close

हिमालय एयरलाइन्सको अनलाइन सेवा, टिकट खरिददेखि खाना र सिट छनोट पनि गर्न सकिने

टेकपाना टेकपाना

असार ३१, २०८० १२:१४

हिमालय एयरलाइन्सको अनलाइन सेवा, टिकट खरिददेखि खाना र सिट छनोट पनि गर्न सकिने

काठमाडौं । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आईबीई) सेवा सुरु गरेको छ । एक सूचना जारी गर्दै एयरलाइन्सले अनलाइनबाट टिकट बुकिङ गर्ने सुविधा सार्वजनिक भएको घोषणा गरेको हो ।

यससँगै ग्राहकले अब हिमालय एयरलाइन्सको आधिकारिक वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् । यस सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि ई-सेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् । 

त्यस्तै युनियन पे र कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने सुविधाका लागि भने कम्पनीले काम गरिरहेको जानकारी दिएको छ ।

यससँगै वेबसाइटमार्फत रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापन सहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिने बताइएको छ ।

एयरलाइन्सले ब्यागेज प्रि बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवाहरू (combined services) छान्ने जस्ता विभिन्न सेवाहरू वेबसाइटमा समावेश छ ।

यसका साथै एयरलाइन्सले विमानस्थलमा यात्रुको समय बचत गर्नका लागि अनलाइन चेक-इन (online check-in) फिचर पनि राखेको छ । 

नयाँ सेवाको सुरुवात भएको घोषणा गर्दै उपाध्यक्ष विजय श्रेष्ठले भने, “हाम्रा ग्राहकहरू हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकहरूलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौं । त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी इन्टरनेट बुकिङ इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्त खुसी छौं ।"

पछिल्लो अध्यावधिक: असार ३१, २०८० १२:१५