close

म्यानेजमेन्ट र आईटीको मिश्रित कोर्ष ‘बीसीआईएस’, कहाँ-कहाँ हुन्छ पढाइ ?

सञ्जीवन राई सञ्जीवन राई

असार १४, २०८० १३:२७

म्यानेजमेन्ट र आईटीको मिश्रित कोर्ष ‘बीसीआईएस’, कहाँ-कहाँ हुन्छ पढाइ ?

काठमाडौं । धेरै विकल्प हुँदा सही कुरा छनोट गर्न अलि गाह्रो हुन्छ । ठ्याक्कै यही अवस्था कक्षा १२ को अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीमा हुने गर्छ । अब विद्यार्थीले थप उच्च शिक्षाका लागि कुनै एउटा क्षेत्र छनोट गर्नुपर्ने हुन्छ ।

तर धेरै विश्वविद्यालय, धेरै विषय र धेरै विकल्प भएका कारण विद्यार्थीहरू अलमलमा पर्न सक्छन् । विद्यार्थीले सही परामर्श पाए अथवा उनीहरूमा ती विषयहरूलाई तुलना गर्नसक्ने क्षमता विकास भए त्यस्तो समस्या नहुन सक्छ ।

आज हामी पोखरा विश्वविद्यालय (पीयू) को ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (बीसीआईएस) बारे जानकारी दिँदै छौं । कक्षा १२ पछि प्रविधिको क्षेत्रमा आउन खोजिरहेका विद्यार्थीलाई यो विषय एक विकल्प बन्न सक्छ ।

कोर्षबारे

बीसीआईएस चार वर्षे (आठ सेमेस्टर) १२७ क्रेडिट आवरको कोर्ष हो । पीयूको ‘व्यवस्थापन’ सङ्काय अन्तर्गत यो कोर्ष राखिएको छ । यो सूचना प्रविधि (आईटी) र व्यवस्थापनको मिश्रित कोर्ष हो । यसमा ६० प्रतिशत आईटी र ४० प्रतिशत व्यवस्थापनका विषय छन् ।

कुनै पनि कम्पनी/संस्था चलाउन आईटी र व्यवस्थापन दुवै विषयको ज्ञान हुन आवश्यक छ । उक्त ज्ञान तथा सीप विद्यार्थीले यो कोर्षबाट प्राप्त गर्न सक्छन् । आईटी र व्यवस्थापनको विषय ‘मर्ज’ गरेर बनाइएको कोर्ष बीसीआईएस हो ।

व्यवस्थापनको क्षेत्रमा इन्फर्मेसन सिस्टम, डेटा प्रोसेसिङ, नेटवर्क, सफ्टवेयर डेभलपमेन्ट र तीनको व्यवस्थापनका लागि चाहिने जनशक्ति उत्पादन गर्ने उच्च शिक्षाका रूपमा बीसीआईएस रहेको छ ।

व्यवस्थापनका अवधारणा र अभ्यासहरूलाई सूचना प्रणाली र प्रविधिसँग एकीकृत गर्नु यस कोर्षको लक्ष्य छ । उत्तीर्णपछि विद्यार्थीहरू विभिन्न संघसंस्था तथा कम्पनीहरूलाई समयसापेक्ष निर्णयहरू गर्दा चाहिने पूर्ण र एकीकृत व्यवस्थापन सूचना प्रणाली विकास गर्न सक्षम हुन्छन् ।

पीयूको योसँग मिल्दो कोर्ष अन्य विश्वविद्यालयले समेत सञ्चालन गरिरहेका छन् । यसअन्तर्गत त्रिभुवन विश्वविद्यालयले ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम) र काठमाडौं विश्वविद्यालयले ब्याचलर अफ बिजनेस इन्फर्मेसन सिस्टम (बीबीआईएस) रहेको छ । पीयूको बीसीआईएस नपढ्ने, तर व्यवस्थापन र आईटी दुवैमा रुचि भएका विद्यार्थीका लागि ती कोर्ष विकल्प हुन सक्छन् । यी सबै कोर्षको भविष्य भने करिब उस्तै छ । 

