काठमाडौं । सामान्यतः: माध्यमिक तह (कक्षा ११/१२) मा बायोलोजी (जीव विज्ञान) लिएर पढेका विद्यार्थीको उद्देश्य ‘ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी (एमबीबीएस) अथवा नर्सिङ पढ्ने हुन्छ । तर विभिन्न कारणले सबैको त्यो लक्ष्य पूरा हुँदैन । यस्तो भएपछि कतिपयले स्वास्थ्य बाहेकका अन्य विषय पढ्न लाग्छन् ।
अहिले स्वास्थ्य क्षेत्र सम्बन्धी विभिन्न कोर्सहरू सञ्चालनमा छन् । एमबीबीएस, नर्सिङ वा अन्य चिकित्सा विज्ञानमा भर्ना नहुनेहरूका लागि यी काेर्ष विकल्प बन्न सक्छन् । यिनै कोर्समध्ये एक हाे, ‘बीएससी एमआईटी’ (BSc. MIT) ।
कस्तो छ विषय ?
पूरा रूप ब्याचलर अफ साइन्स इन मेडिकल इमेजिङ टेक्नोलोजी (Bachelor of Science in Medical Imaging Technology) रहेको यो कोर्स त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू)ले सञ्चालन गरिरहेका छन् । स्वास्थ्य र प्रविधि विषय मिसिएको यो शैक्षिक कार्यक्रम चार वर्षे (आठ सेमेस्टर) पाठ्यक्रममा आधारित छ ।
त्रिविमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र केयूमा ‘स्कुल अफ मेडिकल साइन्स’ अन्तर्गत यो कोर्स सञ्चालन भइरहेको छ । स्वास्थ्यका विषयमा रुचि भएर ‘हार्डकोर’ विषयमा भर्ना हुन नसकेका र प्रविधिमा रुचि भएका विद्यार्थीका लागि यो कोर्स एक विकल्प बन्न सक्छ ।
पहिले विज्ञान विषय पढ्दा सीमित मात्र अवसर थियो । इन्जिनियरिङ अथवा डाक्टर भन्ने अवस्था थियो । तर अहिले त्यसको अवसरको दायरा फराकिलो भएको छ । त्यही नयाँ अवसरका रूपमा याे काेर्ष रहेकाे केयूका ‘बीएससी एमआईटी’ कार्यक्रम संयाेजक रोशन चौधरी बताउँछन् ।
“स्वास्थ्य क्षेत्रका प्रविधिहरू थप विकसित भइरहेका छन् । नेपालका अस्पतालहरूमा पनि आधुनिक प्रविधि भित्रिरहेका छन्,” उनी भन्छन्, “ती प्रविधि भएर मात्र हुँदैन । चलाउन सक्ने दक्ष जनशक्ति चाहिन्छ । यो कोर्सले अस्पतालमा चाहिने तिनै प्राविधिक उत्पादन गर्छ ।”
समग्रमा यो कोर्सले रेडियोलोजिकल (रोगको निदान र उपचारको लागि विकिरण प्रयोग गर्ने औषधि विज्ञानको शाखा) प्रविधिहरू प्रयोग गर्न सक्ने जनशक्ति तयार पार्छ । यसैले यो कोर्स आधुनिक चिकित्सा विज्ञानको एक शाखाका रुपमा रहेको छ ।
कोर्सको विशेषता
अहिले विभिन्न मेडिकल इमेजिङ टेक्नोलोजीहरू कम्प्युटेड टोमोग्राफी (सीटी), म्याग्नेटिक रेसोनेन्स इमेजिङ (Magnetic Resonance Imaging- MRI), डिजिटल रेडियोग्राफी, अल्ट्रासाउन्ड, एसपीईसीटी (SPECT), पीईटी (PET), पीईटी सीटी (PET CT) आदिले जटिल रोगहरू पनि समाधान गर्न भूमिका खेलेका छन् । यी प्रविधिहरू सामान्य स्वास्थ्य उपचारदेखि जटिल खालका रोग निदान प्रयोगमा आउँछन् ।
कोर्समा भर्ना भएका विद्यार्थीहरूले यिनै प्रविधिबारे 'रेडियोलोजिकल टेक्निक्स' सिक्छन् । कुनै चिकित्सकलाई बिरामीको अवस्था थाहा पाउन विभिन्न रेडियोलोजिकल तस्वीरको आवश्यकता पर्छ । यसैले बिरामीको सीटीस्क्यान, एक्सरे आदि गरिन्छ । जुन रोग र दुर्घटनाको अवस्था अनुसार फरक फरक हुन्छ ।
यस विषय उत्तीर्ण गरेका विद्यार्थीले चिकित्सकले दिएको प्रेस्क्रिप्सन अनुसार ती काम गर्छन् । यीसँगै रिसर्च मेथोडोलोजी (methodology) र बायो स्टाटिस्टिक्स (Biostatistics) बारे पनि ज्ञान हासिल गर्छन् ।
कस्ता विषय छन् ?
