close

मेटाको थ्रेड्ससँग नाम मिल्दा पुरानो थ्रेड्स एपलाई फाइदा, थपिए लाखौं प्रयोगकर्ता

टेकपाना टेकपाना

साउन २, २०८० १३:१४

मेटाको थ्रेड्ससँग नाम मिल्दा पुरानो थ्रेड्स एपलाई फाइदा, थपिए लाखौं प्रयोगकर्ता

काठमाडौं । ट्वीटरको प्रतिद्वन्द्वी एपका रूपमा उदाएको थ्रेड्सका लागि सार्वजनिक भएको पहिलो हप्ता उल्लासमय नै बन्यो । सार्वजनिक भएको २४ घण्टामा तीन करोड प्रयोगकर्ता पाएको एपले पाचौं दिनमा १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको थियो । यो इन्टरनेटमै नयाँ रेकर्ड पनि हो । 

हालै डेटा एआई नामक कम्पनीले थ्रेड्सलाई १५ करोडभन्दा बढी पटक डाउनलोड गरिसकेको उल्लेख गरेको छ । यो त भयो यता इन्स्टाग्रामको नयाँ एप थ्रेड्सको कुरा । यसको चर्चासँगै इन्स्टाग्रामसँग कुनै पनि रूपमा नजोडिएको अर्को एप थ्रेडलाई फाइदा भइरहेको छ । 

स्ल्याक (स्ल्याक क्लाउडमा आधारित यस्तो मेसेजिङ प्लेटफर्म जो ठूला संस्थाहरूका लागि उपयोगी हुन्छ) को विकल्पमा सन् २०१९ मा स्थापना भएको थ्रेड्स कम्पनीको वेबसाइटमा पछिल्लो समय इन्टरनेट ट्राफिकको बाढी नै लागेको छ । 

यसको विशेष कारण एउटा त नाम मिल्नु नै हो भने अर्को डोमेन नेम हो । संसारमा डटकमलाई उत्कृष्ट डोमेन एक्सटेन्सन मानिन्छ । उदाहरणका लागि गुगल, फेसबुक, ट्वीटर, अमेजन, टेस्ला जस्ता विश्व विख्यात कम्पनीको डोमेन नेमको एक्स्टेन्सन डटकम नै छ । 

पहिलेको थ्रेड्स कम्पनीले आफ्नो डोमेन नेम लिने क्रममा डटकम डोमेन एक्सटेसन्सन सहितको डोमेन नेम दर्ता गर्‍यो । यसको अर्थ उनीहरूले डोमेन थ्रेड्स डटकम डोमेन नेम पाए । 

यता इन्स्टाग्रामले उक्त डोमेन खोज्दा पहिले नै अरू कसैले लगिसकेको थियो । त्यसैले कम्पनीले इन्टरनेटमा उपलब्ध डटनेट डोमेन एक्सटेन्सनको थ्रेड्स डटनेट दर्ता गर्‍यो । 

फेसबुकको कम्पनीले थ्रेड्स प्लेटफर्म ल्यायो भन्ने भएपछि धेरैले उक्त नाम सर्च गरे । यता पहिले नै केही विशेष संस्था र क्रियटरमाझ परिचित थ्रेड्स डटकम नाम सर्च गर्दा सबैभन्दा माथि देखिन थाल्यो । 

गुगलमा सर्च गर्दा पनि थ्रेड्स डटकम सर्च गर्ने धेरै भए । यता एप स्टोर तथा प्ले स्टोरमा पनि सो एप खोजेर डाउनलोड गर्ने प्रयोगकर्ताहरू बढे । 

त्यसपछि उक्त प्लेटफर्म आवश्यक नपर्ने प्रयोगकर्ताले पनि एप डाउनलोड गरेर साइनअप गर्न खोजे । यसलाई मध्यनजर राख्दै कम्पनीले आफ्नो ट्यागलाइनमै आफ्नो एप इन्स्टाग्रामसँग सम्बन्धित नभएको उल्लेख गर्‍यो ।

यता इन्स्टाग्रामको एप थ्रेड्सको भने वेब इन्टरफेस तयार भइसकेको छैन । मोबाइल एपमा मात्र प्रयोग गर्न सकिने भएकाले हाललाई एप नै डाउनलोड गर्नुपर्ने हुन्छ । 

यसरी चर्चा पाउन थालेपछि थ्रेड्स डटकमले हालै एक ट्वीट गर्दै केही नगर्दा पनि प्रयोगकर्ता बढेकोमा दङ्ग भएको सङ्केत देखाउँदै मिम शेयर गरेको छ ।