पाठ्यक्रम

यस कोर्षमा सिस्टम एनालिसिस एन्ड डिजाइन, डिजिटल सिस्टम, डेटाबेस म्यानेजमेन्ट सिस्टम, अपेरेटिङ सिस्टम, डेटा कम्युनिकेसन एन्ड नेटवर्क, आईटी प्रोजेक्ट म्यानेजमेन्ट आदि आईटी सम्बन्धी विषय छन् । सातौं सेमेस्टरमा विद्यार्थीले अनिवार्य इन्टर्नशिप गर्नुपर्छ ।

त्यस्तै चौंथाे र छैटाैं सेमेस्टरमा ‘माइनर प्रोजेक्ट’ गर्नुपर्छ भने सातौं र आठौं सेमेस्टरमा विद्यार्थीले इलेक्टिभ कोर्ष पढ्नुपर्छ । यता प्रोग्रामिङ विषयमा कम्तिमा एउटा प्रोजेक्ट भए पनि विद्यार्थीले गर्नुपर्छ । त्यस्तै अन्य आईटी विषयहरूको ४० घण्टा बराबरको 'ल्याब वर्क' गर्नुपर्ने हुन्छ ।

यस्तो छ पाठ्यक्रम :

अध्ययनपछिको भविष्य

कोर्षमा व्यवस्थापन र आईटी पढाइ हुने भएकाले यी दुवै क्षेत्रमा विद्यार्थीले काम गर्न सक्छन् । यसकारण अवसरको दायरा भने फराकिलो हुने गर्छ । सामान्यतया: विद्यार्थीले निम्न क्षेत्रमा काम गर्छन्:

-आईटी कम्पनी

-प्रोगामिङ

-वेब डिजाइनिङ

-बैङ्किक

-नेटवर्किङ

 

त्यस्तै ती क्षेत्रमा विद्यार्थीले निम्न भूमिकामा काम गर्न सक्छन्:

-सिस्टम एनालिस्ट

-आईटी अफिसर

-नेटवर्क एड्मिनिस्टेटर

-सफ्टवेयर डेभलपर

-इन्फर्मेसन एनालिस्ट

-डेटाबेस म्यानेजर 

 

उत्तीर्णपछि विद्यार्थीले काम गर्ने बाहेक थप उच्च शिक्षा हासिल गर्न सक्छन् । यसअन्तर्गत स्नातकोत्तर तहमा एमबीए, एमसीआईएस लगायत अन्य आईटी कोर्ष अध्ययन गर्न सक्छन् । 

कहाँ हुन्छ पढाइ ?

पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कास्की बाहेक सम्बन्धन प्राप्त अन्य कलेजहरूमा समेत यो विषयको पढाइ हुन्छ ।

विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्णपछि विद्यार्थीले ती कलेजमा भर्ना गर्न सक्छन् । पीयूबाट सम्बन्धन प्राप्त गरेका ती कलेज यस प्रकार छन्: 

-मेधावी कलेज, शंखमुल, काठमाडौं

-एपेक्स कलेज, पुरानो बानेश्वर, काठमाडौं

-नोबेल कलेज, सिनामङ्गल, काठमाडौं

-बोस्टन इन्टरनेसनल कलेज, चितवन

-क्रिमसन कलेज अफ टेक्नोलोजी, रुपन्देही

भर्ना योग्यता

यो कोर्ष अध्ययन गर्न कक्षा १२ को प्रत्येक विषयमा 'सी' ग्रेड अथवा २.० सीजीपीए ल्याउनु पर्छ । त्यस्तै  माध्यमिक तहमा जुनै विषय पढेकाले पनि यो कोर्षमा भर्ना हुन पाउँछन् ।

त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), ए लेभल अध्ययन गरेका विद्यार्थीले समेत यो कोर्षमा भर्ना हुन सक्छन् । 

शुल्क र छात्रवृत्ति

चार वर्षे यो कोर्षको शुल्क कलेज अनुसार फरक फरक छ । औसतमा यो कोर्षको ६ देखि ८ लाख शुल्क रहेको छ । विश्वविद्यालयले प्रवेश परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गर्छ ।

हाल विश्वविद्यालयले यो विषय अध्यापन गराउने कलेजहरूमा १० प्रतिशत विद्यार्थी छात्रवृत्ति निर्धारण गरेको छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८० १३:५२