close

डराउँदा डराउँदै बुबाको खुसीकै लागि समुद्र मुनीको यात्रामा गएका थिए १९ वर्षीय किशोर

टेकपाना टेकपाना

असार ८, २०८० १६:२५

डराउँदा डराउँदै बुबाको खुसीकै लागि समुद्र मुनीको यात्रामा गएका थिए १९ वर्षीय किशोर

काठमाडौं । आइतबार एटलान्टिक महासागरमा एक शताब्दी अगाडि दुर्घटनामा परेको टाइटनिक जहाजको भग्नावशेष हेर्न गएका पाँचै जनाको निधन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार नै पनडुब्बी विस्फोट हुँदा त्यसमा सवार पाँच जनाकै निधन भएको हो ।

पनडुब्बीमा पाकिस्तानी मूलका ४८ वर्षीय ब्रिटिश धनाढ्य शाहजादा दाउद र उनका १९ वर्षीय छोरा सुलेमान दाउद, ५८ वर्षीय  ब्रिटिश अर्बपति हमिश हार्डिङ, ७७ वर्षीय अन्वेषक पल-हेन्री नार्गेओ र टाइटानिकसम्मको यात्रा गराउने ओसनगेट कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी ६१ वर्षीय स्टक्टन रश सवार थिए ।

अरू व्यक्ति आफ्नो रहर र साहसिक यात्रामा निस्किए पनि १९ वर्षीय सुलेमन आफ्नो बाबुको दबाबले गर्दा यात्रामा निस्किएका थिए । सुलेमानलाई यात्रामा निस्किन डर लागेको भए पनि फादर्स डे (Father’s Day) मा आफ्नो बाबुको चित्त दुखाउन नचाहेर यात्रामा निस्किएका थिए ।

एनबीसी न्युजका अनुसार सुलेमानकी काकीले उनी यात्रामा निस्किन डराएको र बाबुको करले गर्दा मात्र बाबुसँगै जान बाध्य भएको कुरा खुलाएकी छिन् ।

एनबीसीसँग कुरा गर्दै सुलेमानका काकी अज्मेह दाउदले भनिन्, “सुलेमानले हामीलाई यो यात्राका लागि तयार नभएको तर बाबुलाई खुसी पार्न बाध्य भएर यात्रामा निस्किन लागेको बताएका थिए । सन् १९१२ मा भएको टाइटनिक दुर्घटनाले गर्दा उनी त्यस यात्रामा निस्किन डराएका हुन् ।”

सञ्चित अक्सिजन सकिँदै गएपछि उनीहरूको अवस्था सम्झिँदा पनि आफ्नो सास रोकिने गरेको उनले बताइन् । आफूलाई कसैले लाखौं डलर दिने वाचा गरे पनि आफू पनडुब्बीमा नजाने उनको भनाइ छ ।

ओसनगेट नामक कम्पनीले शताब्दी अगाडि दुर्घटनामा परेको टाइटनिक जहाजको भग्नावशेष देखाउनका लागि पनडुब्बी सञ्चालनमा ल्याएको थियो । उक्त पनडुब्बीमा सवार भइ यात्रा गर्न प्रति व्यक्ति दुई लाख ५० हजार अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।

२२ फुटको उक्त पनडुब्बीमा पाँच व्यक्ति अटाउन सक्छन् । जसमा ९६ घण्टाका लागि अक्सिजन सञ्चित हुनेगर्छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८० १६:३९