यो एक स्वास्थ्यसँग सम्बन्धित काेर्ष हो । यसकारण कोर्समा विज्ञानका आधारभूत कुराहरू छन् । कोर्सको पहिलो वर्ष विज्ञानका साधारण विषय पढाइ हुन्छ । जसमा ह्युमन एनाटोमी, ह्युमन फिजियोलोजी, हेल्थकेयर म्यानेजमेन्ट, बेसिक रेडियसन फिजिक्स जस्ता विषय पढाइ हुन्छ ।
कोर्समा भएका धेरै विषय रेडियोलोजीसँग सम्बन्धित छन् । यसकारण तिनै प्रविधि कसरी प्रयोग गर्ने, कुन तरिकाबाट उत्कृष्ट नतिजा प्राप्त हुन्छ तिनै बारे पढाइ हुन्छ । दोस्रो वर्षबाट भने कोर्स अलि विषय केन्द्रित भएको छ ।
कोर्समा हेल्थ साइन्सेसका विषयहरू, रेडियोग्राफी इमेजिङ, क्लिनिकल रेडियोग्राफी पोजिसिङ, स्पेसियल रेडियोलोजिकल प्रोसिड्युर, मोर्डन इमेजिङ टेक्निक, रेडियसन बायोलोजी एन्ड प्रोटेक्सन जस्ता विषय पढाइ हुन्छ । अन्तिम सेमेस्टरमा भने इन्टर्नशीप र प्रोजेक्ट वर्क मात्रै हुन्छ । यो अंग्रेजी माध्यमबाट पढाइ हुने विषय हो ।
केयूमा बीएससी एमआईटी
हाल केयूले धुलिखेल अस्पतालसँग सहकार्य गरेर यो कोर्स सञ्चालन गरिरहेको छ । विद्यार्थीले यही अस्पतालमा प्रयोगात्मक कक्षा लिन्छन् । त्यस्तै केयूले सन् २०१९ देखि यो कोर्स पढाउन थालेको हो । अहिले यो कोर्स धुलिखेल, काभ्रेमा मात्र सञ्चालनमा छ । कोर्समा विद्यार्थी क्षमता २० रहेको छ ।
केयूले यो कोर्स सुरु गरेको पहिलो वर्ष १० जनाका लागि काेटा छुट्याए पनि ८ जना विद्यार्थी भर्ना भएका थिए । दोस्रो वर्ष २० कोटामा २०, तेस्रो वर्ष १५ कोटामा १५ विद्यार्थी भर्ना भए ।
यो कोर्स गर्न केयूमा सात लाख ७७ हजार रूपैयाँ शुल्क लाग्छ ।
त्रिविमा भने आईओएम अन्तर्गत यो कोर्स विभिन्न आङ्गिक क्याम्पसहरूमा सञ्चालन भइरहेको छ । जसअन्तर्गत गण्डकी मेडिकल कलेज (जीएमसी) पोखरा, नेसनल एकेडेमी अफ मेडिकल साइन्सेन्स (नाम्स) काठमाडौं, बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्सेस (बीपीकेआईएचएस) धरान, चितवन मेडिकल कलेज (सीएमसी) चितवन, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) रुपन्देही लगायतका ठाउँमा यो विषय पढाइ हुन्छ ।
क-कसले पढ्न पाउँछन् ?
