहेको जानकारीको माथि ईमोजीलाई लगेर राख्नुहोस् । 

- यसरी फोटोमा भएको संवेदनशील जानकारी ढाक्न सकिन्छ । 

फोटो एडिटरको सहायताले फोटोमा भएका व्यक्तिगत जानकारी लुकाउने

 एन्ड्रोइडका लागि त्यस्ता थुप्रै एपहरू छन् जसको सहायताले आफूले चाहे जस्तै फोटो एडिट गर्न सकिन्छ । एन्ड्रोइडमा उपलब्ध हुने ती एपको प्रयोग गरेर पनि तपाईं फोटोमा भएका आफ्ना व्यक्तिगत विवरणहरू लुकाउन सक्नुहुन्छ । फोटोमा भएका व्यक्तिगत विवरण लुकाउन क्यान्भा स्क्रिनमास्टर नामका दुई निःशुल्क उपलब्ध हुने एप प्रयोग गर्न सक्नुहुन्छ । 

क्यान्भा एन्ड्रोइड एपमा फोटोमा भएका व्यक्तिगत विवरण लुकाउन तलको प्रक्रिया अपनाउनुहोस्:

- सबभन्दा पहिले माथि दिइएको लिङ्कमा गएर क्यान्भा एप खोल्नुहोस् । 

- अनि प्लसको बटनमा ट्याप गर्नुहोस् । 

- त्यसपछि मोर ‘वेज टु क्रियट’को अप्सनमा जानुहोस् । र, आफूले एडिट गर्न चाहेको फोटो छान्नुहोस् । 

- अनि आफूलाई उपयुक्त हुने आकार छानेर ‘क्रियट’ (Create) को अप्सनमा ट्याप गर्नुहोस् । 

- त्यसपछि तपाईंले आफ्नो फोटोमा स्ट्रिकर वा कुनै आकार छानेर संवेदनशील विवरण लुकाउन सक्नुहुन्छ । 

यसरी नै अन्य एडिटरबाट पनि फोटोमा भएको संवेदनशील विवरण हटाउन सकिन्छ । तपाईंले फोटो खिच्दा नै संवेदनशील विवरण भएको ठाउँमा केही कुराले ढाकेर पनि फोटो खिच्न सक्नुहुन्छ ।

त्यसैगरी यस्ता एडिटरबाट त्यस्ता विवरणलाई क्रप गरेर पनि हटाउन पनि सक्नुहुन्छ । विशेषगरी कतै भेटाएको व्यक्तिगत विवरण भएका कागजात सामाजिक सञ्जालमा राख्दा माथिका तरिका अपनाएर व्यक्तिगत विवरण लुकाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार ६, २०८० १०:५१