प्रयोगकर्तामा इन्स्टाग्रामको थ्रेड्स कुन हो भन्ने कुरामा दुविधा हुँदा पहिलेको थ्रेड्सको डाउनलोड पनि तीब्र गतिमा बढिरहेको छ । 

डेटा एआईका अनुसार जुलाई ६ देखि जुलाई १२ सम्म उक्त एपलाई आईओएसमा आठ लाख ८० हजार पटक डाउनलोड गरिएको छ । जबकी इन्स्टाग्रामको एप सार्वजनिक हुनुअघि त्यसलाई केही हजार प्रयोगकर्ताले मात्र डाउनलोड गरेका थिए ।

यससँगै थ्रेड्स डटकमको एप थ्रेड्स बिजनेस क्याटेगोरीमा सबैभन्दा बढी डाउनलोड हुने एपहरूमा ५२ औं अङ्कमा छ । 

टेकक्रन्चका अनुसार यो एप जर्मनी, स्पेन र इटालीमा सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा १० औं स्थानमा छ । यसको प्रमुख कारण हो इन्स्टाग्रामको थ्रेड्स एप यूरोपेली संघमा उपलब्ध भइसकेको छैन ।

यता एन्ड्रोइडमा पनि थ्रेड्स डटकमको एप डाउनलोड सङ्ख्या बढेको छ । पहिले पाँच लाख हाराहारी डाउनलोड भएको सो एपमा अहिले १० लाख बढी डाउनलोड भएको प्लेस्टोरमा देख्न सकिन्छ । 

नेमचेक

कुनै एउटा कम्पनीको नाम अर्को कम्पनीसँग मिल्नु वा ब्रान्ड नेम शेयर गर्नु नौलो कुरा होइन । यस्ता थुप्रै कम्पनीहरू छन् जसले ब्रान्ड नेम शेयर गरेका छन् । 

उदाहरणका लागि लाइट इयर नामलाई नै हेरौं । यस नामबाट बेलायतमा फिनटेक कम्पनी खोलिएको, नेदरल्यान्डमा कार कम्पनी र यूयोर्कमा टेलिकम सेवा प्रदायक कम्पनीका रूपमा खोलिएको छ । 

त्यस्तै थ्रेड्सको नामबाट पनि बेलायतमा अर्को स्टार्टअप कम्पनी त्यसभन्दा पहिले नै सञ्चालनमा आइसकेको थियो । विशेषगरी च्याटमा आधारित उक्त कम्पनीले अनलाइन शपिङ प्लेटफर्म सञ्चालन गर्दै आएको छ । 

यता इन्स्टाग्रामभन्दा अगाडि सन् २०१९ मा आएको थ्रेड्स पनि नौलो नाम होइन । आर्काइभमा हेर्ने हो भने थ्रेड्स डटकम २००२ देखि नै सक्रिय भएको देखिन्छ । 

“थ्रेड्स इन्टरनेटमा चर्चित शब्द हो,” थ्रेड्सका सह-संस्थापक तथा सीईओ रोउसेउ काजीले टेकक्रन्चलाई भने, “विभिन्न प्लेटफर्ममा थ्रेड्स नाम प्रयोग गर्नु भनेको आफ्ना सेवाग्राही वा प्रयोगकर्तासँग जोडिनु भन्ने अर्थ लाग्छ । मेटाले आफ्नो नयाँ प्लेटफर्मको नाम यसैबाट राख्नु आश्चर्यको कुरा होइन ।”

काजीले छ वर्षसम्म फेसबुकमा प्रडक्ट मेनेजमेन्ट क्यापासिटीका रूपमा काम गरेर जागिर छोडेका थिए । “मार्क जुकरबर्ग, आदम मोस्सेरी (इन्स्टाग्रामका सीईओ) र अन्य टिम मेरा लागि ठूला मेन्टर हुन् । मैंले उहाँहरूबाट धेरै कुरा सिक्न पाएँ ।”

यसरी नाम मिल्न जाँदा नयाँ स्टार्टअप कम्पनीले निःशुल्क चर्चा पाइरहेको छ । केही प्रयोगकर्ताले एप डाउनलोड गरिसकेपछि आफूले खोजेको एप त्यो नभएको पाइसकेपछि निराश हुन्छन् । 

तर, पछि आफूले डाउनलोड गरेको एप के रहेछ भनि परीक्षण गर्दा काम लाग्ने भएपछि प्रयोगकर्ता त्यसैमा सक्रिय हुन थालेको काजी बताउँछन् ।

पछिल्लो अध्यावधिक: साउन २, २०८० १३:१४