close

पहिरो गएको ठाउँमा रुख रोप्दै नेपाली ड्रोन

टेकपाना टेकपाना

साउन ४, २०८० १३:४८

पहिरो गएको ठाउँमा रुख रोप्दै नेपाली ड्रोन

काठमाडौं । रोबोटिक्स एसोसियसन नेपाल (र्‍यान) ले पहिरो गएको ठाउँमा रुख रोप्न ड्रोनको विकास गरेको छ । र्‍यानले तयार पारेको सिड बम्बिङ ड्रोन हालै ओखलढुङ्गाको पहिरो गएको ठाउँमा सफलतापूर्वक ड्रोन मार्फत बिउ रोपिसकेको छ ।

वन तथा भू-संरक्षण विभाग, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जल संसाधन अध्ययन केन्द्र (CWRS), आईओईको सहकार्यमा र्‍यानले पहिलो पटक फिल्डमा ड्रोन सफलतापूर्वक परीक्षण गरिएको संस्थाका सचिव तथा सिड बम्बिङ ड्रोनका प्रवक्ता ओमकर जैसवालले जानकारी दिए । 

“यो ड्रोन पहिलो पटक फिल्डमा सफलतापूर्वक परीक्षण भइसकेको छ,” जैसवालले टेकपानासँग भने, “यो ड्रोनको आकार र बनावट अन्य ड्रोनजस्तै छ । तर, यसमा फरक कुरा भनेको मोटोराइज्ड शुटिङ मेकानिजम राखिएको छ ।”

त्यही मेकानिजमले बिउलाई सम्बन्धित क्षेत्रसम्म उच्च चापमा बाहिर निकाल्छ । र, पहिरोमा बिउ गाडिन्छ । यही ड्रोनमार्फत ओखलढुङ्गामा आठ हजारभन्दा बढी बिउ रोपिसकेको उनले बताए । 

यसरी ड्रोनको सहायताले भीरमा वृक्षारोपण गर्दा मानवीय क्षतिको जोखिम हुँदैन । त्यसबाहेक पनि आवश्यक तर निकै जटिल ठाउँमा सहजै वृक्षारोपण गर्न सकिने उनको भनाइ छ । ड्रोनको रिसर्च एन्ड डेभलपमेन्ट टिममा ओमकर जैसवाल, ई. सन्जय राना, ई.सुवाश श्रेष्ठ,  ई. सुवाश श्रेष्ठ, ई. आयुष दुलाल र कुनाल शाह थिए । यस ड्रोनका पाइलट दिपेन्द्र जोशी र सन्जय राना रहेका छन् । 

नेपालमै बनेको यस्तो ड्रोन अहिले एउटा मात्र छ । र्‍यानले सीड बोमबिङमा दुई किसिमका ड्रोन निर्माण गरेको छ । एउटा सामान्य बिउ छर्ने र अर्को बिउ गाड्ने (सिड बम्बिङ) ड्रोन रहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८० १४:४४