close

ड्राइभिङ लाइसेन्स छिटोभन्दा छिटो उपलब्ध गराउने तयारी हुँदैछः मन्त्री ज्वाला

टेकपाना टेकपाना

असार २८, २०८० १५:४५

ड्राइभिङ लाइसेन्स छिटोभन्दा छिटो उपलब्ध गराउने तयारी हुँदैछः मन्त्री ज्वाला

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र छिटोभन्दा छिटो उपलब्ध गराउने तयारी भइरहेकाे बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले सेवाग्राहीलाई छिटोभन्दा छिटो सवारी चालक अनुमतिपत्र उपलब्ध हुने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।

"सवारी चालक अनुमतिपत्रको आवेदन, वर्ग थप र नवीकरणका लागि अनलाइन आवेदनको व्यवस्था भइसकेको छ," उनले भने, "सँगसँगै राजस्व पनि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था हालै कास्की जिल्लाबाट प्रारम्भ गरिएको छ । एक महिनाभित्र अनलाइन पेमेन्ट सिस्टम देशव्यापी रूपमा लागू गरिनेछ । यसबाट सेवाग्राहीलाई ठूलो राहत हुने विश्वास गरिएको छ ।"

त्यस्तै आफूले मन्त्रीको पदभार सम्हाली सकेपछि सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष बनाइएको उनको भनाइ छ । त्यस्तै इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने निर्णय भइसकेको मन्त्री ज्वालाले जानकारी दिए ।

पठाओ र इनड्राइभ जस्ता राइड शेयरिङका विषयलाई सकारात्मक रूपमा लिने विषयमा यातायात मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको उनले बताए ।

मन्त्री ज्वालाले अगाडि भने, "सूचना प्रविधिमा आधारित भएर सञ्चालित यातायात सेवालाई थप व्यवस्थित र मर्यादित बनाएर आवश्यक कानूनी र प्रविधिगत व्यवस्था गर्ने कार्य अघि बढाइएको जानकारी गराउन चाहन्छु ।"

पछिल्लो अध्यावधिक: असार २८, २०८० १६:१३