काठमाडौं । डिस्प्लेको गुणस्तर निर्धारण गर्ने एउटा आधार रिफ्रेस रेट पनि हो । तर मनिटर वा डिस्प्लेको रिफ्रेस रेट कसरी थाहा पाउने ? मनिटरको लेभलमा लेखेको हेरेर मात्र त पुग्दैन । बरु तपाईंले ‘रियल टाइम’मा टेस्ट गरेर डिस्प्लेको रिफ्रेस रेट थाहा पाउन सक्नुहुन्छ । यसका लागि केही टुलको प्रयोग गरिन्छ ।
के हो रिफ्रेस रेट ? यो किन परीक्षण गर्ने ?
धेरै तस्वीरहरूको ‘सिक्वेन्स’बाट स्क्रिनमा भिजुअल बन्ने गर्छ । ती जति चाँडो हुन्छन्, तब चलचित्र बन्न जान्छ । त्यस गतिलाई ‘फ्रेम्स पर सेकेन्ड’ अथवा एफपीएस भनेर चिनिन्छ । मनिटरले एक सेकेन्डमा धेरै फ्रेमहरू रेन्डर गर्ने क्षमता राख्छ ।
सामान्य भाषामा बुझ्दा प्रत्येक सेकेन्डमा डिस्प्लेले देखाउने फ्रेमलाई रिफ्रेस रेट भनिन्छ । यो जति धेरै बढी भयो, त्यति नै राम्रो तस्वीर प्राप्त हुन्छ ।
यसकारण गेमर वा भिडिओ एडिटरले मनिटर खरिद गर्नुअघि रिफ्रेस रेटको परीक्षण गर्न आवश्यक छ । आज हामी तपाईंलाई केही वेबसाइटबारे जानकारी दिने छौं:
टेस्ट युएफओ (Test UFO)
रिफ्रेस रेट परीक्षण गर्नलाई यो निकै सरल वेबसाइट हो । यसले स्वत: ब्राउजर ‘सिङ्क’ गर्छ । यसबाट रिफ्रेस रेट परीक्षण गर्न यहाँ क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले केही गर्नु पर्दैन । यसको मध्य भागमा नतिजा देखिन्छ । तर यसमा यस्तो गर्दा ब्राउजरमा खोलिएका ट्याबहरू भने बन्द गर्नुपर्छ । त्यस्तै इन्टरनेटको गति सुस्त भए पनि नतिजा प्राप्त हुँदैन ।
डिस्प्ले एचजेड (DisplayHZ)
यसको डिजाइन निकै नै सामान्य छ । तपाईंले त्यहाँ केही पनि गर्नुपर्दैन । यहाँ क्लिक गरेर वेबसाइटमा जानुहोस् ।
स्क्रिनको मध्य भागको माथि तिर तपाईंले मनिटरको रिफ्रेस रेट देख्न सक्नुहुन्छ । यसले नतिजा पनि केही समयमा नै दिने छ । यसले नतिजा देखाउँदा टेस्ट युएफओभन्दा थप दशमलव देखाउँछ ।
डिस्प्ले टेस्ट (Lab Pinto Dev)
डिजाइन निकै सामान्य रहेको यो टुलले एउटा अङ्कमा मात्र नतिजा देखाउँछ । यसले धेरै ओटा ब्राउजमा काम गन सक्छ ।
यसमा युआईको रङ्ग पनि परिवर्तन गर्न सकिन्छ । औसत ५ सेकेन्डमा यसले नतिजा दिने गर्छ । आफ्नो मनिटरको रिफ्रेस रेट परीक्षण गर्न यहाँ क्लिक गर्नुहोस् ।
इजो मनिटर टेस्ट (EIZO MONITOR TEST)
यसले रिफ्रेस रेट मात्र परीक्षण गर्दैन । बरु मनिटरसँग सम्बन्धित अन्य कुराहरूको समेत यसले परीक्षण गर्छ । जस्तो: सार्पनेस, भ्युइङ एङ्गल, डिफेक्टिभ पिक्सेल आदि ।
तपाईंले यसमा पहिल्यै टेस्ट गरेका कुराहरूको ‘हिस्ट्री’ समेत हेर्न सक्नुहुन्छ । वेबसाइटमा जान साथै कुनकुन कुराको परीक्षण गर्ने भनेर तपाईंले चयन गर्नुपर्ने हुन्छ । त्यहाँ कसरी यो चलाउने भन्ने कुरा पनि उल्लेख गरिएको छ । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
फ्रेम्स पर सेकेन्ड (Frames Per Second)
रिफ्रेस रेट पत्ता लगाउने अन्य वेबसाइटभन्दा यसले भिन्न तरिकाले काम गर्छ । किनकी यहाँ रिफ्रेस रेट बुझाउन भिडिओ नै ‘प्ले’ भइरहन्छ । वेबसाइटमा जाँदा दुई वस्तुहरू भिन्न गतिमा ओहोरदोहोर गरिरहेको देख्न सकिन्छ ।
ती दुई वस्तु फरक-फरक एफपीएस (FPS)मा हुन्छन् । त्यसो हुँदा एउटा अलि छिटो र अर्को अलि ढिलो गतिमा हुन्छन् । तपाईंले वेबसाइटको माथिल्लो भागबाट एफपीएस परिवर्तन गर्न सक्नुहुन्छ । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।