माध्यमिक तहमा विज्ञान विषय पढेका विद्यार्थीले यो कोर्स अध्ययन गर्न पाउँछन् । तर कक्षा १२ को अन्तिम परीक्षाको नतिजामा विद्यार्थीले कम्तीमा २.४ जीपीए ल्याउनुपर्छ । जसमा बायोलोजी, केमेस्ट्री, फिजिक्समा ‘सी प्लस’ र अन्य विषयमा ‘सी ग्रेड’ ल्याउनुपर्छ । अथवा कक्षा ११/१२ मा बायोलोजी, केमेस्ट्री र फिजिक्स लिएर कम्तीमा ५० प्रतिशत अङ्क ल्याएको हुनुपर्छ ।
त्यस्तै जीसीई ए लेभल अध्ययन गरेकाले कम्तीमा तीन विषय उत्तीर्ण गरेको हुनुपर्छ । यस कोर्स भर्नाका लागि चिकित्सा शिक्षा आयोग (एमईसी)ले लिने प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण हुनुभएको हुनुपर्छ । सो परीक्षामा विद्यार्थीले ५० प्रतिशत भन्दा धेरै अङ्क ल्याएको हुनुपर्छ । यसरी योग्यता पुगेको विद्यार्थीलाई विश्वविद्यालयले एमईसीको नीति अनुसार भर्ना लिने गर्छ ।
यस्ताे छ पाठ्यक्रम
सेमेस्टर
विषय
पहिलो
मेडिकल इथिक्स एन्ड ल
ह्युमन एनाटोमी १
ह्युमन फिजियोलोजी १
हेल्थकेयर म्यानेजमेन्ट
बेसिक रेडियसन फिजिक्स
ह्युमन एनाटोमी एन्ड ल्याब्रोटोरी १
दोस्रो
ह्युमन एनाटोमी २
ह्युमन फिजियोलोजी २
कन्भेन्सनल रेडियोलोजी इक्विप्मेन्ट
इन्फर्मेसन टेक्नोलोजी
ह्युमन एनाटोमी एन्ड ल्याब्रोटोरी २
तेस्रो
-बेसिक हेल्थ साइन्सेस १ (माइक्रोबायोलोजी, बायोकेमेस्ट्री, प्याथोलोजी, फार्माकोलोजी)
-स्पेसियल रेडियोलोजिकल प्रोसिड्युर १
रेडियोग्राफी इमेजिङ
फिजिक्स एन्ड इक्विप्मेन्ट फोर मोडर्न इमेजिङ टेक्नोलोजी १
एक्स रे ल्याब पोस्टिङ १
चौंथाे
बेसिक हेल्थ साइन्स २ (माइक्रोबायोलोजी, बायोकेमेस्ट्री, प्याथोलोजी, फार्माकोलोजी)
क्लिनिकल रेडियोग्राफी पोजिसिङ २
स्पेसियल रेडियोलोजिकल प्रोसिड्युर २
एक्स रे ल्याब पोस्टिङ २
पाँचौ
मोर्डन इमेजिङ टेक्निक १
रेडियसन बायोलोजी एन्ड प्रोटेक्सन १
क्लिनिकल रेडियोलोजी १
रेडियोग्राफी एन्ड क्रस सेक्सनल एनाटोमी
प्यासेन्ट केयर इन रेडियोलोजी
एक्स रे ल्याब पोस्टिङ ३
छैँटौं
मोडर्न इमेजिङ टेक्निक २
रेडियसन बायोलोजी एन्ड प्रोटेक्सन २
क्लिनिकल रेडियोलोजी २
क्वालिटी कन्ट्रोल एन्ड क्वालिटी एस्योरेन्स इन डायगोनिस्टिक रेडियोलोजी
बेसिक एक्स रे इन्जिनियरङ
एक्स रे ल्याब पोस्टिङ ४
सातौं
बायोस्टाटिस्टिक्स एन्ड रिसर्च मेथोडोलोजी
रिसर्च प्रोजेक्ट
आठौं
क्लिनिकल रोटेसनल पोस्टिङ
(नाेटः शीर्षकमा रेडियोग्राफिक टेक्नोलोजिस्ट हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)